नेपालमा पछिल्लो समय स्वास्थ्य संस्था पुगेर सुत्केरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । तर, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुगे पनि मातृ मृत्युदर घट्न सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखाका अनुसार आर्थिक वर्ष २०७७ असोजदेखि ०७८ चैत्रसम्म २४१ सुत्केरी र गर्भवतीको ज्यान गएको थियो । यस्तै कोभिड १९ मातृ मृत्युदर रिपोर्टअनुसार ०७५ र ०७६ को साउनदेखि ०७७ भदौसम्म मात्र २७३ जना स्वास्थ्य संस्थामा र बाहिर ५४७ जना आमाको मृत्यु भएको छ ।
उता सरकारले विगत चार वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार अर्थात् एयर लिफ्टिङ सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, दुर्गम क्षेत्रमा पूर्ण रूपमा विपन्न परिवारको पहुँचमा पुग्न सकेको छैन ।
दैलेखको पश्चिमी भागमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिका–१, सिराडीकी २४ वर्षिया पार्वती शाहीलाई हालै सुत्केरी व्यथाले च्याप्यो । लामो समयसम्म व्यथाले च्यापेपछि घरदेखि आधा घण्टा लाग्ने प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्ट्रेचरमा बोकेर उनलाई पुर्याइयो । स्वास्थ्य केन्द्रमा उनले बच्चालाई जन्म त दिइन् । तर, उनको धेरै रक्तश्राव हुन् थाल्यो । पछि उनलाई कर्णाली प्रदेश अस्पतालमा रिफर गरियो ।
स्थानीय स्वास्थ्य केन्द्रले रिफर गरेपनि कर्णाली अस्पताल पुग्न झण्डै सात घण्टा लाग्ने भएकाले स्थानीय पालिका अध्यक्ष धीरबहादुर शाहीसँग हेलिकप्टरको व्यवस्था गरिदिन समन्वय गरियो । तर उनले समन्वय गर्न सकेनन् । स्वास्थ्य केन्द्रमा एम्बुलेन्स भएपनि मर्मत नहुँदा पार्वतीका आफन्तले बल्लतल्ल गाडीको जोहो गरे । तर लैजाने क्रममा शाहीको आधा बाटोमै ज्यान गयो । दिउँसो १२ बजे बच्चा जन्माएपछि रक्तश्राव हुन थालेकोमा साँझ ५ बजे उपचार गर्न लैजाने क्रममा बाटोमा अकालमा उनको ज्यान गयो ।
यस्तै, दैलेखकै शीतला शाहीले नजिकैको प्राथमिक स्वास्थ्य चौकीमा छोरालाई जन्म दिइन् । तर जन्मने बित्तिकै नवजात शिशुको स्वास्थ्यमा गम्भीर समस्या देखियो । थप उपचारका लागि स्वास्थ्य केन्द्रले अस्पतालमा रिफर गर्यो । कर्णाली प्रदेश अस्पताल पु¥याउँदै गर्दा बर्खा समयमा बाटो बिग्रिएकाले गाडी अगाडि जान सकेन, शिशुको बाटोमै मृत्यु भयो ।
यी त केही प्रतिनिधि उदाहरण हुन् । सरकारले एयर लिफ्टिङ सेवा सुरु गरेपछि पनि करिब ८ सय सुत्केरी तथा गर्भवती महिलाको ज्यान गएको छ । दुर्गम क्षेत्रका विपन्न परिवारको पहुँचमा पूर्णमा रूपमा यो सेवा पुग्न सकेको छैन ।
संघ, प्रदेश र स्थानीय तहको समन्वय नहुँदा सेवामा समस्या भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । राष्ट्रपति कार्यक्रम अन्तर्गत एयर लिफ्टिङ सेवा भए पनि दूरदराजका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । सबैमा एयर लिफ्टिङ सेवा लिने पहुँच नपुगेकाले यसलाई दीर्घकालीन सेवाको रूपमा नलिएर अल्पकालीन रूपमा सम्बन्धित निकायले लिनुपर्ने मिड्वाइफ एशोसिएसनकी अध्यक्ष डा. लक्ष्मी तामाङ बताउँछिन् ।
गर्भवती तथा सुत्केरीको मृत्यु किन ?
