ब्लग / विचार

के हो धर्म र किरातहरुले कुन धर्म लेख्ने ? -विश्वासदिप तिगेला


४ श्रावण २०७८, सोमबार ००:००


के हो धर्म र किरातहरुले कुन धर्म लेख्ने?
✍️बिश्वासदिप तिगेला

️धर्म स्वेच्छिक हो, सामान्य हो, धर्म माने पनि हुने नमाने पनि हुने त्यो भन्दा ठूलो संस्कार हो । मौलिक संस्कार जोगाए त्यो नै पहिचान हो, त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मत आएको छ । यसमा मेरो टिप्पणीः धर्म सामान्य कुरा हो भन्ने हो भने हिन्दुको संख्या ८१.३ प्रतिशत हुदा नै हिन्दु राज्यको माग किन उठेको छ ? हिन्दु धर्मको पवित्र जनावर गाई वा गोरु काटेको निहूमा किन बर्षौबर्ष जेल गइरहेका छन किरात/गैरहिन्दुहरु?
बंगलादेशमा १० प्रतिशत हिन्दु छन त्यहा गाई वा गोरु काटदा जेल जान पर्दैन किन? यी दुई उद्धाहरण माथि गहिरिएर सोच्नु भएमा धर्म के हो, किन आवश्यक छ र धर्मको संख्या किन ठूलो चाहिन्छ भन्ने प्रष्ट हुदैन र? नेपालमा बर्णाश्रम ब्यवस्था नहुनु र पंचायत कालमा नेपाल हिन्दु अधिराज्य नहुनु हो भने अहिले नेपालका शासक को हुन्थेहोला? मानौः नेपाल बुद्धिष्ट मुलुक भएको भए शासक को हुन्थेहोलान? नेपाल मुस्लिम मुलुक भएको भए, प्रधानमन्त्री, मन्त्री, मुख्य–सचिव (शासक) को को हुन्थे होलान? त्यसैले बुझ्नु पर्ने कुरा राज्यशक्तिको मुख्य स्रोत धर्म हो ।
यसर्थ धर्म छैन र भएको धर्म पनि समुन्नत र संमृद्ध छैन भने राज्यशक्ति माथि तपाईको सामर्थ्य पुग्न सक्दैन । धर्म स्वेच्छिक भएपनि मुख्य मेरुदण्ड हो नत्र किन अनेक मनोविज्ञान सहित करोडौ डलर खर्च गरेर किश्चियनहरुले धर्म विस्तार गरिरहेका छन? किन हिन्दुहरुले ओम शान्ति, साई भक्त आदिआदि अनेक रुपमा विस्तार गरिरहेका छन? नेपालको राज्यसत्ता किन करोडौ खर्च गरेर मन्दिरहरु बनाईरहेका छन?

धर्म अनुसाशन अर्थात कोठेबारीको बार हो । बार नभए कोठेबारीको तुलफूल कुखुरा, बाख्राले खाईदिन्छ । मौलिकता भन्दै मानविय आदत भित्र पर्ने माङहिम निर्माण, मूर्ति पुजन र धर्मको सिमाबन्धनमा बस्न र राख्न नसके कुनैपनि बेला ढिलोचाडो अरु धर्मले प्रभाव पार्नेछ र लैजाने छ । त्यसैले मौलिकता भन्दै भौतिक रुपबाट देख्न, छुन र अनुभूत गर्न सक्ने संरचना बनाउन सकेनौ, संस्थागत गर्न सकेनौ भने आफै बिलाएर जान सक्छौ । यसरी समय सापेक्ष परिवर्तन हुन नसक्दा विश्वका धेरै आदिम जाति मासिन्दै गएका छन ।

