काठमाडौँ,सरोज थापा एक नेपाली पेष्ट्री सेफ हुन् । साउदी अरबमा कार्यरत उनी मासिक १२ लाख रुपैयाँ कमाउँछन् । धादिङबाट काठमाडौं आएर संघर्ष सुरु गरेका उनी अहिले विदेश पुगेर आफ्नाे पेसामा स्थापित हुन पुगेका छन्।
उनि २०५४ सालमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी सपनाको खोजीमा काठमाडौँ हान्निएका थिए । गाउँबाट ३०० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनी अहिले आफ्नो अथक सङ्घर्षको प्रतिफल स्वरूप मासिक १२ लाख रुपैयाँ हाराहारी कमाउन सक्ने हैसियतमा पुगेका छन् ।
त्यो पनि कुनै व्यापार व्यवसाय गरेर होइन, आफ्नो सीप बेचेर मासिक आम्दानी गरिरहेका हुन् । यो सफलताको कथा अन्तर्राष्ट्रिय पेष्ट्री सेफ सरोज थापाको हो । हाल साउदी अरबको दमामस्थित युरोपियन लक्जरी होटल केम्पेस्कीमा एक्जुकेटिभ पेष्ट्री सेफको रूपमा कार्यरत थापाको चकलेट र बेकरी आइटममा विशेष दक्खल छ ।
आफूमा रहेको सोही विशेष क्षमताका कारण उनी हाल आफूलाई एक स्थापित सेफका रूपमा चिनाउन सफल भएका छन् । उनको जन्म एक मध्यमवर्गीय परिवारमा भयो । बुबा नेपाली सेनाको जागिरे रहे पनि ग्रामीण परिवेशमा सामान्य रूपमै उनको बाल्यकाल बित्यो ।
परिवारका चार दिदीपछिका एक्ला भाइ भएकाले पनि उनी सबैको मायामा हुर्किए । तर, उनलाई सानैदेखि केही फरक गर्नुपर्छ भन्ने हुटहुटी थियो । पढाइमा अब्बल रहेका उनी २०५४ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका साथै केही जीवनमा गरौँ भन्ने सोचका साथ काठमाडौँ आएका थिए ।
जम्मा ३०० रुपैयाँ गाडी भाडा लिएर आएका उनी केही समय आफन्तसँग काठमाडौँमा बसे । तर, आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता बोकेका उनले लगत्तै ठमेलस्थित एउटा ट्राभल्समा काम गरे । तर, उनलाई त्यो कामले चित्त बुझेन, त्यो छाडेर उनले कालीमाटीमा एक आइसक्रिम पसलमा काम सुरु गरे ।
उनी दिनभर त्यहाँ काम गर्थे भने रातिमा सरस्वती क्याम्पसमा आईकम पढ्थे । ‘त्यहाँ मेरो ८ सय रुपैयाँ तलब थियो । अनि राति कलेज पढ्ने, दिउँसो आइसक्रिम बेच्थेँ’, उनी स्मरण गर्छन् । कामकै बिचमा उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा होटेल मेनेजमेन्ट तालिम गर्न पाइने थाहा पाए ।
उनलाई त्यसमा रुचि भएकाले एक दिन साहुलाई भने,नाथममा होटेल म्यानेजमेन्ट ट्रेनिङ गर्नका लागि एकदम इच्छुक छु । मलाई सहयोग गर्नुस् ।’ साहु सहयोगी थिए, नभन्दै काम गर्दै तालिम पनि गर्न अनुमति दिए । तर, उनलाई तलब आधा मात्रै दिने भनियो ।
त्यसलाई स्वीकार गर्दै उनले तालिम र काम सँगै अघि बढाएका थिए । साथमा रातिमा कलेज त छँदैथियो । सबै सन्तुलन मिलाउँदै त्यतिबेला काठमाडौँमा संघर्ष गरेको कुराकानीमा उनले भने । त्यसरी थापाले नाथममा नौ महिना तालिम गरे ।
त्यसपछि नाथमबाटै उनलाई सांग्रिला होटेलमा इन्ट्रानसिपको अवसर आयो । यससँगै उनले आइसक्रिम बेच्ने जागिर छाड्नुपर्यो । नाथमको तालिमपछि सांग्रिलामा मेरो तीन महिनाको इन्ट्रानसिप थियो’, उनले भने, ‘रोचक कुरा मैले त्यहाँ संयोगले आफूलाई प्रमाणित गर्ने अवसर पाए ।
त्यो २६ सयको जागिर १
कुरा २०५५ सालतिरको हो । त्यतिखेर लोडसेडिङ निकै हुन्थ्यो । उनको काम सांग्रिलामा सर्भिसमा थियो । एक दिन राति फ्रेन्च गेस्टहरू डिनर गर्दै थिए, त्यहीबेला लोडसेडिङ भएर झ्याप्पै बत्ती गयो ।
