राजनीति

रास्वपाको पहिलो महाधिवेशनमा चरम अव्यवस्था, उम्मेदवार र प्रतिनिधिहरू रुष्ट


११ असार २०८३, बिहिबार ००:००


११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दिनभित्र महाधिवेशन सक्ने लक्ष्य राखेको थियो । तर पाँच दिन बितिसक्दा पनि नेतृत्व चयनको अन्तिम काम सकिएको छैन । यसको कारण के हो त ? नेताहरूका अनुसार यसका पछाडि अनुभवको कमी, प्रावधिक समस्या, महाधिवेशन प्रतिनिधि छनोटमा लागेको समय र आकांक्षीबीचमा सहमतिको प्रयास नै प्रमुख कारण हुन् ।

महाधिवेशनको बन्दसत्र सुरु हुँदा समेत महाधिवेशन प्रतिनिधि चयन भइसकेका थिएनन् । मधेश प्रदेशबाटै महाधिवेशन प्रतिनिधि टुंगिन समय लाग्यो । यसबाहके रास्वपामा चुनाव अगाडि समायोजन भएर आएकाहरूको विषयमा नेतृत्वकाबीचमा छलफल लम्बियो ।

गत २१ फागुनको निर्वाचन अगाडि रास्वपामा बालेन्द्र शाह (बालेन) समूह मिसिएको थियो । साझा विवेकशील पार्टी रास्वपामै समाहित भएको थियो । थरुहट/थारुवान अभियन्ताहरू रास्वपामा समाहित भएका थिए । खगेन्द्र सुनार नेतृत्वको दल रास्वमै विलय भएको थियो । जेनजी अगुवाहरू पनि रास्वपामा जोडिएका थिए ।

रास्वपा नेता समीक्षा बास्कोटा भन्छिन्, ‘समायोजनमा आएका पार्टी र सबै समूहलाई महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने कुरा छँदै थियो । छुटेका महाधिवेशन प्रतिनिधिको कुरा थियो । यसमा काम गर्दा केही समय लम्बियो ।’

महाधिवेशन प्रतिनिधिबारे नेतृत्वका बीचमा टुंगो लागेपछि निर्वाचन प्रक्रिया अगाडि बढ्यो । रास्वपाले केन्द्रीय सदस्य र पदाधिकारी दुवै चुन्न इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) को प्रयोग गर्‍यो ।

केन्द्रीय सदस्यमा ३८४ जना उम्मेदवार भए । उम्मेदवारी दिँदा २१ जना समर्थक जुटाउनुपर्ने प्रावधानले पनि उम्मेदवारलाई समय लाग्यो ।

उम्मेदवारी दर्तापछि उम्मेदवारहरूको विद्युतीय विवरण निर्वाचन आयोगले अपडेट गर्‍यो । यसले पनि समय लियो ।

विवरण अपडेट गर्दा अगाडि उम्मेदवारी दिएकाको पछाडि नाम र पछाडि उम्मेदवारी दिएकाको अगाडि नाम भएको भनेर विवाद आयो ।

नामको पहिलो अक्षरबाट उम्मेदवारको सूची सार्वजनिक गरिएको हो कि दर्ता क्रम अनुसार हो निर्वाचन आयोगले प्रष्ट पारेन । यस्तोमा उम्मेदवारहरूले सार्वजनिक रुपमा समेत असन्तुष्टि पोखे ।

आशिका तामाङले सामाजिक सञ्जालमा लेखिन्, ‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बर मा भएको मेरो नाम भोटिङ मेसिन मा के को आधार मा १०६ नम्बर मा पुग्यो ?’

टिका संग्रौला (ज्वाला)  ले आफ्नो निक नेम उम्मेदवारको सूचीमा नआएको भनेर असन्तुष्टि पोखिन् । ‘पार्टीको केन्द्रीय समितिमा यहि नाम, महाधिवेशन प्रतिनिधिमा यहि नाम, उम्मेदवार हुँदा यहि नाम, तर जब भोटिङ मेसिन खुल्छ, नाम गायब हुन्छ ब्राकेट भित्रको’ उनले भनिन् ।

भोट दिनेले ज्वाला खोज्दा खोज्दै भोटिङको समय समाप्त भएको भनेर उनले प्रश्न समेत उठाइन् । यस्ता प्रश्न अरुहरू पनि आए । यसले पनि केही समय बढायो ।

मतदानका लागि समेत महाधिवेशन प्रतिनिधिहरूलाई समय लाग्यो । विदेशमा रहेका प्रतिनिधिले पनि रास्वपाको मोबाइल एपबाट मतदान गरे । फिजिकल मतदान सकिएपछि एपबाट मतदान गर्ने समय खुला गरिएको थियो ।

मतदानका क्रममा जति सदस्य निर्वाचित गर्नुपर्ने हो पुरै सदस्यलाई मतदान गर्नुपर्ने गरी व्यवस्थापन गरिएको थियो । यस्तोमा उम्मेदवारले मतदान गर्दा प्रतिस्प्रर्धीलाई समेत मतदान गर्नुपर्ने भयो । यसप्रति कतिपयले प्रश्न उठाए ।

नेता राजीव खत्रीले फेसबुकमा लेखे, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’

महाधिवेशन प्रतिनिधि र उम्मेदवारका यी लगायतका प्रश्न, असन्तुष्टि र अलमलले समेत समय लम्याउन भूमिका खेलेको नेताहरू बताउँछन् ।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान भयो । दोस्रो चरणमा पदाधिकारीका लागि मतदान गर्ने गरी विधानमै व्यवस्था छ । दुवैका मतदाता महाधिवेशन प्रतिनिधि हुन् ।

रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट तय हुने विधानको व्यवस्था छ । बाँकी ५१ सदस्य सभापतिले मनोनीत गर्नेछन् । ७ प्रदेश सभाका सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउने विधानको व्यवस्था छ । यसअनुसार पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन गर्ने प्रावधान राखिएको हो ।

यसपालि विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि पदाधिकारी संख्या १२ थियो । नयाँ विधान अनुसार सभापति एक, वरिष्ठ नेता एक र उपसभापति तीन जना रहन्छन् । तीन जना मध्ये एक मनोनीत हुन्छन् ।

महामन्त्री दुई जना हुन्छन् । एक जना महामन्त्री मनोनीत हुन्छन् । सहमहामन्त्री पाँच जना छन् । दुई जना सहमहामन्त्री मनोनीत हुन्छन् । प्रवक्ता एक जना,  सहप्रवक्ता तीन जना, कोषाध्यक्ष एक जना र सहकोषाध्यक्ष २ जना रहने व्यवस्था छ ।

रास्वपा नेता समीक्षा बास्कोटा लोकतान्त्रिक प्रक्रिया पूरा गर्दा पनि समय लागेको बताउँछिन् । ‘लोकतान्त्रिक प्रक्रियालाई पूर्ण रुपमै लागू गर्नुपर्छ भनियो’ उनी भन्छिन्, ‘३८४ जना उम्मेदवारबाट छानेर ९९ सदस्यलाई मतदान गर्ने विषय समय लाग्ने विषय नै हो ।’

९९ सदस्यीय केन्द्रीय सदस्य छानिसकेपछि फेरि उसैगरी पदाधिकारीका लागि निर्वाचन हुँदा महाधिवेशन प्रतिनिधिहरूले दुई पटक मतदान गर्नुपर्‍यो । यसकारण पनि तय गरिएको भन्दा महाधिवेशनको समय दोब्बरले लम्बिएको नेताहरू बताउँछन् ।

प्रकाशित : ११ असार २०८३, बिहिबार ००:००