धर्मशास्त्र मुन्धुममा किरात शब्द नभएकोले याक्थुङ किरात होइन्, किरात धर्म भन्नु सहि होइन की भन्ने तर्क गर्नु अस्वभाविक होइन तथापी याक्थुङ (लिम्बु) जाति विभिन्न राष्ट्रियताबाट बनेको जाति हो । याक्थुङ भित्रका केही किरात नहुन पनि सक्छन किन की याक्थुङ भित्र चोक्फूङ संस्कार छ र त्यो चोक्फूङ गरेर अन्य जातिलाई पनि याक्थुङ बनाउने संस्कार रहेको छ तर आमरुपमा याक्थुङहरु किरात हुन ।
मुन्धुम आफैमा एक धर्मशास्त्र तथा धर्मकथा हो । कथा सत्य पनि हुनसक्छ, सत्य नहुन पनि सक्छ । मुन्धुम स्थान परिवेश अनुसार भिन्नभिन्नै पनि पाइन्छ । कुन मुन्धुमलाई आधार मान्ने? अलिखित मुन्धुमलाई प्राज्ञिक हिसाबले आधार मान्न मिल्दैन पनि । त्यसैले मुन्धुम अकाटय होइन । मुन्धुममा किरात भेटिएन भन्दैमा किरात होइनौ भन्न मिल्दैन । उसो त हिन्दुको गीता, रामायण र महाभारत भित्र पनि हिन्दु लेखिएको भेटिन्दैन के त्यसो भए हिन्दु (शब्द) धर्म होइन, हुन सक्दैन भन्ने? नाम आफै राखिन्छ वा अरु कसैले पनि राखि दिन्छन, किरात शब्द हिन्दु शास्त्र र इतिहासका पुस्तकहरुमा उल्लेख भएको पाइयो भन्दैमा किरात होइन भन्नु न्यायसंगत अवश्य होइन ।

लिम्बुवान राज्य पूर्नस्थापनाको आन्दोलनले सधै लिम्बुवानकै कुरा गरयो । सधै लिम्बुवानकै मात्र कुरा गर्न सिकायो । हिजो खम्वुवानलाई किरात राज्य भनी प्रस्तावित नामाकरण गरिनु खम्बु मात्र किरात हो भन्ने अर्थ लाग्दैन । अहिले पूर्वको १४ जिल्ला किरात प्रदेश हुनसक्छ भनी चर्चा चलिरहदा किरात खम्बु, किरात याक्थुङ लगायत सबै अटाउन सक्ने विरासत हो ।
देशको राजनैतिक उथलपुथलले अहिले किरात राज्य नामाकरण गर्न सकियो भने भोली लिम्बुवान बनाउन सकिने सम्भावना रहन्छ । तर अहिले कोशी वा सगरमाथा प्रदेश भएको खण्डमा पहिचानको मुद्धा पूर्णरुपमा टर्न सक्छ र लिम्बुवान पनि हुन सक्दैन र खम्वुवान पनि हुन सक्दैन तसर्थ यसलाई पनि ख्याल गर्न आवश्यक छ ।
उसो त किरात धर्म भनी याक्थुङहरुकै बाहूल्यता तथा याक्थुङ भाषाको मुन्धुम मार्फत बढि विस्तार र विकास भईरहेको छ । किरात धर्म भनी नेपालमा स्पष्ट पहिचान आएको छ । किरात धर्मालम्बीहरुले सुसभ्य संस्कार विकास गर्दै आएका छन । जसले समाजलाई ठूलो परिवर्तनको बाटोमा डोर्याइरहेको छ । यो आफैमा गर्व गर्न लायक प्रगति हो ।

किरात भन्ने वित्तिकै राई जाति, किरात धर्म भन्ने वित्तिकै इलामको लारुम्बाको संस्कार मात्र बुझ्नुले यदाकदा समस्या थियो तर अब किरात भन्नाले लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, हायू लगायत समग्रमा किरात भन्ने प्रष्ट भईसकेको छ र किरात धर्म भित्र परम्परागत (धर्म), सत्यहाँङ, स्वर्गिक मार्गी, माङहिम बनाउनु पर्छ भन्ने युमा र माङहिम बनाउनु हुन्न भन्ने युमा, मुन्धुममा विश्वास गर्ने मुन्धुमवादी लगायत सबैसबै किरात धर्म भित्र पर्दछ भन्ने बुझाई वैज्ञानिक र ब्यवहारिक हो भन्ने मान्यता स्थापना भएको छ ।
किश्चियन भित्र क्याथोलिक, प्रोटिष्टेन, अर्थडक्स भने झै बुद्धिष्टि भित्र महायानी, बज्रयानी र थेरावादी हिनयानी भने जस्तै किरात भित्र पनि सत्यहाँङ, युमा, मुन्धुम, स्वर्गिक मार्गी र परम्परागतवादी सबैलाई अटाएर बुझ्नु पर्ने हुन्छ । मौलिकताको अवलम्बनु गर्नु परम्परागतवादी विश्वास (धर्म) हो । धर्मको संस्कारहरु पनि समय सापेक्ष सुधार हुदै जान्छ र जानुपर्छ भन्ने मान्यता राख्नु पर्दछ । विश्वमा मुख्य धर्महरुले पनि समयको आवश्यकता अनुसार संस्कारहरुमा परिवर्तन गर्दै आएका छन ।

