प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार भएको सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा मन्त्रालयले अझै कर्मचारी खटाउन सकेको छैन । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत पुष्प धमला गत फागुन २० गते नै रामेछाप सरुवा भएपछि मन्त्रालयले हालसम्म कुनैपनि अधिकृत नखटाउँदा पालिकाका सबै कामकाज प्रभावित भएका हुन् ।
२ बर्षदेखि लिखुपिके गाउँपालिकामा कार्यरत धमला स्वेच्छिक सरुवामा गएपछि लिखुपिके प्रमुख प्रशासकिय अधिकृत विहीन बनेको हो । कार्यालय प्रमुख नहुँदा बृद्धबृद्धाको सामाजिक सुरक्षाभत्तादेखि कर्मचारीको तलब समेत भुक्तानी हुन सकेको छैन । योजना सम्झौता र काम गरेको भुक्तानी दिन नसक्दा विकास निर्माणको काम पनि रोकिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताईन् ।
प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्थापनको लागि आफु पटक पटक मन्त्री र सचिवलाई भेट्न सिंहदरबार गए पनि आफुहरुलाई कर्मचारी पठाउन मन्त्रालयले आनाकानी गरेको र सिंगो स्थानीय तह ठप्प हुँदा संघिय सरकार मुकदर्शक बनेको अध्यक्ष कार्कीको आरोप छ । उनले पालिकामा कार्यरत अन्य अधिकृत स्तरका कर्मचारीलाई निमित्त दिन पनि मन्त्रालय तयार नभएकाले पालिकाको कार्यसम्पादनमा जटिलता उत्पन्न भएको बताईन् ।
५ वटा वडा रहेको उक्त पालिकामा अहिले विकास निर्माण र सेवा प्रवाहको दुवै काम ठप्प जस्तै छ । यता संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पालिकाको समस्याबारे ठोस जवाफ छैन । मन्त्रालयका प्रबक्ता कमल प्रसाद भट्टराई आफुले २ दिन अघि मात्रै प्रशासन महाशाखा छोडेकाले यो विषय थाहा नभएको बताउँछन् ।











प्रतिक्रिया