✍ लेखक- अजय अलङकार कुलुङ
साह्रै मिजासिला,सहयोगी, मिलनसार अनि निस्वार्थ भावना भएको एक समाजसेवी अर्थात मानव अधिकारकर्मी हुन् इन्द्र बहादुर कुलुङ अर्थात इन्द्र होनित्ति । उनको जन्म वि. सं. २०१६ साल पुष १६ गते बुवा डिल्लीमान कुलुङ र आमा पञ्चमाया बान्तावा कुलुङको कोखबाट जेठो सन्तानको रुपमा नेपालको पूर्वी क्षेत्र सुर्योदय नगरपालिका ७, इलाम जिल्लाको कन्याममा भएको हो । उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौबाट स्नातकोत्तर तह (एम ए) सम्मको अध्ययन पुरा गरेका थिए ।

इन्द्र होनित्ति सोमबार जन्मेकाले उनको न्वारानको नाम बुवाले सोमे भनेर राखिदिएका थिए । निम्न मध्यम वर्गीय सामान्य परिवारमा जन्मेका इन्द्र होनित्ति सानै उमेरदेखि शान्त, सुशील, इमान्दार अनि सन्तोषी स्वाभावको रहेका थिए। उनको बुवाले दुई जना बिहे गरेका थिए जसमध्ये उनि जेठी पट्टिको जेठो सन्तानको रुपमा थिए । उनका अरु तीन जना दिदिबहिनि रहेका छन् भने कान्छी पट्टिबाट धनकुमार, भूपाल, बालकुमार, लक्ष्मण, टेकप्रसाद र शिव गरि ६ जना दाजुभाइ रहेका छन् ।

इन्द्र होनित्तिको घरको आर्थिक अवस्था कमजोर भएकाले बुवा परदेशतिर आमा अलि कमजोरी लेखपढ नगरेको हुनाले आफ्नो सानो आमा (छेमा) ले उनी ५ वर्षको हुँदा गाउँ नजिकैको स्कुल तत्कालिन श्री पदम प्राथमिक विद्यालयमा भर्ना गरिदिएका थिए। त्यतिखेर आठाना-पचास पैसा तिरेर पढ्नु पर्थ्यो, जुन आठाना पैसा २ वर्षसम्म सानो आमाले नै तिरिदिएका थिए ।
हुने विरुवाको चिल्लो पात भनेजस्तै सानै उमेरदेखि निक्कै मेहनती तथा अध्ययनशिल इन्द्र होनित्तिलाई सानै उमेरमा दुख पीडाले नरुवाएको कहाँ हो र ? समस्या र अभावाताले नथिचिएको पनि कहाँ हो र ? तर उनले सहनशील भएर आफ्नो खुट्टा कहिल्यै कमाउनु भएन। स्कुल जान ज्यादै रमाउने इन्द्र होनित्तिले प्राथमिक तहसम्मको शिक्षा इलाम जिल्लाको सुर्योदय नगरपालिका वडा नम्बर ७ स्थित श्री पदम आधारभूत बिद्यालयबाट लिएका थिए-सुभारम्भ गरेका थिए ।

प्राथमिक तहको शिक्षा उतिर्ण गरेसँगै इन्द्र होनित्ति लगभग १०-११ वर्षको उमेरमा मूलघरदेखि माथिल्लो घर भाङटारको घारमा बस्न थाले । जति जति उमेर बढ्दै गयो, उति नै जिम्मेवारी थपिदै गयो । बिहानभरि गाई वस्तुको लागि घाँसको भारी काटिराखेर दिउँसो स्कुल जाने र बेलुका फर्केपछि पनि गाई वस्तुकै धन्दामा व्यस्त रहनुपर्ने उनको दैनिकी सुरु भयो ।
भाङटार घरदेखि केहि पर कन्याम डाँडामा रहेको श्री कृष्ण आश्रम निम्न माध्यामिक विद्यालयबाट निमावि सम्मको अध्ययन गरेपछि मावि तहको अध्ययनको लागि दिनहुँ दुई घण्टा हिडेर इलामको आइतबारेमा अवस्थित श्री करफोक विद्या मन्दिर माध्यामिक विद्यालय धाउनुहुन्थ्यो। इन्द्र होनित्तिले त्यस विद्यालयबाट वि.सं. २०३५ सालमा एस .एल. सी दिएका थिए ।

