गृह पृष्ठ

मौखिक समझदारीअनुसार प्रचण्डलाई पहिलो चरणमै सरकारको नेतृत्व लिन पार्टीभित्र दबाब


२२ मंसिर २०७९, बिहिबार ००:००


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले पहिलो चरणमै सरकारको नेतृत्व लिन दबाब दिएका छन् ।

सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएपछि माओवादीका अधिकांश नेताले प्रचण्डलाई सुरुवातमै सरकारको नेतृत्व लिन दबाब दिएका हुन् । ‘सत्ता गठबन्धनको सरकार निर्माण भएपछि देउवा र प्रचण्डबीच चुनाव लगत्तै सरकारको नेतृत्व माओवादीलाई दिनेगरी मौखिक समझदारी भयो ।

गठबन्धन बनाएरै चुनावमा गइयो । कतै राम्रो कतै नराम्रो नतिजा आयो,’ माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘अब प्रचण्ड कमरेड प्रधानमन्त्री बन्ने पालो हो । सोचे जस्तो नतिजा आएन भनेर छोड्ने भन्ने हुँदैन ।’

नेपाली कांग्रेसले माओवादी केन्द्रको नतिजा सरकारको नेतृत्व गर्नेगरी नआएको भन्दै पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसबाटै बन्नुपर्ने तर्क गरिरहेको छ । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले आ–आफ्नो तरिकाले माहोल बनाउन लागिपरेका छन् । यता माओवादीका दोस्रो र तेस्रो तहका नेताहरुले प्रचण्डलाई पहिलो चरणमै प्रधानमन्त्री लिन दबाब बढाएका हुन् ।

सरकारको नेतृत्व आलोपालो हुने भएपछि पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्नेगरी गठबन्धनमा अडान लिन उनीहरुको सुझाव छ ।

माओवादी पार्टीका पोलिटब्यूरो सदस्य राजन दाहालले गठबन्धनमै रहेर पहिलो चरणमै सरकारको नेतृत्व लिनेगरी समझदारी गरेर जानुपर्ने जिकिर गरे । ‘हामी अहिल्यै गठबन्धन तोड्ने पक्षमा छैनौं । गठन्धनभित्र हाम्रो उपस्थिति मजबुत बनाएर सरकार गठनतिर अगाडि बढ्ने भन्ने सोच छ,’ दाहालले भने, ‘राजनीतिक रुपमा पहलकदमी लिने भन्ने मुख्य कुरा हुन्छ ।

यो राष्ट्रिय राजनीतिलाई यहाँसम्म ल्याउन प्रचण्ड कमरेडको पहलकदमी छ । हामीलाई भोट ट्रान्सफर नहुँदा र पार्टीको आन्तरिक कारणले कम सिट आयो ।’ तर कम सिट आउँदैमा समझारीबाट पछि हट्न नहुने उनको भनाइ छ ।

यसअघि माओवादीले ३६ सिट ल्याउँदा समेत २३ सिट जितेको कांग्रेसलाई सरकारको नेतृत्व दिएको दाहालले बताए ।तर, माओवादीकै अर्का पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटाले यदि पहिलो चरणमै सरकारको नेतृत्व पाउने अवस्था नभएमा सरकारलाई समर्थन दिएर प्रतिपक्षमै बस्नुपर्ने सुझाव दिए ।

‘सरकारमा जाँदा परिणाम देखाउन नसक्ने, संलग्नता मात्रै हुने भयो । ओली सरकारमा सहभागी भयौं । उनले गरेका भ्रष्टाचार अनियमितता र गलत क्रियाकलापको अपजस हामीले लिइदिनुपर्ने भयो । देउवा सरकारमा सहभागी भयांै । उनले गर्न नसकेका अपजस हामीले लिनुपर्ने भयो,’ सापकोटाले भने, ‘त्यसैले यो ५ वर्ष माओवादी सरकारमा जानु हुँदैन ।’

प्रधानमन्त्री भएर सरकारको नेतृत्व लिएर जाँदा आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सकिने नेताहरुको बुझाइ छ । सरकारमा सहभागी हुने तर नतिजा देखाउन नसक्दा पार्टी क्षयीकरण मात्रै भएकाले त्यस्तो अवस्थामा सरकारलाई समर्थन मात्रै दिएर बस्नुपर्ने मत बलियो हुँदै गएको हो ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार ००:००