गृह पृष्ठ

सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगियाे


२८ पुस २०८१, आइतबार ००:००


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।

उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन्।

अधिकारीको इजलासमा भएको लामिछानेको बयान केहीबेर अघि सकिए पनि थुनछेक बहस सुरु नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको बताइएको छ।

अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरुमै बयान दिएका थिए। अदालतले कास्की जिल्ला अदालत झैँ धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो तर, थुनछेक बहस नसकिएकाले उनले कम्तिमा एकदिन हिरासतमा बस्नु पर्ने भएको हो।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए। त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका थिएनन्।

जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार राति मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन्।

अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइरहेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी दालतमा हाजिर भएका थिए। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।

प्रकाशित : २८ पुस २०८१, आइतबार ००:००