काठमाडौँ, सत्ताबाट बाहिरिएपछि वर्ग समुदायतर्फ केन्द्रित भएको नेकपा माओवादी केन्द्रले पूर्वी क्षेत्रमा विशेष ध्यान दिएको छ । २०६४ को झल्को दिनेगरी २०८४ को आम निर्वाचनमा ठुलो दलको रूपमा आफूलाई स्थापित गर्न माओवादीले पूर्व क्षेत्र अर्थात् सहरी क्षेत्रलाई विशेष ध्यान दिएको हो ।
२०७९ को निर्वाचन पश्चात् कांग्रेस र एमालेको समर्थनमा करिब १९ महिना सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत वर्ष असार ३१ गते सत्ताच्युत भएका थिए । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर प्रचण्ड नेतृत्वको सरकारलाई किनारा लगाएका थिए ।
असार १७ गते राति एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको ७ बुँदे सहमतिको आधारमा अहिले ओली प्रधानमन्त्री छन् । त्यस यता माओवादी वर्ग समुदायमा आधारित जागरण अभियान सञ्चालन गरिरहेको छ ।
वैशाख १७ गते पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेको उसले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान घोषणा गरेको छ । सत्ताबाट हटेपछि देश दौडाहामा निस्किएका प्रचण्ड पूर्वी क्षेत्रमा मात्रै ११ पटकभन्दा बढी पुगेका छन् ।
गत साउन महिनाभर चलेको माओवादीको पदाधिकारी र स्थायी समिति बैठकले शान्ति प्रक्रियामा आएदेखि लामो समयसम्म सत्तामा केन्द्रित हुँदा वर्ग समुदायसँग सम्बन्ध टुट्दै गएको निष्कर्ष निकालेको थियो ।
२०८४ को आम निर्वाचनमा आफ्नै खुट्टामा उभिएर बलियो पार्टी बनाउने गरी जागरण अभियान सञ्चालन गर्नुपर्ने निर्णय बैठकले गरेको थियो । साउनको अन्तिम साता सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा प्रदेश परामर्श समिति बैठक राख्ने निर्णय गर्यो ।
१० महिनामा झण्डै १५ पटक पूर्व केन्द्रित कार्यक्रम
माओवादी केन्द्रले गत भदौ २२ र २३ गते कोशी प्रदेश परामर्श समिति बैठक राखेको थियो । त्यस बैठकमा अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरू सहभागी थिए । भदौ २४ गते प्रचण्ड उदयपुरमा भएको पार्टीको कार्यक्रममा सहभागी भए ।
भदौ २९ गते विराटनगर खबरदारी सभामा सहभागी भएका उनी भदौ ३० गते ओलीको गृहजिल्ला झापामा पुगेर एमाले लगायत विभिन्न पार्टीबाट ठुलो संख्यामा नेता तथा कार्यकर्तालाई माओवादीमा प्रवेश गराए ।
पुस १५ गते फेरि झापा पुगेका प्रचण्डले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिए । पुस १८ गते उदयपुरको विभिन्न कार्यक्रममा सहभागी भएका उनले पुस २१–२३ गते काठमाडौँमा केन्द्रीय समिति बैठक बोलाए । सोही बैठकले गठबन्धन सरकारको भण्डाफोर गर्ने, पार्टी नेतृत्व र जनताबिच सम्बन्ध पुनर्स्थापना गर्न पूर्व–पश्चिम मार्ग केन्द्रित ठुल्ठुला अभियान सञ्चालन गर्ने निर्णय गर्यो ।
माघ ५ गते विराटनगरको ग्रामथान–२ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका प्रचण्ड फागुन १२ देखि १५ गतेसम्म पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी जागरण अभियान अन्तर्गत झापा, मोरङ र सुनसरी आसपासको क्षेत्रमा सहिद, बेपत्ता परिवारसँग भेटघाट, विरोधसभा, अन्तर्क्रिया कार्यक्रममा सहभागी भए ।
२०८२ वैशाख ७ गते विराटनगरका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्ड वैशाख २७ गते पाँचथरको फिदिममा आयोजित कार्यक्रममा सहभागी भए । वैशाख २८ गते किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त कार्यक्रममा सहभागी हुन उनी धरान पुगेका थिए ।
वैशाख २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान बहुआयमिक रूपमा सफल भएको निष्कर्ष निकाल्यो । अभियानबाट निकै हौसिएका माओवादी जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णयमा पुग्यो । अभियानको क्रममा करिब एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको माओवादी नेताहरूले दाबी गरेका छन् ।
पूर्वमा किन आकर्षित ?
