Breaking News Post

रसुवाकाे बाढीमा परेर ६ चिनियाँ नागरिक सहित १८ जना बेपत्ता


२४ असार २०८२, मंगलबार ००:००


नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक रहेका छन् ।

त्यस्तै बर्दिया स्थायी घर भएका जिवन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक,कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए । ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाएको छ ।

बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए।

प्रकाशित : २४ असार २०८२, मंगलबार ००:००