राजनीति

सहकारी ठगी प्रकरणमा सांसद माया राईविरुद्ध मुद्दा दायर


३० बैशाख २०८२, मंगलबार ००:००


काठमाडौं, कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन मार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो । यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनी पछि धरौटीमा रिहा भएका थिए ।

यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रकाशित : ३० बैशाख २०८२, मंगलबार ००:००