युवा अवस्थामा इन्द्र होनित्ति वाल्यकालमा झैं दयालु, उद्धार र अति शिष्ट व्यक्तिको रुपमा चिनिन्थ्यो। दीनदुखी मानिसलाई भेटे भने सर्वस्व दिन समेत पछि नपर्ने उनको हृदय अत्यन्तै कोमल थियो। अरुको खानुभन्दा आफ्नो भएजतिको दिने र खुवाउन रुचाउने इन्द्र होनित्ति जातपातका दृष्टीले होस् वा धनी गरिबका दृष्टिले होस् कसैलाई हेप्नुहुन्न (सेवा नै धर्म हो भने दुख भनेको गुरु हो) दुखले जीवनमा धेरै कुरा सिकाउछ। भन्ने व्यक्ति थिए । मेहनती र सबैसँग मिलनसार उनी जहिल्यै क्लासमा दोस्रो बेन्चमा बस्नुहुन्थ्यो। आफ्नो गुरुहरुले पढाएको विषय जसरी भएपनि जानैपर्छ र बुझ्नैपर्छ भन्ने स्वभावका थिए ।
अरु साथीहरु खेलिरहदा पनि त्यो विषयवस्तुको गहिराइसम्म डुबेर अध्ययन गर्ने इन्द्र होनित्तिका दुख र संघर्षका गहिराइहरु अथाह रहेका छन् । घरको जेठो सन्तान इन्द्र होनित्तिले दुख र पीडाको अजङ्ग पहाड बोग्नु परेकोले हुनुपर्छ वि.सं. २०३५ सालको एस एल सी परीक्षामा राम्रो नतिजा हात पर्न सकेन । दुईवटा विषयमा पुरक पाएकाले पुनः पुरक परीक्षा दिई २०३६ सालमा एस एल सी उतिर्ण गरेका थिए । एस एल सी पास गरेसँगै उनी २०३६ सालमा काठामाडौ गएका थिए। काठमाडौमा उनका काका यम बहादुर कुलुङ-वाइबी होनित्तिसँग बसेर आफ्नो पढाइलाई अगाडी बढाएका थिए ।

उनले पुल्चाेक इञ्जिनियरिङ क्याम्पस ललितपुरबाट वि.सं. २०४२ सालमा आर्किटेक्चरल इन्जिनियरिङ विषयमा प्रथम श्रेणीमा उतिर्ण गरेका थिए। त्यसपछि बीचमा अन्तराष्ट्रिय गैर सरकारी संस्थामा आबद्ध भई रसुवा, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा काम गरेका थिए। ग्रामिण विकास विषयमा पुर्वाञ्चल विश्वविद्यालय विराटनगरबाट वि. सं. २०६४ सालमा स्नातक तह उतिर्ण गरेका इन्द्र होनित्तिले त्रिभुवन युनिभर्सिटी विश्वविद्यालय(TU) किर्तिपुरबाट स्नातकोत्तर (मास्टर डिग्री) २०६६ सालमा गरेका थिए । वि. सं. २०७५ सालमा नाम भर्ना गरि सिंघानिया विश्वविद्यालय पचेरी बारी इन्डियाबाट पी एच डी को अध्ययन गर्दागर्दै इन्द्र होनित्ति सदाका लागि अस्ताए ।
इन्द्र होनित्तिले एक्सन एड नेपाल संस्थामा वि.सं. २०४७ देखि २०६१ सालसम्म १४ वर्ष लामो समय विभिन्न पदमा रहेर काम गरेका थिए। वि. सं. २०४७ देखि २०५४ सम्म भौतिक पूर्वाधार विकास अधिकृत, वि.सं. २०५५ देखि २०५८ सम्म बरिष्ठ कार्यक्रम अधिकृत र वि. सं. २०५८ देखि २०६१ सम्म कार्यमूलक जनपैरवी अनुसन्धान परामर्शदाता भएर काम गरेका थिए ।
वि. सं. २०६३ देखि २०६८ सालसम्म आदिवासी जनजाति गैर सरकारी संस्था महासंघको कार्यकारी निर्देशकको रुपमा समेत काम गरेका इन्द्र होनित्तिको जागिरे जीवनयात्रा पनि नदि झैं एकनासले कहिल्यै बगेन, उनको जीवनमा कहिलेकाही कहाली लाग्दो दुखै दुख निम्तिए तरपनि उनको परोपकारी भावना र उद्धारवादी सोच कहिल्यै रोकिएन निरन्तर बगिरहे उनी आफू अस्पतालको सैयामा मृत्युसँग लडिरहदा पनि अस्पतालको बेडबाटै कयौंको समस्यालाई फोनमार्फत समाधान गरिदिएका थिए ।