विश्वमा सुत्केरी मृत्यु हुनुको मुख्य कारणमध्ये चिकित्सा र सामाजिक, आर्थिकसँग सम्बन्धित रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । डा. तामाङका अनुसार सुत्केरी व्यथा लामो समयसम्म लागेपछि बच्चा जन्माउन समस्या हुन्छ । स्वास्थ्य संस्थामा लैजाने निर्णय गर्न ढिलाइ गर्दा गर्भवती तथा सुत्केरीको ज्यान जाने गरेको छ ।
यस्तै, स्वास्थ्य संस्था वा वर्थिङ सेन्टरमा गर्भवती पुगिसकेपछि पनि स्वास्थ्यकर्मीले रिफरका लागि सल्लाह दिँदा समेत परिवारबाट आर्थिक तथा सामाजिक कारण देखाउँदै अस्पताल पुर्याउन ढिलाइ हुन्छ । घरबाट स्वास्थ्य संस्था पुगिसकेपछि पनि सेवा दिन ढिलाइ गरिदिँदा पनि ज्यान जाने गरेको डा. तामाङ बताउँछिन् ।
पहिलो गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्था पुर्याउन ढिलाइ गर्ने कुरा चेतनासँग सम्बन्धित छ । ‘कति गर्भवती महिला सुत्केरी व्यथा लागेपछि घरमै बच्चा जन्मिन्छ भन्दै ढिलाइ गर्दै बस्ने अलि गाह्रो भएपछि बल्ल स्वास्थ्य संस्था जान्छन् । र, कतिपयले बाटोमै जन्माउँछन्,’ उनी भन्छिन्, ‘यहीँ बच्चा जन्मन्छ भन्ने किन अस्पताल लाने भनेर कुरेर बस्दा समेत ज्यान जाने गर्छ ।’
दुर्गम भेगमा धेरैजसो १८ महिने तालिम लिएका अहेव, सीएमए हुन्छन् । यसरी दूरदराजमा सक्षम स्वास्थ्यकर्मीको अभाव हुँदा, कतिबेला रिफर गर्ने अवस्था थाहा नपाउँदा पनि समस्या आउने गरेको डा तामाङको भनाइ छ । उनका अनुसार गर्भवती तथा सुत्केरीलाई अस्पताल रिफर गर्नुपर्छ भन्दा उसको श्रीमान् घर छैन, ससुरालाई सोध्नुपर्छ भन्दै धेरै समय बरवाद हुन्छ । दुर्गमतिर आमाहरूको उद्धारमै ढिलाइ हुन्छ, अनि ज्यान जाने गरेको छ ।
एयर लिफ्टिङ सेवा कति प्रभावकारी ?
सरकारले एयर लिफ्टिङ सेवा सडक सुविधाको पहुँच नपुगेका तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका जिल्लाहरूमा अभियानकै रूपमा सञ्चालन गरेपनि यसलाई दीर्घकालीन सेवाको रूपमा लिन नहुने जनस्वास्थ्यविद्हरु बताउँछन् । प्राकृतिक रूपमा सुत्केरी हुन समस्या भएका वा गर्भवती तथा सुत्केरीको सरकारले उद्धार गरेको छ । तर, सबैको ज्यान जोगाउन सकिएको छैन । उद्धारलाई मात्रै प्राथमिकता दिनु दीर्घकालीन समाधानको उपाय नभएको डा. तामाङको भनाइ छ ।
हेलिकोप्टरबाट उद्धार हुँदा तीन वर्षमा ३ सय ६० आमाको ज्यान जोगिएको छ । तर जानकारी र पहुँचको अभावमा यही अवधिमा ७ सय ८९ को मृत्यु भएको छ ।
दुर्गम भेगमा पनि दक्ष जनशक्ति मिड्वाइफ, नर्स तथा चिकित्सकहरु खटाउनुका साथै प्रसूति रोग विशेषज्ञ जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म अनमी लेवलबाट काम भइरहको छ, उहाँहरुले खटेर गर्नु भएको छ ।’ डा. तामाङ भन्छिन्, ‘अब उहाँहरुको लेबलले गर्भवती मृत्यु दर घटाउन सकिँदैन, दक्ष जनशक्तिको आवश्यकता पर्छ ।’
नेपाल सरकारले सन् २०३० सम्ममा प्रमाण पत्र तहको १० हजार मिड्वाइफ उत्पादन गर्ने लक्ष्य राखेको छ । तर कार्यान्वयन गर्न तदारुकता देखाइएको छैन । डा. तामाङ भन्छिन्, सरकारले झारो टार्ने काम मात्रै गरिरहेको छ । औजार, उपकरण, स्वास्थ्य चौकी अनि हवाइ उद्धार कार्यक्रम मात्रैले पुग्दैन ।
सुत्केरी महिलालाई पाँच हजार