लोडसेडिङ भएपछि सांग्रिलामा ग्यासबाट बत्ती बालिन्छ छ भन्ने उनलाई थाहा थियो । थापाको त्यो जिम्मेवारी नभएपनि उनी बिजुली गएसँगै दौडेर गएर ग्यासको सिलिन्डर ल्याएर क्षणभरमै उज्यालो बनाए ।
मैले दौडेर गएर दुइटा हातमा सिलिन्डर बोकेर ल्याएँ । अनि तत्काल बत्ती बाल्दिएँ’, उनले त्यतिबेलाको घटना स्मरण गर्दै भने । त्यो दृश्य होटलकै राजशेखर भन्ने म्यानेजरले देखेछन् । भोलिपल्ट उनलाई राजशेखरले अफिसमा बोलाएर भनेछन्, ‘तिमी एचआरलाई भेट १’ तर मेनेजरले किन त्यसो भने उनले भेउ पाएनन् ।
उनलाई लाग्यो, ‘मैले कुनै गल्ती गरेका कारण निकाल्न खोजिएको होला १’उनी डराउँदै एचआरलाई भेट्न पुग्दा जागिरको पत्र पो थमाए । ‘एचआरले लौ, अफर लेटर साइन गर भन्नुभयो । अनि यसो हेरेको त अफर लेटरमा तलब हेरेको त छब्बीस सय ।
आठ सयमा काम गरिरहेको मान्छे त्यतिधेरै तलब हुने भएपनि म एकदम फिलिली भएँ’, उनले उत्साहित हुँदै विगत स्मरण गरे । नियुक्ति पाएपछि त्यहाँ आफूले करिब ६ महिना काम गरेको थापाले बताए ।
त्यतिबेला उनको एक जना आफन्त युएईमा थिए । उनैले थापालाई यूएईको आबुधाबीमा होटेलमा काम गर्नेगरी बोलाए । उनी आफ्नो सपनाको पखेटा फैल्याउँदै यूएई उडे । ‘काठमाडौँ आउनासाथ मेरो एउटा सपना थियो । मेरो हातमा पैसा मिल्यो भने एउटा जग्गा किन्छु र घर बनाउँछु भन्ने थियो’, उनले भने, ‘यही सपना बोकेर म यूएई उडेको थिएँ ।’
सन् २००१ मा आबुधाबी गइसकेपछि त्यतबेला उनको तलब आठ सय दिराम थियो। होलिडे इन नामक होटल जहाँ उनी वेटरमा गएको थिए । लगभग तीन वर्ष त्यहाँ उनले काम गरे । त्यही बिचमा उनले काम गरेकै ठाउँमा पेष्ट्री बेकरी पनि सिके ।
त्यहाँ वेटरमा गएकाले राति ड्युटी गर्थेँ। बिहान चाहिँ म पेष्ट्री बेकरी ह्यान्डल गर्थेँ । काम सिक्नैका लागि मैले कुनै पारिश्रमिक नपाउने भएपनि बिहान पेष्ट्री बेकरीमा काम गर्थे,’ उनले भने । उनले पेष्ट्री बेकरी सिकेपनि त्यहाँ सो काम नदिइएसँगै तीन वर्षपछि इमिरेट्स प्यालेस होटेलमा ट्रान्सफर भए । उनले स्मरण गर्दै भने, ‘मेरो रियल क्यारियर चाहिँ त्यहाँबाट सुरु भयो।’
सफलताको स्वाद
सन् २००५ मा इमिरेट्स प्यालेसबाट असली करियर सुरु गरेका उनले त्यहाँबाट कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यहाँ काम गर्दागर्दै उनले काठमाडौँमा घरजग्गा जोडिसकेका थिए, जुन उनको सुरुको सपना थियो ।
विदेश आउजाउकै बिच उनले सरस्वतीबाट आईकम पास पनि गरे । त्यसपछि औपचारिक शिक्षा भन्दा पनि व्यावहारिक शिक्षा अर्थात् करियरतिर नै उनी केन्द्रित हुन पुगे । उनले आफ्नो करिअरका क्रममा धेरै सेलिब्रिटीहरुलाई आफ्नो सिप चखाएका छन् ।
पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस दुबई पुग्दा उनलाई पनि आफ्नो सिपबाट तयार परिकार चखाउने मौका पाएको थापा बताउँछन् । जुन बेला उनी इमिरेट्स प्यालेस होटेलमा काम गर्थे, त्यति नै बेला थापाले त्यस्तो अवसर पाएका थिए ।
इमिरेट्स प्यालेसमा उनले लगभग ३ वर्ष काम गरे । बेसिक कर्मचारीका रूपमा त्यहाँ पुगे पनि तीन वर्षको अवधिमा सुपरभाइजर बन्न सकेको उनले बताए । त्यसपछि उनले दुबईस्थित एट्लान्टिक होटेलमा सिनियर सेफका रूपमा काम गर्ने अवसर पाए । त्यतिखेर उनको तलब पैँतालीस सय रियाल पुगिसकेको थियो ।