कयौं विद्यार्थी भाइबहिनीहरुको क्याम्पस शुल्क समेत तिरिदिएर उपकार गरेका थिए । माग्ने मान्छेहरु छेउ परेर हात फिजाउने बित्तिकै पैसा निकालेर तुरुन्तै दिई हाल्थे। उनको सम्पूर्ण जीवनकाल नै अरुको लागि बिताएका थिए। यस हिसाबले हेर्दा उनी आफ्नो जीवनको लागि भन्दा अरुको जीवन बचाउँनका लागि बाँचेका अनुभूति गर्न सकिन्छ र उनलाई समाजको एक प्रेरणाको श्रोतको रुपमा लिन सकिन्छ ।
सम्पूर्ण जीवन समाज सेवामा समर्पित गरेका इन्द्र होनित्तिले विभिन्न खालका थुप्रै पुस्तकहरु लेखन तथा प्रकाशन गरेका थिए जसमध्ये (१) नेपालको पहाडी ग्रामिण खानेपानी व्यवस्थापन प्रणाली सन् १९९६, (२) नेपालको पूर्वी क्षेत्रमा एच आइ भी एड्सको अवस्था अध्ययन सन् २००१, (३) नेपालका आदिवासीहरुको मानव अधिकार सन् २००६ , (४) बोटे-भोटे समुदायको जिविकोपार्जन रणनिति २०११ , त्यस्तैगरी कुलुङ पहिचान र महाकुलुङ क्षेत्रमा आधारित विविध पक्षको अध्ययन “किराती कुलुङ“ सन् २०१७ र कुलुङ लोक कथा – कुलु पोम् ललै सन् २०१९ प्रकाशित छन् । र, कुलुङ भाषाको पाठ्यपुस्तक कुलु नेइम् कक्षा १ देखि कक्षा ७ सम्म प्रकाशन भएकोमा पनि उनको ठुलो योगदान रहेको छ ।

जहाँ जहाँ आफ्नो जाति र समुदायको बसोबास छ, त्यहि ठाउँहरुमा पुगेर जनचेतना फैलाउदै, समुदायको विकासमा लाग्दालाग्दै आफ्नो शरीरको ख्याल राख्न नसकेका इन्द्र होनित्तिले अन्तिम अवस्थामा बिरामी हुँदाहुँदै पनि किराती कुलुङ स्व–पहिचानबारे एउटा पुस्तक लेख्दै गरेका थिए । प्रकाशन गर्न उनको ठुलो इच्छा थियो, जिन्दगीको अन्तिम घडीसम्म पनि निकै कोसिस गरेका थिए। प्रकाशन गरेरै छोड्छु भन्ने आत्मा विश्वास पनि थियो, तर अधुरै रह्यो ।
इन्द्र होनित्ति यस्ता एक ज्योति थिए जसले जुन क्षेत्रलाई स्पर्श गरे, त्यस क्षेत्रलाई नै झन–झन चम्किलो पारिदिए । विभिन्न संघ सस्थामा बसेर भरिपूर्ण ज्ञान र लामो अनुभव संगाली सकेका उनी जब २०६१ सालमा कुलु गुस्खममा महासचिवको रुपमा आवद्ध भए त्यसपश्चात कुलुङ समुदायमा उहाँले आमुल परिवर्तन ल्याएका थिए । नेपालको २२ वटा जिल्ला भन्दा बढी जिल्लाहरुमा कुलुङ समुदायसँग विभिन्न छलफल तथा तालिम संचालन गरेका इन्द्र होनित्तिले विभिन्न निकायबाट परियोजना ल्याउने काम गरेका थिए ।
अन्य थुप्रै संघ संस्थालाई पनि समन्वय गरी कुलु गुस्ख्मको अवधारणा सम्बन्धी जानकारी गराएका थिए। गाउँस्तरका प्रत्येक नागरिकसँग प्रत्यक्ष जोडिएका इन्द्र होनित्तिको राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा कुलुङ जातिलाई स्थापित गर्नमा महत्वपूर्ण योगदान रहेको छ ।
कुलुङ जातिको जातीय अस्तित्व, स्वपहिचान र अधिकार प्राप्तिको निम्ति करिब १८ वर्षसम्म उनी निरन्तर लागेका थिए । यसै सन्दर्भमा अन्य किराती समुदायसँग समन्वय गर्दै उहाँकै पहलकदमी र नेतृत्वमा आदिवासी किरात महासंघको स्थापना भएको थियो । उहाँले डेनिडा मार्फत विभिन्न परियोजना ल्याएर तल स्थानीय गाउँ स्तरसम्म मानव अधिकार सम्बन्धी, आदिवासी जनजातिको हक अधिकार समबन्धी सम्पूर्ण नागरिकलाई सचेतना जगाउदै, सबैलाई गोलबन्द गर्दै उनले देश दर्शनको यात्रा गरेका थिए । कुलुङ हक हित, अधिकार स्थापना गर्न पूर्ण रुपले जीवन नै समर्पण गरेका थिए ।

