गृह पृष्ठ

कुलिङ पिरियडको छानबिन समितिको पहिलो बैठक बस्याे


२४ असार २०८२, मंगलबार ००:००


काठमाडौं, संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको पहिलो बैठक बसेको छ ।सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरेका थिए । उक्त समितिलाई २१ दिनको कार्यअवधि दिइएको छ ।

सोही अनुसार आज समितिको पहिलो बैठक बसेको हो । समितिले प्रतिवेदन तयार गरेर गडबडीबारे रिपोर्ट संसद्लाई बुझाउनेगरी आजैबाट काम थालेको हो । समितिको संयोजक नेपाली कांग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियार तोकिएका छन् ।

सभामुख घिमिरेका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

समितिको प्रतिवेदनमा गडबडी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानून बमोजिम कारबाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएको थियो । सत्ता पक्ष र विपक्ष दुवै दल विधेयकमा चलखेल भएको निष्कर्षमा पुगेपछि छानविन समिति गठन गरिएको हो ।

प्रकाशित : २४ असार २०८२, मंगलबार ००:००