गृह पृष्ठ

नगरपालिका अध्यक्षसहित ११ जना पक्राउ


२१ श्रावण २०८२, मंगलबार ००:००


काठमाडौं, तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो ।

उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति जोडिएको छ । शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेको थियो । सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए ।

काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो । सो क्रममा २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो ।

चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताए । १३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको हकमा भने यकिन ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार ००:००