सबैको नजरमा एक असल अनि बौद्धिक व्यक्तित्व इन्द्र होनित्ति विभिन्न समयमा आफ्नै खर्चमा थुप्रै जिल्लाका कुलुङहरुलाई प्रशिक्षण दिन पुग्थ्यो। थुप्रै बुढापाका पुर्खाहरुसँग छलफल गर्दै खोज अनुसन्धान गर्नुहुन्थ्यो । उनी जहाँ–जहाँ पुग्थे, त्यहाँ–त्यहाँ पहिचान र अधिकारको ओजस्वी कुरा गरेर सबैलाई मन्त्रमुग्ध पारिदिन्थे ।
उनी पहिचान विरोधीहरुसँग हर–समय जुनसुकै मध्यमबाट पनि मुक्कामिला गर्नुहुन्थ्यो । यसरी कुलुङ जाति र भाषा सस्कृतिलाई देश–विदेशसम्म चिनाउनुमा उनले ठुलो योगदान पुर्याउनुका साथै काठमाडौ स्थित कुलु गुस्खम रिदुम खिम निर्माणमा समेत उहाँकै प्रमुख देन रहेको थियो ।
कुलु गुस्खम बाहेक उनी होप हर्मिटेज नेपालको उपाध्यक्ष तथा हिमालय नेचुरल फाइवर फाउण्डेशनको अध्यक्ष पदमा रहेर सामाजिक कार्यमा उलेख्य भूमिका निर्वाह गरेका इन्द्र होनित्तिको जीवन भोगाइहरु थुप्रै आरोह र अवरोहपूर्ण रह्यो। तरपनि, उनी एक असल छवी भएको व्यक्तित्वका रुपमा चिनिए । कुलुङको कोखमा जन्मेर पनि उनको बोली, व्यवहार, सकारात्मक सोचाइ अनि तन, मन र धनले समाजप्रति गरेको सत्कर्म र योगदानलाई उच्च मुल्यांकन गर्ने हो भने उनी एक विद्वान थिए । किरात कुलुङ जातिको लागि एक बुद्ध नै थिए ।
इन्द्र होनित्ति वि. सं. २०६२ सालदेखि कुलु गुस्खममा महासचिवको रुपमा रहेर करिब १८ वर्ष उनले कुलुङ समुदायको लागि काम गर्दा थुप्रै इतिहास रचेर गएका थिए । उनी कुलुङ जातिको एक मार्गदर्शक एवं एक धरोहर व्यक्तित्वको रुपमा चिनिएका थिए।

