मनोरञ्जन

पशुपन्छीप्रतिको करुणा र सहअस्तित्वको सन्देश बोकेको लघु चलचित्र ‘मूलबाटो’ सार्वजनिक


१८ असार २०८३, बिहिबार ००:००


नेपाल शाकाहारी संघका अध्यक्ष तथा लेखक कृष्ण गुरुङद्वारा लिखित लघु चलचित्र ‘मूलबाटो’ सार्वजनिक गरिएको छ। सामाजिक चेतना, करुणा र मानवीय मूल्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त लघु चलचित्र घाम छायाँ प्रडक्सनको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपाल शाकाहारी संघको सहयोगमा निर्माण भएको यस लघु चलचित्रले पशुपन्छीप्रति दया, करुणा, सहअस्तित्व र जिम्मेवार व्यवहारको सन्देश प्रवाह गर्ने प्रयास गरेको छ। लामो समयदेखि पशु अधिकार, प्राणी कल्याण तथा अहिंसामूलक जीवनशैलीको पक्षमा वकालत गर्दै आएको नेपाल शाकाहारी संघले यस्ता सिर्जनात्मक माध्यममार्फत समाजमा सकारात्मक चेतना फैलाउने अपेक्षा गरेको जनाएको छ।


लघु चलचित्रका लेखक कृष्ण गुरुङका अनुसार, मानिसले पशुपन्छी तथा अन्य जीवजन्तुप्रति गर्ने व्यवहारले समाजको नैतिकता, मानवीय संवेदना र भावी पुस्ताको संस्कार निर्माणमा प्रत्यक्ष प्रभाव पार्छ। ‘मूलबाटो’ले यही यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गर्दै करुणामय समाज निर्माणका लागि प्रत्येक व्यक्तिको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

लघु चलचित्रको निर्देशन बाबुराम निरौलाले गरेका छन्। चलचित्रमा उपासना नेम्बाङ र रमेश चन्द मुख्य भूमिकामा रहेका छन् भने सुप्रीम राई र आदित्य घिमिरे बाल कलाकारका रूपमा देखिएका छन्।

तनहुँ जिल्लाको भानु नगरपालिका–१३ सम्जुर माझगाउँमा छायाङ्कन गरिएको ‘मूलबाटो’ले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। पशुपन्छीप्रति सम्मान, अहिंसा र मानवीय संवेदनाको संस्कार विकास गर्न यस चलचित्रले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित : १८ असार २०८३, बिहिबार ००:००