काठमाडौँ ,प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् । लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए । बैठका सभामुख घिमिरेले पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला भनेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने भनेर निस्किएका थिए ।











प्रतिक्रिया