काठमाण्डाैँ, महाभारतमा एक चर्चित पात्र थिए एकलब्य । उनी कुनै औपचारिक शिक्षा बिना नै त्यो युगको सर्वश्रेष्ठ धनुर्धर बनेका थिए । यहाँ हामीले चर्चा गर्न खोजिएको कथा वर्तमान समयका एकलब्यको हो । उनी हुन् मोरङका गायत्री कुलुङ । उनको कथा एकलब्यको भन्दा खासै पृथक छैन । गायत्री कुलुङको जन्म वि. सं. २०५३ साल जेष्ठ १० गते बुवा महिन्द्र कुमार राई र आमा धनहीरा राईको कोखबाट कान्छो सन्तानको रूपमा मोरङ जिल्लाको साबिक जाते गाविस वडा नं.०३, साम्लिङ, हालः मिक्लाजुङ गाउँपालिका वडा नं.०५ मा भएको हो । बि.सं. २०३६ सालमा हजुरबुवा डम्बर बहादुर राई,बुवा महिन्द्र कुमार राईसँगै स-परिवार सोलुखुम्बु जिल्लाको साबिक छेस्काम गाबिस वडा नं. ८ हाल महाकुलुङ गाउँपालिका वडा नं.०३ बाट भाेजपुर,धरान हुँदै मोरङ बसाइँ झरेका थिए । गायत्रीका पाँच दिदीबहिनी र दुई दाजुभाई रहेका छन् । उनी जन्मिएको बखतको घडीपला हेर्दा उनको नाम ‘गा’अक्षरबाट भेटिएकोले उनको नाम गायत्री रहन गएको हो । विद्यालयमा उनको नाम गायत्री बहादुर राई थियो । उनलाई त्यो नाम लामो लाग्यो । ८ कक्षामा गायत्रीले आफ्नो नामलाई छोट्याएर औपचारिक रुपमै गायत्री कुलुङ मात्र राखेका थिए ।
सामान्य किसान परिवारमा जन्मेका गायत्रीको बुवाले सिकर्मीको काम गर्नुहुन्थ्यो र आमा धनहीरा गृहणीको रुपमा काम गर्नुहुन्थ्यो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले दिनभरि काम नगरी साँझ विहान छाक टार्न समेत उनको परिवारमा मुस्किल थियो । नाम गायत्री तर उनलाई सानैदेखि अक्षरहरु खासै मन पर्दैनथे । बरु, विभिन्न खालका चित्रहरु मन पर्थे । र,उनले खोजीखोजी चित्र भएका किताब हेर्थे, त्यहि किताब भित्रको चित्र हेर्दै माटोका मूर्ति खाल-खालको बनाउँने गर्थे । गोठालो जादा प्रायः उनले गणेश र शिवजीका मूर्ति बनाउथे । भीरको खोपीमा राखेर घर फर्कन्थे, पछि जादा मुर्ति भेटिदैनथे । गोठालो गएका महिला साथीहरुले ती मूर्ति पूजा गर्न लगिसकेका हुन्थे ।
गायत्रीका हजुरबुवाले गाउँमा शिवालय मन्दिर स्थापना गरेका थिए । मन्दिरका लागि ढुंगाको मूर्ति लिन हजुरबुवा शहर जानुहुन्थ्यो, एकदिन गायत्रीले हजुरबुवालाई भने : अव तपाई मूर्ति लिन शहर जानु पर्दैन मै बनाईदिन्छु । हजुरबुवाले जवाफमा भन्नुभयो लु साच्चै सरस्वतीको मूर्ति बनाउछस भने एक हजार रुपैयाँ पुरस्कार दिन्छु, यो मेरो वाचा भयो । गायत्रीका बुवाले सिकर्मीको काम गर्थे, फर्निचरहरु बनाउथे । र,बेलाबखत नाम्लो पनि बुन्थे । बटाली, रामु, रन्दा र हुप्सियो सामानहरु जतन गरी राख्थे । गायत्रीको घर नजिकै नक्कले खोला थियो । बर्खामा भेल उर्लेर आउँथ्यो त हिउँदमा पानी भेट्टाउनै मुस्किल हुन्थ्यो । एकदिन उनी सरस्वतीको चित्र र बुवाका औजारहरु लिएर सुटुक्क खोलातिर लागे । र, दिनभरी सरस्वतीको मूर्ति बनाए । किनकि, उनले जित्नु थियो हजुरबुबाको एक हजारको नोट, अनि