माओवादी केन्द्रका उपमहासचिव एवं कोशी प्रदेशका इन्चार्ज हरिबोलल गजुरेलले २०६४ को वैभव फर्काउनका लागि पूर्वी क्षेत्र अर्थात् सहर केन्द्रित अभियान चलाउनुपर्ने प्रस्ताव पदाधिकारी, स्थायी समितिमा गरेका थिए । १४ जिल्ला रहेको कोशी प्रदेशमा त्यतिवेला ४४ निर्वाचन क्षेत्र थियो । तीमध्ये माओवादीले २२ सिट जितेको थियो । दोस्रो ठुलो दल कांग्रेस र एमालेले ८र८ सिट जिते । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले ६ सिट जितेको थियो ।
२०६४ सालको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको माओवादीले त्यसपछिको निर्वाचनमा जनतासँग भन्दा सत्तासँग बढी केन्द्रित भयो । जनतासँग पार्टी सम्बन्ध टुट्दै जाँदा माओवादी आन्दोलन कमजोर भएको गजुरेलले विश्लेषण गरे । माओवादीको आधारभूमि रहेको रुकुम, रोल्पा, गोरखा, सिन्धुली लगायत क्षेत्र पार्टी संगठन मजबुत भए पनि पूर्वी तथा सहरी क्षेत्रमा संगठन विस्तारमा ध्यान दिन नसक्दा ठुलो क्षति भएको उनले निष्कर्ष सुनाए ।
हामीले विचारलाई दह्रोसँग समाउन सकेनौँ । वर्गलाई छोड्यौँ । हाम्रो सबैभन्दा ठुलो कमजोरी त्यही भयो । वर्गसँग राम्रो सम्बन्ध भएमा विचारको विकास हुन्छ । नयाँ विचार जन्मिन्छ । नयाँ विचारसँगै वर्गसँग जोडियो भने शक्ति बन्छ । जनता नै इतिहासका निर्माता हुन् । माओवादी अहिले त्यही शृङ्खलामा अगाडि बढ्दैछ’, उनले भने ।
२०७० सालको निर्वाचनपछि पूर्व क्षेत्रलाई उपेक्षा गर्दा पार्टीलाई निरन्तर क्षति भएको गजुरेलको जिकिर छ । मिसन–२०८४ पूरा गर्न पार्टी अब सत्तामा जान नहुने निष्कर्षमा नेताहरू पुगे । सोही अनुसार नेताहरूको समेत कार्यविभाजन भयो । गजुरेल कोशीका इन्चार्जको जिम्मेवारी लिएर पूर्वक्षेत्रमा सक्रिय रहे ।
गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न उनीसहित सिङ्गो पार्टी एकजुट भएर लाग्यो । आदिवासी जनजातिहरूको बाहुल्यता रहेको कोशी प्रदेशमा पहिचानको मुद्दालाई माओवादीले प्रमुखताका साथ उठायो ।
सरकारमा हुँदा गरेका राम्रा कामको ग्रास रुटमै गएर प्रचार गर्यो । विगतमा भएका गल्ती–कमजोरी अब नदोहोर्याउने बाचासहित जनताका मुद्दालाई प्राथमिकताका साथ उठाएकाले उपनिर्वाचनमा महत्त्वपूर्ण सफलता हासिल भएको गजुरेलले बताए ।
कोशी प्रदेशका स्थानीय तहका ८ पदमा भएको निर्वाचन परिणाम अनुसार ग्रामथान गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष माओवादीले हात पार्यो । मत परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको थियो । माओवादीले कांग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पायो । स्थानीय तहको चुनावी परिणामबाट हौसिएको माओवादीलाई चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनले थप मनोबल बढायो ।
४९ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र माओवादी निकट अखिल क्रान्तिकारी समग्रमा तेस्रो स्थानमा रहे । दुई ठुला संगठन नेविसंघ र अनेरास्ववियुको दबदबा रहेको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भयो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ एमाले ६ लाख ६५ हजार ६४० मत पाएर पहिलो दल भएको थियो । कांग्रेस ५ लाख ६२ हजार ९५६ मत पाएर दोस्रो दल हुँदा तेस्रोमा राप्रपाले एक लाख ९८ हजार ५११ मत पाएको थियो । माओवादी एक लाख ८१ हजार २४५ ल्याएर चौथो दल भयो । यी सबै तथ्यलाई मध्यनजर गरी संविधान निर्माणका बेला थाँती राखेको मुद्दा शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानमा आधारित संघीयतालाई ब्यूँताउने प्रयास माओवादीले गरेको छ ।










प्रतिक्रिया