गोरखा, गोरखामा एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन्। कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका( २ ९साबिक दैजी गाविस ५० घर भई हाल प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहिन भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
‘घरबिदामा गएर हाजिरमा फर्केको प्रहरी कार्य क्षेत्रमा जाँदाजाँदै सम्पर्कबिहिन भयो’, प्रहरी उपरीक्षक शेखर खनालले भने, ‘सम्पर्कविहिन भएकोबारे हामीले नै चार दिनपछि थाहा पायौँ।’ अहिले खोजी कार्य भइरहेको उनले बताए।
५२ कोस टाढा रहेको सामागाउँ पुग्न गोरखा सदरमुकामबाट एकदिन मोटरबाट र चार दिन पैदल हिड्नुपर्छ। असार एकगते बिहान उनलाई साथीहरुले धार्चे गाउँपालिका(३ तातोपानीसम्म पुर्याएर फर्किएका थिए।
‘बहिनीको बिहे भनेर बिदामा आएका रहेछन्। बिदा सकेर हाजिर हुनका लागि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क नगरी कार्यक्षेत्र गएका रहेछन्’, एसपी खनालले भने, ‘साथीहरुले तातोपानीसम्म पुर्याएर फर्किएको भन्ने जानकारी आयो, तर त्योभन्दा माथिको बाटैमा पर्ने जगत प्रहरी चौकीको सम्पर्कमा पनि छैनन्, सिर्दिबास चौकी, नाम्रुङ चौकीमा पनि सम्पर्कमा छैनन्। यत्तिका दिन भइसक्यो, घरमा पनि सम्पर्कमा छैनन्।’
अत्याधिक बर्षादका कारण सो दिनमा सो क्षेत्रमा विभिन्न ठाउँमा बाढी पहिरो गएको थियो। बाढी पहिरोले तातोपानीभन्दा पारि, हुल्चुक दोभान, यारु, सल्लेरी, हावाडाँडा लगायतका क्षेत्रका बाटो हिड्नै नसक्ने गरी पहिरिएको थियो।
सोही बाढीले सल्लेरीको ६ घर बगाएको थियो। त्यस दिनमा अवरुद्ध भएको बाटो अहिलेसम्म पनि सुचारु हुन सकेको छैन। ११ वर्षअघि प्रहरी सेवामा भर्ना भई कार्यरत कुँबर गत चैतदेखि प्रहरी चौकी सामागाउँमा गत चैतदेखि सेवारत थिए।
घटना रहस्यमय नै रहेको एसपी खनालले बताए। ‘जे पनि हुन सक्ने देखिन्छ’, एसपी खनालले भने, ‘भागेर कतै लुकिरहेको पनि हुनसक्छ अथवा बाढी पहिरोमा परेको पनि हुनसक्छ।’ उनको खोजबिन तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले इलाका प्रहरी कार्यालय आरुघाटमा कार्यरत प्रहरी निरीक्षक संयोजक रहेको खोजबिन तथा छानबिन समिति गठन गरी काम गरिरहेको एसपी खनालले जानकारी दिए।











प्रतिक्रिया