जित्नु थियो जिन्दगीले संघालेका सुन्दर सपनाका गहिराईहरु । उनी साँझ अबेर फर्किए, फर्किदा हुप्सियो हराएका थिए । त्यसपछि, डरले उनी घर जान सकेनन् । गोठमा लुकेर बसे, गाउँमा त्यो समय भुरा चोरको बिगबिगी थियो । राति ९ः३० बजेसम्म छोरा घर नफर्किएपछि आमा आत्तिईन । उनको खोजी कार्य शुरु भयो । उनको नाम लिएर मान्छेहरुले खोज्न थाले, उनी त्यसपछि परालबाट फुत्त बाहिर निस्किए । बुवाले किन लुकेको भन्दै केरकार गर्न थाले । उनले भने : हुप्सियो नै हरायो । यति भनेपछि बुवाले हराउनुको कारण बुझे । र, थप केरकार गरेनन् । त्यसपछि उनी ढुक्क भए । ३ दिनमा सरस्वतीको मूर्ति बनाएर हजुरबालाई दिएका थिए हजुरबा दंग पर्नुभयो । खुशी हुदै हजुरबुवाले उनलाई एक हजार रुपैया पुरस्कार दिए । त्यहि हजारको नोट गायत्रीको लागि ठुलो नोटमात्र थिएन, उनको जीवनकै एक सुन्दर रंगिन सपना साकार थियो । प्रत्येक दिन विद्यालयबाट फर्केपछि गायत्रीले नियमित रुपमा मूर्ति बनाउन थाले । मूर्तिको माग पनि बढ्दै गयो । उनी पढाईमा कम र मूर्तिकलामा अली बढी व्यस्त हुन थाले । गाउँकै प्राथमिक विद्यालयमा कखरा सिकेका उनले सरस्वती प्राविबाट ५ कक्षासम्म र जाँते उच्च माविबाट प्लस टुसम्म पढेका थिए । प्लस टुमा उनलाई एक विषय लाग्यो, त्यसपछि पढाई थाँती राख्दै ८० हजार रुपैयाँ तिरेर वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका थिए । गायत्रीको जिन्दगी सोचेजस्तो विदेशमा पनि सरल रेखामा अगाडि बढेन । न भनेजस्तो काम ? न त पारिश्रमिक नै..? जोखिमपूर्ण काम तातो हावामा हेल्मेट लगाएर काम गर्नुपर्थ्यो । बल्लतल्ल महिना बित्यो जम्मा मासिक तलव २५ हजार रुपैया । उनले मनमनै सोचे यो भन्दा राम्रो कमाई त नेपालमा मूर्ति बनाएरै कमाउन सक्छु होला, नभन्दै उनी ११ महिनामै स्वदेश आफ्नो घर फर्किए ।
घर फर्किएपछि गायत्रीले सोलुखुम्बु जिल्लाको महाकुलुङ ०३, छेम्सी खार्दोको सोनिया कुलुङसँग विवाह गरेका थिए । एक जनाबाट दुईजना भए । एक वर्षपछि छोरा साहिल कुलुङ पनि जन्मियो, जिम्मेवारी थपिदै गयो, व्यवहारले च्याप्दै गयो । उनले मूर्तिकला बाहेक जानेको अरु केही थिएन । उनले मूर्तिकलामै पसिना बगाउन थाले, मुर्तिलाई खोप्दै-खोप्दै जुन गहिराईसम्म पुर्यायो त्यहि गहिराईसँगै आफ्नो सफल जिन्दगीको सुन्दर प्रतिबिम्ब देख्न थाले । दशैंमा दुर्गाको मूर्तिको माग आउन थाल्यो । उनले एउटा मूर्ति बनाएको ३ हजार रुपैया लिने गर्थे । कहिलेकाहि ३/४ वटा समेत मूर्तिको अर्डर आउँन थाले । त्यसपछि उनलेे व्यवसायीक रुपमै अगाडि बढ्न निधो गरे । र,जी.के.मूर्तिकला केन्द्र नामको व्यवसायीक कम्पनी दर्ता गरी उनी अगाडि बढे ।
