गृह पृष्ठ

सडक निर्माण अलपत्र छाडिएको भन्दै खोटाङका प्रदेश सांसद नै आन्दोलनमा


१८ बैशाख २०८०, सोमबार ००:००


खोटाङमा सडक कालोपत्रेको काम अलपत्र छाडिएको भन्दै प्रदेश सांसद पाँचकर्ण राईसहितका व्यक्तिहरु सडक आन्दोलनमा उत्रिएका छन् । जिल्लाको महुरे–राजापानी सडक कालोपत्रेको काम ७ वर्षदेखि अलपत्र पारेको भन्दै सांसद राईसहित स्थानीय आज आईतबारबाट सडक आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सगरमाथा लोकमार्गमा पर्ने उक्त २२ किलो मिटर सडक ३ घण्टा सम्म ठप्प पारेका थिए । वि.स. २०७३ सालमा भरत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले निर्माण सम्झौता गरेको उक्त सडक खण्ड कालोपत्रेको काम २०८० असार मसान्तामा सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो ।

तर निर्माण कार्य सम्पन्न मिति सकिन २ महिना बाँकी हुँदा समेत भौतिक प्रगती नदेखिएको सांसद राईले बताए । कुल ४६ करोड ८९ लाख ९७ हजार ९ सय ८८ रुपैयाँमा सडक योजना कार्यालय उदयपुरले ठेक्का सम्झौता गरेको सो कार्यको निर्माण कम्पनी समेत बेपत्ता बनेको छ ।

सांसद राईले ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीका प्रतिनिधिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन् । काम अलपत्र हुँदा दिनहुँ जसो नागरीकले सास्ती खेप्नुपरेको सर्वसाधरणको गुनासो छ । ठेकेदार कम्पनीलाई कारबाही नगरे आन्दोलनलाई थप शसक्त बनाउने चेतवानी समेत दिइएको छ ।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार ००:००