गृह पृष्ठ

सल्लेरी क्षेत्रको अव्यवस्थित संरचनामा नगरपालिकाले डोजर चलायाे,मेयर शेर्पा आफैँ फिल्डमा


१४ असार २०८०, बिहिबार ००:००


सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्रको अव्यवस्थित संरचनामा सोलुदुधकुण्ड नगरपालिकाले डोजर चलाएको छ । बजार क्षेत्रको अव्यस्थित संरचनाका कारण बजार क्षेत्र कुरुप बन्दै गएको भन्दै नगरपालिका डोजरसहित उत्रिएको हो । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका बजार क्षेत्रको अव्यवस्थित संरचना हटाउन निर्मम ढंगले अघि बढेको छ ।

अव्यस्थित संरचनाहरुका कारण बजार क्षेत्र नै कुरुप बन्दै गएको गुनासो बढ्दै गएको थियो । तर पछिल्लो समय नगरपालिकाले चालेको कदमको स्थानीयले समेत खुलेर प्रसंशा गरेका छन् । नयाँ बजारका स्थानीय निशा राईले भन्नुभयो, ‘बजार क्षेत्रको कतिपय संरचनाहरु यस्तै छन्, धेरै वर्षदेखिको पुरानो जीर्ण र अव्यवस्थित जसले जिल्लाको मुटु सदरमुकामलाई नै कुरुप बनाईरहेको थियो तर यसमा अब नगरपालिकाको नजर पुगेको छ । हामी खुसी छौ ।’

मंगलबार सल्लेरीको आवाडाँडा क्षेत्रबाट सुरु भएको अव्यस्थित संरचना हटाउने कार्य बुधबार नयाँ बजार क्षेत्रमा पुगेको छ । नयाँ बजारको मध्य भागमा वर्षौ अघि निर्माण भएको कामको संरचनामा पनि बुधबार नगरपालिकाको डोजर चल्यो । करिब ढेड दशक अघि सम्म फिल्म हलको रुपमा प्रयोग हुँदै आएको उक्त जिर्ण संरचना बुधबार छिनभरमै ध्वस्त बनाइएको छ । नगरपालिकाको यस कदम प्रति स्थानीयले त प्रसंशा गरेकै थिए ।

संरचनाका धनीहरुले समेत खुलेर साथ र सहयोग गरेका छन् । संरचना धनी रामलाल श्रेष्ठले भन्नुभयो, ‘नगरपालिका बनाउने दायित्व मेयरको मात्रै हैन हामी सबैको हो, हाम्रो संरचना भत्काउदा नगरको विकास हु्न्छ, राम्रो हुन्छ भने हामीले सोच फराकिलो बनाएको छौ, हाम्रै सहमतीमा यो घर भत्काइएको हो, विकासमा हाम्रो साथ छ ।’

नयाँ बजारमा वर्षौअघि निर्माण गरिएको उक्त संरचना जिर्ण बन्दै गएकाले पनि हटाउने निश्र्कषमा नगरपालिका पुगेको हो । भवन आफै भत्किएको खण्डमा मानवीय क्षति समेत हुन सक्ने भएकाले नगरपालिका आफै अघि बढेको सोलुदुधकुण्ड नगरपालिका ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा(फुरी)को भनाई छ । केहि दिन अघि सल्लेरी क्षेत्रको अव्यवस्थित तार हटाउन आफै सकृय भएको सोलुदुधकुण्ड नगरपालिका त्यसको केहि दिनमा नै अव्यवस्थित संरचना हटाउन कसिएको छ ।

संरचनाहरुमा धमाधम डोजर तथा जेसिवी चल्न थालेपछि स्थानीयको ठुलै भिड समेत भएको थियो । ति भिडलाई समन्वय गर्न नगर प्रमुख नामगेल जाङबु शेर्पा आफु फिल्डमा खटिनुभएको थियो । व्यवस्थित र सुन्दर नगरपालिका बनाउने अभियान द्रुत गतिमा अघि बढ्ने भएकाले यसमा आफुलाई नागरिकको ठुलो साथ रहेको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।

नगरपालिकाले यि अव्यवस्थित संरचनाहरुमा मेसिन चलाउनु अघि संरचना अटाउन आग्रह गर्दैै पटक पटक पत्राचार समेत गरेको जनाइएको छ । घर धनी आफै ति संचनाहरु हटाउन तयार नभएपछि नगरपालिका आफै अघि बढेको हो ।
सगरमाथा अवस्थित जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई स्वदेशी नागरिकले मात्रै नभई विश्वका मानिसहरुले नियाली रहेका हुन्छन् । जसलाई मध्यनजर गर्दै सफा र सुन्दर नगरको अभियानको सोलुदुधकुण्ड निर्मम ढंगले अघि बढेको देखिएको छ ।

प्रकाशित : १४ असार २०८०, बिहिबार ००:००