यसअघि ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका थिए। तर अचानक हमला रोक्ने निर्णयमा पुग्नुको पछाडि मध्यपूर्वका शक्तिशाली राष्ट्रहरूको सघन कूटनीतिक पहलले काम गरेको देखिएको छ।
अमेरिकी समाचार वेबसाइट एक्सियोसको रिपोर्टअनुसार, साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए। सो वार्ताका क्रममा उनले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीलाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै दुई देशबीच बढ्दो तनाव कम गर्न ट्रम्पलाई विशेष अपिल गरेका थिए।
साउदी अरब मात्र नभई, अमेरिका र इरानबीचको तनाव कम गर्न कतार, संयुक्त अरब इमिरेट्स (यूएई), टर्की र पाकिस्तान पनि कूटनीतिक प्रयासमा जुटेका थिए।
तनाव कम गर्ने यसै प्रयासअन्तर्गत शनिबार कतारी मध्यस्थकर्ताहरूले इरानी विदेशमन्त्री अब्बास अराघची, ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ओमानी अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए।
यी बैठकहरूमा विशेषगरी होर्मुज स्ट्रेट पुनः खोल्ने सम्भावित सम्झौताको विषयमा गम्भीर छलफल भएको थियो।
ट्रम्पको दाबी : इरान र मध्यपूर्वका देशले आग्रह गरे
ट्रम्पले भने ट्रुथ सोसलमा गरेको पोस्टमा इरान र मध्यपूर्वका अन्य केही देशहरूको आग्रहमा आफूले हमला रोकेको दाबी गरेका छन्।
‘अमेरिकासँग दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य तागत छ र ऊ इरानविरुद्ध कारबाहीका लागि पूर्ण रूपमा तयार थियो,’ ट्रम्पले लेखेका छन्, ‘तर इरान र अन्य मध्यपूर्वी देशहरूले हमला रोक्न अनुरोध गरे, किनभने सम्झौताको रूपरेखा तय भइसकेको छ।’
के छ प्रस्तावित सम्झौतामा?
अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार, प्रस्तावित सम्झौतामा दुईवटा मुख्य सर्तहरू समावेश छन्:
१. विश्वव्यापी व्यापारको प्रमुख मार्ग मानिने होर्मुज स्ट्रेटलाई तत्काल, पूर्ण रूपमा र विना कुनै बाधा खोल्नुपर्ने।
२. इरानको आणविक खतरालाई सधैँका लागि अन्त्य गर्नुपर्ने।
ट्रम्पले लेखेका छन्, ‘विश्वको भविष्य तथा इरानको स्थायित्व र समृद्धिलाई ध्यानमा राख्दै, छिट्टै सम्झौता गर्ने सर्तमा मैले हमला रद्द गर्ने निर्णय गरेको छु।’
यस निर्णयमा इजरायल पनि अमेरिकासँगै रहेको ट्रम्पले दाबी गरेका छन्। उनले सम्झौतालाई छिटो निष्कर्षमा पुर्याउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिँदै लेखेका छन्, ‘सबै जना काममा लाग्नुहोस् र यसलाई पूरा गर्नुहोस्।’
ट्रम्प कसरी पुगे यो निर्णयमा ?

