गृह पृष्ठ

कर खरिद गरेर राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्सविरुद्ध मुद्धा दायर


१९ भाद्र २०७९, आइतबार ००:००


राजश्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर खरिद गरेर राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्सविरुद्ध मुद्धा दायर गरेको छ । विभागले भारत घर भइ हाल काठमाडौंमा व्यवसाय गरिरहेका ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

सञ्चालकसहित ट्रेडर्सका प्रोपाइटर सुमनकुमार श्रेष्ठका विरुद्ध समेत राजश्व चुहावट गरेको मुद्दा लागेको छ । यस्तै, पर्सा जिल्लाका राहुलकुमार जयसवालविरुद्ध समेत राजश्व चुहावटमा सहयोग गरेको मुद्दा लागेको विभागले जानकारी दिएको छ ।

विभागले राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्सविरुद्ध कूल ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ मागदाबी गरेको छ । जसमा मूल्य अभिवृद्धि करतर्फ हुन आउने १ करोड ७१ लाख ३१ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ मागदाबी गरिएको छ ।

उनीहरूलाई राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को उफदफा (क), (ख) र (ग) तथा हाल संशोधित दफा ४ को उपदफा (क), (ग) र (झ) बमोजिम मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार ००:००