ब्लग / विचार

राजेन्द्र केरुङको म परदेशबाट फर्कदा


३० आश्विन २०७७, शुक्रबार ००:००


  • म परदेशबाट फर्कदा
    ✍️ राजेन्द्र केरुङ

धेरै बर्षपछी
म परदेशबाट फर्किदाको क्षण
साच्चिकै पुलकित थिए
अझ भन्ने हो भने
त्यतिकै उत्साहित पनि
तर मनको एक कुनामा
डेरा बसालेका थिए
डर,लाज र ग्लानीले
किनकी!
म सँग थिएन डोरीले कस्सिएका
ठुल्ठुला शुटकेस
जहाँ बा-आमालाई परदेशको
महँगा-महँगा कपडा होओस
भाइ बहिनिलाई खेल्ने बार्बी डल होवोस
हिराका हार,सुनका गहना
साथमा हात्तिका बिटा
अह! म सँग थिएन यी चिजहरु।

श्रद्वाले शिर निहुराए
ती बृद्व-बृद्वा बा-आमाका पाउमा
धेरै बर्षपछि एकपटक फेरि
मेरा भगवानहरुको शरणमा आईपुगे
संसार जित्न निस्केको म
आफैं पराजित भएर
भाग्यको कठघरामा उभिए
कर्मको बयान दिनलाई
कति कमाईस ठुले?
तीखो बाण हानेझै भो
जब बा बोले
मुटुमा धारिलो छुरा रोपियो
लाजले नजर झुक्यो
भने बा! परदेश साच्चिकै परदेश रहेछ
सबै सबै पाँए
तर कहिल्यै भेट्टाउन सकिन
पैसा फल्ने रुख
धेरै कमाएर आँए बा तर
पैसा कमाउन सकिन
पसिनाको सागरमा पौडिन सिके
दु:ख सँग मितेरी गाँस्न सिके
अभावमा हाँस्न सिके
संघर्ष र परिश्रमलाई
अंगालो हाले
धेरै कमाए बा! तर पैसा कमाउन सकिन
यति भनिसक्दा
बा ! को मुहारमा अँध्यारो छायो
चट्याङ र आधिहुरी एकसाथ बज्रीयो
सायद! त्यस्तो जवाफ चाहेका थिएनन होला
जसरी मैले बयान दिए
यस्पाली
बर्खामा घरको छानो फेर्ने
सपना थियो होला
हिउँदमा लागेको अन्नेब्याजी
तिर्ने भाका राखेका थिए होलान
आमालाई एकसरो ढाकाको सारी-चोलो
फेरिदिने कबुल गरेका थिए होलान
सायद ती सबै-सबै सपनाहरुमाथी
चट्याङ पर्यो क्यारे
बा! नराम्ररी दु:खि बने
जति बा निराश बने
त्यो भन्दा बढी म आफैं जलिरहे

परदेशबाट कमाएरै
कोक्माहिम काईलाले
टिनको छानो टल्काएकै हो
सिराने ठुलेले मधेसमा
जग्गा जोडेकै हो
बरबोटेको छोराले पनि
शहरमा बिल्डिङ ठड्यायो रे
यी सबै-सबै सुने र देखेका मेरा बा! लाई
किन रहर नलाग्दो हो र?
बिचरा उनको के दोष ?
यता मेरो पनि सपना
कम राम्रा छन र?
विशाल महल,जहाँ सिंगमरमर
टल्किएको होस
स्विमिङ गरेर गार्डेनमा
घाम ताप्दै चुस्की लिन पाईयोस
ल्याण्डक्रुजर पार्किङमा
हाँसिरहेको होवोस
तर खोइ कुन्नी किन हो
आज युद्व गर्न तम्सिएका छन
बा र मेरा सपनाहरु
पैसाले, ओछ्यान किन्न सकिएला
तर निन्द्रा किन्न सकिन्न
भोजन किन्न सकिन्छ
तर भोक किन्न सकिन्न
पोषाक किन्न सकिन्छ
तर इज्जत किन्न सकिन्न
भन्दै बयान दिईरहन्छु
न्यायाधीसको अघि
कठघरामा उभिएर
अभियुक्तले दिएजस्तै
अकुत सम्पत्तिको पछि
कालो धन्दा हुन्छ कि त इमान लिलामी
षड्यन्त्र घुसखोर र भ्रष्टाचार हुन्छ
कि त नैतिकताको हरण
त्यही धनले घमण्डको ज्वाला उठ्छ
र खरानी बनाउँछ
मानव होईन
तिखा-तिखा दानवका दाँत बढ्नेछन
म निरंकुशताको उच्च सिंहाशनमा
आशिन हुन पुग्नेछु
दुनियाँले मलाई सराप्नेछन
पापको सागरमा चुर्लुम्मै डुब्नेछु
ईश्वर बिर्सनेछु र पशुतुल्य हुनेछु जस्को,
लिपि भाषा र संस्कार नभए जस्तै
दया,माया र करुणा सकिए जस्तै हुनेछु
त्यसैले बा! मलाई त्यस्तो धन कमाउनु छैन
त्यस्तो सम्पत्ती थुपार्नु छैन
जस्ले तिम्रो र मेरो सम्बन्ध टुटाओस
छोरालाई भेट्न गाउँबाट लौरो टेक्दै-टेक्दै
शहर झर्नु नपरोस,
बृद्वाश्रमको झ्यालबाट टुलुटुलु
छोराको बाटो कुर्न नपरोस
हो त्यही सम्पत्ती नै हाम्रो साँध बन्न सक्छ
त्यसैले बा!
त्यस्तो सम्पत्ती कमाउनु छैन बा!
त्यस्तो सम्पत्ती जमाउनु छैन                                                                                                                                परदेशमा म
दाम होईन,नाम कमाउदै थिए
सम्पत्ती होइन,शुभचिन्तक बढाउँदै थिए
सलामी होइन, मलामी कमाउँदै थिए
यस्को कुनै मूल्य छैन
यस्लाई नाप्ने कुनै तराजु छैन
त्यसैले परदेशबाट यति ल्याए भनेर
जवाफ दिने म सँग कुनै परिमाण थिएन
जुन शुटकेशबाट निकालेर दिन सकियोस ।
घरको संघार नाघेपछी
जीवन के हो? राम्रोसँग बुझे
मानव भएर जिउनुको अर्थ बुझे
अझ त्यो भन्दा ठूलो
संसार बुझ्न सके
जहाँ आफ्नो लागी मात्र बाँच्नेहरु
धेरै भेटेँ
केही कबिताहरु लेखिरहेको छु।
जस्ले भावना बोकोस
संस्कृतिको गीत गाईरहेको छु
जस्ले इतिहास रचोस
समाजको निम्ति केही गर्न सँकु
२ दिनको चोला
आउँछ जान्छ
न हिसाब , न किताब
त्यसैले नामले चिनिन सकुँ
कर्मले पुजिँन सकुँ
अरुजस्तो चिहानमा होइन
सबैको हृदयमा बस्न सकुँ
यसरी नै
मेरो कोशेलीहरु फुकाए
एक – एक गर्दै
आजसम्म्मको मेरो कमाई भन्दै सुनाईरहे
तर मेरा बा के खुसी हुन्थे र
मुहारको कालो बादल
अझै उस्तै छ
थाहा छैन कहिले हटाउन सक्छु
आशाले भरिएका नयनमा
कहिले खुसी भर्न सक्छु ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार ००:००