साइनोले मामा पर्ने दिवाकर कोईरालाले गायत्रीलाई ईलामको कुटीडाँडा मन्दिरस्थित सानो पाथिभरा भनिने ठाउँमा काम दिएका थिए । उनले त्यहाँ दुईवटा शिवलिंग, गणेश र साढेको मूर्ति बनाएका थिए । र, एक लाख ४० हजार पारिश्रमिक समेत पाएका थिए । यो जीवनको सबैभन्दा ठूलो पारिश्रमिकको रुपमा गायत्रीले सम्झने गर्दछन् । मूर्तिकलामा उनले बिस्तारै फड्को मार्दै थियो । आय-आर्जनको हिसाबले पनि राम्रो हुँदै,आफ्नो क्षेत्रमा ख्याति कमाउदै थियो । अचानक, उनी एउटा मुद्दामा जेल परे, गायत्री भन्छन् कहिलेकाहि नखाएको बिष पनि लाग्दो रहेछ । उनी १३ महिनापछि थुनामुक्त भए । १३ महिनासम्म थुनामा बस्दा सबै व्यवसाय चौपट भईसकेको थियो । अगाडि सम्झौता भईसकेको काम, न त हुन पायो ? न त काम पूरा गरिदिएको विभिन्न ठाउँहरुबाट भुक्तानी नै पाए । मोरङको बेलवारीबाट उनी अलि तलतिर लालभित्ति झरे । त्यहाँ उनले सटर भाडामा लिएर मूर्तिकलाको काम थाले त्यसपछि करिब ३/४ महिना जति काम गरे । तर, उनलाई खर्च धान्नै साह्रै मुस्किल भयो । त्यहिबेला सेसेल्सबाट महेन्द्र भट्टराईले उनलाई निजी कम्पनीमा मूर्ति बनाउने कामको अफर सुनाए । कम्पनीले उनको काम हेर्यो र भिडिओ कलमा अन्तर्वार्ता लियो, धेरैजना मध्ये उनी छानिए । र, सन् २०२२ को अक्टूबर गायत्री सेसेल्स पुगे ।
सेसेल्स स-साना टापुहरुको देश हो । ११५ वटा टापु । तीन टापुमा मात्र मानव वस्ती रहेको छ । एक लाख ३० हजार मात्र जनसंख्या रहेको छ । त्यहाँको अर्थतन्त्र पर्यटनमा अडेको छ । फ्रान्स, जर्मनी र रुसी नागरिकको एक सुन्दर पर्यटकीय गन्तव्य हो सेसेल्स । सेसेल्समा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल माहेमा रहेको छ । गायत्रीको बसाइँ हाल त्यहि माहेमा रहेको छ ।
विगत ३ वर्षदेखि उनी पर्यटकका लागि सेसेल्स माहेमा सुन्दर उपहार बनाउदै आएका छन् । उनले विशेषत: काठ, माटो, बाँसको जरा र ढुंगाका मूर्तिहरु बनाउछन् । माछा, कछुवा, अक्टोपस, हात्ती, सिंह, बाज र चराका मूर्तिको माग बढीजसो रहेको छ । उनी पर्यटकको रोजाई अनुसार मूर्तिहरु बनाउछन् । छिना, हथौडामा अभ्यस्त भईसकेका उनी एक दिनमा दुई वटा कछुवाको मूर्ति बनाउन भ्याउछन् । एउटै मूर्ति ३ सयदेखि ५ सय डलरमा बिक्री हुने गरेको उनी बताउँछन् । उनको शुरुवाती पारिश्रमिक ५ सय डलर थियो ।कामप्रतिको उनको लगावका कारण तीन वर्षमा पारिश्रमिक दोब्बर भएको छ । बाध्यता र परिस्थितिले डोर्याएर सेसेल्स पुगेपनि उनको मन भने नेपालमै रहेको छ । र, जति सक्दो चाँडै नेपाल फर्किने सोचमा छन् उनी । जहाँ श्रीमती सोनिया र छोरा साहिल छन् । र, छ सानो सुखी परिवार…. ।
नेपालमा उनले गणेश, शिव, सरस्वती र दुर्गाका दर्जनौ मूर्ति बनाए । उनले मोरङकाे भाउन्नेस्थित चौलागाईं प्रतिस्ठानमा भारद्वज ऋषिको साढे ५ फिटको मूर्ति बनाएको थियो । सोबापत रू. २ लाख पारिश्रमिक लिएको गायत्री कुलुङ बताउँछन् । जुन मुर्ति सबैभन्दा अग्लो मुर्तिको रुपमा समेत मानिन्छ । सेसेल्समा पनि गायत्रीको कर्म उही । दिनचर्या उही । बस्,फेरिएको छ मुर्तिको असंख्य मागहरु । समुन्द्रले घेरिएको टापुमा माछाको व्यापारले बजार प्रशस्त पाएको छ । त्यसैले त उनी काठ र ढुंगालाई माछाको आकृतिमा ढाल्न अहोरात्र व्यस्त छन् ।