उनी आँखाको नानी जस्तै कसैलाई नभिजाउने व्यक्ति थिए । कुलुङ जातिको सशक्तिकरण र सूचीकरणको लागि उहाँले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दस्तावेजीकरणको हिसाबले पनि कुलुङ समुदायको निम्ति एउटा ग्रन्थ नै तयार पारेका थिए । कुलुङ जागरणको अभियानमा इन्द्र होनित्तिले तुम्नो र पारुहाङको जत्तिकै भूमिका खेलेका थिए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति क्रान्तिको आगो सल्किदै गर्दा इन्द्र होनित्तिले पहिचान, संघियता र गणतन्त्रको पक्षमा वकालत गरेका थिए । उनलाई झट्ट हेर्दा जति बाहिरी रुपमा सरल देखिन्थे भित्र व्यक्तित्व साच्चै नै असल र कुशल रहेको थियो ।
कुलुङ जातिको भाषा, धर्म, सस्कार–सस्कृति संरक्षण र प्रवर्दनका निम्ति निरन्तर लागिरहे इन्द्र होनित्ति । नेपालमा उत्पीडनमा परेका विभिन्न जाति, वर्ग, लिङ्ग र समग्र नागरिकहरुको आर्थिक, सामाजिक र रानजीतिक अधिकार प्राप्तिको निम्ति निरन्तर जनवकालत गरेका थिए । उहाँले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्पीडित जाति र वर्गको घर–घरमा पुगेर ती जाति र वर्गलाई अधिकार प्राप्तिको आन्दोलनमा झुरुक्क उठ्न एउटा सक्रिय अभियान्ताको नाताले सारालाई आव्हान गरेका थिए ।

आज कुलुङ समुदायले “हामी कुलुङ हौं” भनेर जति गर्व गरिरहेका छन् त्यसको श्रेय इन्द्र होनित्तिलाई नै जान्छ । उनले कुलुङहरुको खोजी कार्यमै सारा जीवन समर्पण गरेका थिए । वास्तवमा कुनै पनि व्यक्ति यसकारणले असाधारण बन्छ कि, उसको सकारात्मक सोचाइ र उसले गरेका हरेक सामाजिक सत्कर्मकै कारण ऊ समाजको लागि एउटा उदाहरणीय र अविष्मरणीय व्यक्ति बन्न सक्छ । यस अर्थमा इन्द्र होनित्ति अविष्मरणीय र उदाहरणीय व्यक्ति बनेका छन् ।
वि स २०७९ साल भदौ २४ गते शुक्रबारको दिन कहिल्यै नफर्किने गरि यो संसारबाट अस्ताएर सदाका लागि विदा भएका इन्द्र होनित्ति काठमाडौको डिल्लीबजारमा डेरा लिएर २०५२ सालदेखि करिब २७ वर्ष आफ्नो भाइ धनकुमार कुलुङ, बुहारी पुष्पा पुमा कुलुङ र भतिजी छोरी वेइलिम कुलुङलाई आफूसँगै साथमा राखेका थिए । उनले आजीवन बिहे नै नगरी सम्पूर्ण घरपरिवार तथा सारा कुलुङ समुदायलाई अभिवावकत्व प्रदान गर्दै आएका थिए ।
इन्द्र होनित्तिले नेपाली उत्पीडीत समाजप्रति अझ भनौं किराती कुलुङ समुदायप्रति गरेका योगदान अतुलनीय र अद्वितीय रहेको छ । उनको देहावसानपछि कुलु गुस्खम केन्द्रीय समितिको महासचिव रिक्त पदमा करिब ८ महिनापछि दीपेन्द्र थोरेप्पालाई गुस्खमले अनुमोदन गर्यो ।
इन्द्र होनित्तिको सम्मान स्वरुप उनको शालिक बनाउने गुस्खमले निर्णय गरेको छ । त्यस्तै कुलुङ जातिको उद्गम स्थल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा मिति २०८० जेठ ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले महाकुलुङ चक्रपथ सडकलाई (इन्द्र होनित्ति कुलुङ चक्रपथ) नामकरण गर्ने निर्णय गरेको छ । उनको पार्थिव शरिर यस धर्तीमा नरहे पनि उनले सामाजलाई दिएको अतुलनिय योगदान तथा उनका अमुल्य किर्तिद्वारा अनवरत बाँचिरहेका छन् । सदा अमर बनेका छन् ।











प्रतिक्रिया