काठमाडौं, रास्वपाका सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेका छन्। केही बेरमा सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्ने बताएका छन्।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुग ८ गते सांसद पदबाट निलम्बन भएका थिए। तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ। सिंहदरबार जान लागेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन्।
सभामुख घिमिरेले भने आफूले पूर्वाग्रहमा सांसद् पदबाट निलम्बन नगरेको भन्दै छलफल गर्ने बताएका छन् । आफ्नो सांसद पद निलम्बन प्रक्रियासंगत नरहेको भन्दै लामिछाने शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।
त्यसक्रममा उनले आफ्नो सांसद पद तत्काल फुकुवा गर्न माग गर्दै सभामुखलाई निवेदन समेत दिएका छन् । तर, सभामुखले ‘छलफल गर्दै गर्ने’ जवाफ दिएका छन् । सभामुखले अगाडि भनेका छन्, ‘मैले पूर्वाग्रहमा तपाईंको सांसद पद निलम्बन गरेको होइन ।’
सभामुख घिमिरेले कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रका आधारमा गत पुस ८ गते लामिछानेलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेका थिए । सभामुखको निर्णय अनुसार संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना टाँस गरेको थियो ।
तर, यो प्रक्रियासंगत नरहेको विषय आफूहरूले उठाउँदै आएको र यही कुरा शुक्रबार सभामुख घिमिरेलाई निवेदनमार्फत अवगत गराइएको रास्वपाकी सांसद सोबिता गौतमले जानकारी दिइन् । उनले भनिन्, ‘संसदको नियमावलीले अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पद निलम्बनमा पर्ने भनेको छ । तर, माननीय रवि लामिछानेज्यूको हकमा अदालतले धरौटीमा छोडेको अवस्था छ ।’
त्यसैले तत्कालै लामिछानेमाथिको निलम्बन फुकुवा हुनुपर्ने आफूहरुको माग रहेको उनले बताइन् । यही विषय निवेदनमा रहेको उनले उल्लेख गरिन् । लामिछानेले सांसदको रुपमा काम कारबाही गर्न पाउनुपर्ने माग निवेदनमा रहेको छ ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ । रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्याएको टिप्पणी समेत गर्दै आएको छ ।
संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो ।
सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन् ।











प्रतिक्रिया