उनी हिरो बन्ने सपनासंगै गाउँमा हुर्किए । सानो छदा ऐनामा हेरेर अभिनय गर्ने गर्थे । धेरै कोस टाढा थियो मोरङको जातेँबाट त्यो फिल्मीनगरी राजधानी काठमाडौं । उनले बाल्यकालमै बालबालिकालाई लिएर ‘बाँसका मुना’ नाटक लेखे । र, गाँउमा प्रदर्शन समेत गरेका थिए । अभिनयको रहरले थानकोट काट्न नसकेपछि उनी मूर्तिकला तिर लागे । ढुंगालाई आकार दिएर मूर्ति बनाए, मूर्तिले अहिले गायत्रीको जीवनलाई रंगिन बनाईदिएकाे छ । सिकर्मी बुवाको बटाली, कचक, छिनो, हथौडा चोरेर मूर्तिकला सिकेका गायत्री यतिबेला सेसेल्समा ग्रेन्डर, सानो डाई ग्रेन्डर, डाईमन चलाउछन् । भूगोल परिवर्तन भएपनि पेशा उही छ । स्वरुप परिवर्तन भएपनि औजारको काम उही छ ।

उनी ढुंगामाथि छिना चलाई रहन्छन् । ढुंगालाई झै उनलाई पनि दुख्न छाडिसक्यो । उनको जीवन पनि मूर्ति झै थुप्रै हण्डर ठक्कर र चोटहरुले भरिपुर्ण छ । जसरी सयौं चोट नखाई ढुंगाहरु सुन्दर मुर्ति बन्दैन, त्यस्तै हजारौं पीडा र चोटहरुले भरिएको मान्छेको जिन्दगी नै सुन्दर र बलियो हुन्छन् । भन्ने गरिन्छ : मूर्तिकार भनेको ढुंगामा कविता लेख्ने कवि हो । गायत्री त साच्चिकै कवि हृदयको मान्छे पनि हुन् । अक्षरहरुलाई उनेर बनाउछन् सुन्दर कविता । ढुंगालाई कुँदेर बनाउछन् सुन्दर मूर्ति । कविता र मूर्ति उनका जीवनका एक सिक्काका दुई पाटा हुन् ।
गैर आवासीय नेपाली संघ सेसेल्सले गतवर्ष दशैंमा आयोजना गरेको सेसेल्स स्तरीय कविता प्रतियोगतामा २३ वटा कवितामध्ये उनको कविता उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो । पुरस्कार वापत ७ सय सेसेल्स रुपी अर्थात नेपाली ७ हजार रुपैया प्राप्त गरेका थिए । कवि हृदयलाई मूर्तिकारले ओझेलमा पार्न नसकेको उदाहरणको रुपमा मान्न सकिन्छ गायत्रीलाई । छिना चलाउन कठोर हृदय चाहिन्छ । तर, कोमल हृदय नभएको मान्छे न कवि हुन सक्छ । न त मूर्तिकार नै ? हो, उनीभित्र कठोरता पनि छ । र, कोमलता पनि । मूर्तिकला पनि त मौन कविताको रुपमा नै मानिन्छ ।
एउटा सपनाको अन्त्यले जीवनको अन्त्य हुँदैन भन्ने एक उदाहरणिय व्यक्तिको रुपमा गायत्रीलाई मान्न सकिन्छ । बरु, नयाँ सपनाको जन्म हुन्छ । र, शुरु हुन्छ नयाँ शिराबाट सुन्दर जिन्दगीको यात्रा । बस्, ईच्छाशक्ति हुनु पर्छ । ढुगै-ढुंगाको कापहरु फोरेर पनि हजारौं पिपलका सुन्दर मुनाहरु उम्रिन सक्छन् । त्यहि कलिलाे मुना हुन् गायत्री । कलियुगका एकलव्य हुन् गायत्री जो औपचारिक शिक्षा बिना मूर्तिकार बने । र, आफ्नो मूर्तिकला मार्फत सबैको मन जित्न सफल बने । फरक यत्ति हो वास्तविक एकलव्यले जस्तो उनले गुरुलाई दक्षिणाको रुपमा बुढी औंला चढाउनु परेन । बस् गायत्रीका तपस्या र संघर्ष कथा एकलव्यको भन्दा कम छैन ।





























प्रतिक्रिया