अलजजिराले ट्रम्पको धम्की र आक्रमण रोक्ने निर्णयलाई टाइमलाइनमा प्रस्तुत गरेको छः
जुलाई २८: ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गरे। दुई नेताबीच इरानसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा थप सैन्य कारबाहीसहितका विकल्पहरूमा छलफल भयो।
जुलाई २९: सीएनएनका अनुसार, साउदी रक्षामन्त्री खालिद बिन सलमानले वासिङ्टनमा ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सलाई भेटे। उनले युवराज मोहम्मद बिन सलमानको तर्फबाट युद्ध र यसले निम्त्याउन सक्ने क्षेत्रीय सङ्कटको जोखिमबारे सन्देश हस्तान्तरण गरे।
जुलाई ३१: क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद्को बैठकमा ट्रम्पले तेहरानले दबाब सहन नसक्ने अवस्थासम्म अमेरिकाले इरानमाथि ‘निकै कडा’ प्रहार जारी राख्ने बताए।
शनिबार बिहान, अगस्ट १ : ट्रम्पले ट्रुथ सोसलमा कुनै स्पष्टीकरणबिना नै लडाकु विमानका धेरै तस्बिरहरू पोस्ट गरे।
शनिबार अबेर, अगस्ट १ : एक्सियोस र सीएनएनका अनुसार, साउदी युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग कुरा गर्दै इरानी ऊर्जा वा अन्य प्रमुख पूर्वाधारहरूमा आक्रमण गर्दा इरानले खाडीभरिका ऊर्जा सुविधाहरूमा जवाफी कारबाही गर्न सक्ने चेतावनी दिए।
शनिबार राति, अगस्ट १ : ट्रम्पले ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै नियोजित आक्रमण रद्द गरेको घोषणा गरे। इरान र अन्य क्षेत्रीय देशहरूले सम्झौताको ‘रूपरेखा’मा सहमति जुटेको भन्दै अमेरिकालाई आक्रमण रोक्न आग्रह गरेको उनले बताए।
जोखिम उत्तिकै
मिडिल इस्ट इन्स्टिच्युटका रस ह्यारिसनले इरान थप आक्रमणको धम्कीबीच वार्तामा नबस्ने बताएका छन्।
‘किनभने उनीहरूको इतिहास हेर्ने हो भने, जब-जब उनीहरूले लचकता देखाएका छन्– जस्तै गत वर्षको १२ दिने युद्धमा– वासिङ्टनले यसलाई कमजोरीको रूपमा लियो, यसको फाइदा उठायो र त्यसले थप हिंसा निम्त्यायो,’ उनले अलजजिरासँग भनेका छन्।
उनले हालको तनावलाई धैर्यको परीक्षा र इच्छाशक्तिको सङ्घर्षको संज्ञा दिए। तर उनले चेतावनी दिँदै भने, यदि यो द्वन्द्व लम्बिरह्यो भने तेहरान र वासिङ्टनका निर्णयकर्ताहरूले यसको नियन्त्रण गुमाउन सक्छन्।
इरानको कडा चेतावनीपछि आयो ट्रम्पको कदम

अमेरिकासँगको उच्च तनावबीच इरानले आफ्नो कूटनीतिक पहललाई तीव्र पारेको छ।
विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका सेना प्रमुख असीम मुनिर, टर्कीका विदेशमन्त्री हाकन फिदान र साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरी थप तनाव बढ्दा हुने जोखिमहरूबारे छलफल गरेका छन्।
यी कुराकानीका क्रममा तेहरानले अमेरिकी सैन्य कारबाहीविरुद्ध चेतावनी दिँदै आफ्नो सार्वभौमसत्ता वा राष्ट्रिय सुरक्षामाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिन तयार रहेको दोहोर्याएको छ।
यसअघि, विदेश मन्त्रालयले कडा शब्दमा जारी गरेको विज्ञप्तिमा अमेरिकाले होर्मुज स्ट्रेटमा नेभिगेसन सम्बन्धी नियमहरूको बेवास्ता गरेर युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको थियो। तेहरानले अनधिकृत मानेको मार्गबाट जहाजहरू पठाएर अमेरिकाले यस्तो गरेको इरानको भनाइ छ।
साथै, व्यापारिक जहाजहरूको प्रयोग गरी होर्मुज स्ट्रेटमा सैन्य गतिविधि लुकाएको, नयाँ प्रतिबन्ध र नौसैनिक नाकाबन्दी लगाएको, र इरानी लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेर युद्धविरामलाई कमजोर बनाएको आरोप पनि तेहरानले वासिङ्टनमाथि लगाएको छ।
मिडिल इस्ट इन्स्टिच्युटका रस ह्यारिसन भन्छन्, ट्रम्पले बारम्बार आक्रमणको धम्की दिने र फेरि पछि हट्ने गरेका कारण इरानविरुद्धको युद्धमा स्पष्ट अमेरिकी रणनीति पहिचान गर्न अझै गाह्रो छ।
ह्यारिसनले अल जजीरालाई बताएअनुसार, अराघचीले टर्की, साउदी अरब र पाकिस्तानका आफ्ना समकक्षीहरूसँग कुरा गरिरहँदा इरानले अमेरिकालाई के प्रतिबद्धता जनायो वा ट्रम्पले इरानमाथिको नियोजित आक्रमण किन रोके भन्ने कुरा बताउन धेरै हतार हुनेछ।
‘इरानी दृष्टिकोणबाट हेर्दा, मलाई लाग्छ उनीहरूले सम्भावित युद्ध विस्तारको जोखिमका कारण डोनाल्ड ट्रम्प पछि हटेको विश्वास गर्नेछन्,’ उनले भने।
उनले होर्मुज स्ट्रेट पुनः खोल्ने विषयमा अमेरिका र इरानबीच स्पष्ट सहमति नभएसम्म पछिल्लो घोषणाले वास्तविक रूपमा तनाव कम गरेको नमानिने बताए।











प्रतिक्रिया