त्यसपछि अवसरकै खोजीमा उनी ओमानस्थित क्राउन प्लाजामा पुगे । त्यसपछि कतार, कुवेत यूएई, साउदीलगायतका देशमा सञ्चालित होटेलहरुमा उच्च तहको सेफका रूपमा काम गरे । उनले जहाँ जहाँ काम गरे, त्यहाँ त्यहाँ आफूलाई प्रमाणित गरेर सबैको रोजाइको सेफ बन्न पुगे ।
अहिले पछिल्लो ४ वर्षयता भने उनी क्याम्पेन्स्की पुगेका हुन् । त्यहाँ आफ्नो बेसिक तलब मात्रै २४ हजार रहेको उनको दाबी छ । यसबाहेक विभिन्न सुविधासमेत जोडेर करिब ३४ हजार अर्थात् १२ लाख नेपाली रुपैयाँ बराबर तलब रहेको उनको भनाइ छ । साथसाथै उनी अहिले प्रशिक्षकका रूपमा युरोपसहितका विभिन्न देशमा पनि आउजाउ गरिरहन्छन् ।
पेष्ट्री सेफ भनेको मिठाई, बेकरी र पेष्ट्री परिकारहरू बनाउने विशेषज्ञ सेफ हो। यस्ता सेफ केक, कुकिज, ब्रेड, पाई, चकलेट, आइसक्रिम आदि बनाउनमा माहिर हुन्छन् । थापाले कलात्मक ढंगले यस्तै कार्य गरेर अरूको ध्यान आफूतर्फ आकर्षित गर्दै आम्दानी गर्दै आएका हुन् । उनले पेष्ट्री सेफका रुपमा विभिन्न सम्मानहरु पाइसकेका छन् भने आफूलाई समाजसेवामा पनि समर्पित गर्दै आएका छन् ।
नेपालमा केही गरौँ भन्ने हुटहुटी
उनले करिब २४ वर्षभन्दा बढी समय विदेश बिताए । सो बिचमा उनले प्रशस्त कमाए पनि । अब भने उनी नेपालमै पनि केही गरौँ भन्ने योजनामा जुटेका छन् ।
सोही अनुसार थापा अहिले काठमाडौँमा परम्परागत नेवारी दही जुजु धौ मिश्रित अनौठा स्वादयुक्त केकहरूको उत्पादनमा जुटेका छन् । हाल नेपालमा रहेका उनले ‘बेक जुजु धौ केक’ बनाएर बजारीकरकणका लागि होमवर्क गरिरहेका हुन् ।
सेफ थापाले आफ्ना केक उत्पादनहरू पूर्णतः अर्ग्यानिक हुने र अर्डर अनुसारको स्वाद तयार गरिने जानकारी दिए। यस व्यवसाय अन्तर्गत परम्परागत तथा जडीबुटीजन्य स्वाद मिसाएर तयार गरिएका केकहरू उपलब्ध हुनेछन् । जुन सामान्यतया अन्य बेकरीमा नपाइने उनको भनाइ छ ।
प्रस्तुत केकका स्वादहरूमा यार्सागुम्बा, मोरिंगा, सिस्नो, सखरखण्ड, गाजर, हरियो स्याउ, चुकन्दर, टिमुर, भ्यानिला, कोकोवा, नीम, हरियो चिया, जिम्बु, चिया सिड, आलस, पाँचऔँले, सालधूप, सिलाजित र जटामसी रहने उनको भनाइ छ ।
फ्रान्स र जर्मनीबाट पेष्ट्री, बेकरी, आइसक्रिम र चकलेट बनाउने विषयमा डिप्लोमा समेत गरिसकेका थापाले नेपालमा ‘चकलेट बार’ र चकलेट बन बन’ उत्पादनको गृहकार्य समेत गरिरहेका छन् । अहिले आन्तरिक रूपमै अर्डरअनुसार उत्पादनका साथै परीक्षण गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यावसायिक रूपमा तीव्रता दिनेबारे योजना बनाइरहेको बताए ।
उसो त थापा मात्रै यस्ता पात्र होइनन्, पाककला क्षेत्रमा नेपाली सेफहरूले विश्वका विभिन्न चर्चित होटलहरुमा आफ्नो कौसल देखाउँदै राम्रो आम्दानी गरिरहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारी बताउँछन् ।
यसरी आफ्नो क्षमता देखाउँदै १० लाख भन्दा धेरै आम्दानी गर्ने सेफहरु दर्जनौँ रहेको उनको भनाइ छ । सोसाइटीले गत महिना काठमाडौँमा विदेशमा कार्यरत नेपाली सेफहरूको भेला गरेर फुड फेस्टिभलका नाममा पाककलाको प्रवर्द्धन समेत गरेको थियो ।











प्रतिक्रिया