मुख्य खवर

डिभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट


२७ जेष्ठ २०८२, सोमबार ००:००


काठमाडौं, अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभर्सिटी भिसा (डिभी) मा त्यहाँ गएका व्यक्ति रहेको खुलेको छ । अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डिभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए ।

एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो ।

त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो । काठमाडौं आएपछि उनीसँग मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरुले समेत संक्षिप्त सोधपुछ गरेका थिए ।

तर डिभी परेर गएको भनेपछि हाम्रो धेरै सरोकारको केश भएन’, एक अधिकारीले भने, ‘सामान्य विवरण टिपेर पठाइदिएका थियौं । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना काठमाडौं आएका थिए ।

तीमध्ये ५ जना महिला थिए । उनीहरुलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो ।

‘राति प्रहरीले उहाँहरुसँग सामान्य सोधपुछ गरेर प्रहरीले सबैलाई छाडेको छ’, रिजालले अनलाइन्खबरसँग भने । प्रहरीले उनीहरुसँग अवैध बाटोबाट अमेरिका पठाउने मानिसहरुबारे जानकारी लिन खोजेको थियो । तर, उनीहरुले प्रहरीसँग त्यति समन्वय नगरेको अधिकारीहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् । उनीहरुले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो ।

अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

प्रकाशित : २७ जेष्ठ २०८२, सोमबार ००:००