Breaking News Post

सरकारले १०० दिनमा ५ हजार बढी पासपोर्ट र एक हजारबढी लाइसेन्स सेवाग्राहीको घरमै पुर्‍यायो


२० असार २०८३, शनिबार ००:००


२० असार, काठमाडौं । सरकारले जिल्ला हुलाक कार्यालमार्फत साढे पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा पु¥याएको छ ।

सरकार गठन भएको पहिलो सय दिनको अवधिमा जिल्ला हुलाक कार्यालमार्फत पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै पु¥याइएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा उक्त राहदानी घरदैलोमै पु¥याइएको उल्लेख छ ।

यस्तै राहदानी विभागबाट प्राप्त दुई लाख छ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ ।

सरकारले यो अवधिमा हुलाक सेवाको लागत र समय घटाउन डाँकरेखा पुनरावलोकन गरी लागू गरेका छ । जसका कारण पोखराबाट पाल्पासम्म १० दिन लाग्ने हुलाक वस्तु अब मात्र दुई दिनमा पुग्ने भएको सारांशमा दाबी गरिएको छ ।

सरकार गठन भएको सय दिनको अवधिमा सात जिल्लामा एक हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पु¥याइएको छ ।

मन्त्रालयका अनुसार कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा ती लाइसेन्सहरू सेवाग्राहीको घरमै पु¥याइएको हो ।

यातायात व्यवस्था विभागबाट प्राप्त आठ लाख आठ हजार ३१ वटा सवारी चालक अनुमतिपत्रहरू सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले उपलब्ध गराएको सारांशमा उल्लेख छ ।

सरकारले १६ असारसम्म २३ लाख ७५ हजार १८१ थान सवारी चालक अनुमतिपत्र छपाई सम्पन्न भएको पनि जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्रको लागि प्राप्त नयाँ २१ लाख सात हजार ९६८ आवेदनको हकमा यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई,’ मन्त्रालयको सारांशमा उल्लेख छ ।

मन्त्रालयका अनुसार १७ वटा अस्पतालबाट एक हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुनाहरू परीक्षणका लागि सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पु¥याइएको छ ।

सरकारले सय दिने अवधिमा त्रिभुवन विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालयसँगको सम्झौताबमोजिम २६३ थान शैक्षिक प्रमाणपत्रहरू विद्यार्थीको घरसम्म पु¥याएको छ ।

यो अवधिमा देशभरका ५० वटा हुलाक कार्यालयहरूलाई सूचना प्रविधिमा आधारित ‘स्मार्ट हुलाक’ बनाउन छनोट गरिएको छ ।

प्रकाशित : २० असार २०८३, शनिबार ००:००