पछिल्लो समय सरकारले दुर्गम भेगका सुत्केरी महिलालाई पाँच हजार दिने घोषणा गरेको छ । पोषणका लागि पाँच हजार उपलब्ध गराउनु भन्दा पनि दक्ष जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्था गर्नतर्फ लागेको भएका धेरै महिलाहरुको ज्यान जोगिने डा. तामाङको ठहर छ ।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० मा मातृ मृत्युदर प्रति लाख ७० मा झार्ने लक्ष्य राखिएको छ । सोही अनुसार गर्भवती र सुत्केरी उद्धारका लागि एयर लिफ्टिङलाई प्राथमिकता राखेमा आगामी एक दशक सम्ममा पनि लक्ष्य प्राप्ती गर्न गाह्रो हुने स्वास्थ्य विभागका एक स्वास्थ्यकर्मी बताउँछन् ।
नेपालमा असुरक्षित गर्भपतन, कलिलो उमेरमा गर्भधारण लगायत सुत्केरी जटिलताका कारण मृत्युदर घट्न समय लाग्ने स्वास्थ्य विभाग परिवार कल्याण महाशाखा अन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेल बताउँछिन् ।
देशैभरि दुई हजार बढी बर्थिङ सेन्टर छन् भने सबै सेन्टरमा एक जना नर्सिङ स्टाफ रहेको शाखाले जनाएको छ । गर्भवती तथा सुत्केरीको ज्यान जोगाउन सबै स्थानीय तहमा पर्याप्त जनशक्ति नरहेको सरकारी अधिकारीहरु स्वीकार्छन् । सुरक्षित प्रसूति सेवा प्रत्येक आमाको अधिकार हो तर कार्यान्वयनमा छैन ।
अधिक रक्तश्रावका कारण मृत्यु
धेरै आमाहरूको सुत्केरी हुनुभन्दा अघि वा पछि रक्तश्रावका कारण मृत्यु हुने गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार सुत्केरी गर्भवती ज्यान जाने कारणमध्ये प्रसूतिको २४ घण्टाभित्र अधिक रक्तश्राव रहेको छ ।
घरमै सुत्केरी हुँदा धेरै रक्तश्राव हुने समस्या आउन सक्छ । ‘घरमै सुत्केरी हुँदा पाठेघरको मुख बन्द हुने औषधि उनीहरुले सेवन गर्दैनन्,’ डा सुवेदी भन्छन्, ‘बच्चा जन्मिसकेपछि पाठेघरको मुख बन्द भएन भने एकोहोरो रगत गइरहन्छ । त्यस्तो अवस्थामा तत्काल उपचार भएन भने सुत्केरीको ज्यान जान सक्छ ।’
दक्ष प्रसूतिकर्मी सुत्केरी बेलामा मात्रै नभएर जव व्यथाले च्याप्दै जान्छ, ४ सेन्टीमिटर पाठेघरको मुख खुलिसकेपछि एक जना नर्स वा मिड्वाइफले वान टु वान अर्थात् एक जना गर्भवतीलाई एक जना स्वास्थ्यकर्मीले हेरचाह गर्नुपर्छ ।
डा. तामाङले सुत्केरी स्वास्थ्यकर्मीको निगरानीमा नभएमा स्वास्थ्यमा धेरै जटिलता आउन सक्ने बताउँछिन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा उनीहरुलाई तातो खान दिइन्छ, हिँड्डुल गर्न लगाइन्छ । तर, कतिपय स्वास्थ्य संस्थाले व्यथा लागेको महिलालाई उत्तानो परेर सुत्न लगाउँछन् अनि अनावश्यक रूपमा व्यथा लगाउन रूपमा औषधि दिन्छन्,’ तामाङ भन्छिन्, ‘व्यथा लागेका महिला आत्तिनु स्वाभाविक हो तर, डाक्टर अन्य स्वास्थ्यकर्मीले सिधै व्यथा लाग्ने औषधि दिने गर्छन् । त्यस्तो अवस्थामा अप्राकृतिक रूपमा औषधि मार्फत व्यथा लगाएपछि पाठेघर धेरै खुम्चने, खुल्ने हुँदा समस्या हुन्छ ।’
अनावश्यक औषधि दिदा बच्चालाई पनि सास फर्ने गाह्रो हुन्छ, निसासिन्छ, त्यसपछि हतार हतार अप्रेशन गर्नुपर्ने हुन्छ । यस्तोमा त्यो बच्चा जन्माइ सकेपछि महिलाको पाठेघर बढी नै खुम्चिसकेकाले खुल्ला हुने गर्छ । त्यस्तो अवस्थामा बढी रगत बग्न सक्न डा तामाङको भनाइ छ ।
प्राविधिकदेखि मनोसामाजिक पक्षलाई ननियाल्दासम्म मातृ मृत्युदर घटाउन त्यति सजिलो नहुने डा. तामाङ बताउँछिन् । व्यथा लागेका महिलालाई एकदमै नजिकबाट सेवा दिनुपर्ने हुन्छ । तर यहाँ त एक जना नर्सले ८÷९ जना सम्मलाई हेर्नुपर्ने हुन्छ । त्यसैले, हवाई उद्धार भन्दा सुत्केरी गराउने दक्ष जनशक्ति उत्पादन नै मातृ मृत्युदर रोक्ने दीर्घकालीन उपाय हो ।











प्रतिक्रिया