किरात धर्मको रुपमा सत्यहाँङ अर्थात लारुम्बाको संस्कार मात्र बढि चिनिए पनि परम्परागत, हिंशा वा हिंशारहित लगायतको संस्कारलाई किरात धर्मको संस्कारको रुपमा लिनु पर्दछ । लारुम्बाको केही संस्कारहरुमा धेरैका विमतिहरु पनि रहेका छन । त्यसलाई ख्याल गर्दै मौलिकता सुधारको निम्ति पहल गर्नुपर्दछ ।
आउदो जनगणनामा धर्मको महलमा किरात लेखौं भन्नुको अर्थ लारुम्बा संस्कार शतप्रतिशत सहि हो भन्न खोजिएको पक्कै होइन । लारुम्बाको संस्कारहरुमा सुधार, विकास र विस्तारको निम्ति पनि ठूलो आवाज गुञ्जिरहेको छ । र, मुन्धुम वा युमा भनिए पनि यी सबै किरात भित्र अर्थात सत्यहाँङ मुन्धुम भित्र एक हिस्साको रुपमा सुरक्षित छदैछ । किरात धर्म भन्ने वित्तिकै युमा पनि स्वतः समेटिन्छ ।
किरातजन्य संस्थाहरु किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याख्खा छुम्मा, नेपाल थामी समाज, जिरेल संघ नेपालका केन्द्रीय नेतृत्वहरुले १५ असार २०६५ का दिन काठमाडौंमा सामुहिक रुपमा किरातहरुको धर्म किरात भनेर घोषणा गरिसकेको अवस्था आफैमा सुखद छ । नेपाल भित्र रहेका करिब १२ लाख किरातहरुले सबैले आफ्नो धर्म किरात लेखाएको खण्डमा प्रदेश १ को नामाकरण देखि विभिन्न सेवासुविधामा पनि उल्लेख्य अवसरहरुको निम्ति राज्यबाट मागदावी गर्न सकिन्छ । जुन सुखद हुनेछ ।

केहीले युमाको पनि वकालत गरेको देखिन्छ यो पनि एउटा सकारात्मक कुरा हो । तर, युमा शब्द लिम्बु भाषाको शब्द, लिम्बु (याक्थुङ) जाति आफैमा तुलनात्मक थोरै जनसंख्या भएको जाति हो । त्यसका केही संख्याले मात्र युमाकै पक्षमा वकालत गरेपनि संख्या अत्यन्तै सानो हुनेछ भने यसअघि नेपालमा कहिल्य पनि धर्मको रुपमा मान्यता दिईएको छैन । युमा (बोजु) लिम्बुहरुको विभिन्न देवीदेवताहरु मध्ये एक देवता (साम्माङ) हो । युमाको वकालत गर्नेहरु स्वच्छन्दवादी, प्रकृतिवादी भएपनि भौतिक संरचना बनाउनु पर्छ भन्ने युमावादी जो भारतको सिक्किम र आसाममा रहेका छन भने अर्कोथरी युमाहरु भौतिक संरचना बनाउनै हुदैन मौलिकता मास्न र परिष्कार गर्न हुदैन भन्नेहरु हुनुले केही दुविधा ल्याएको छ तथापी समग्रमा नअल्मलिइकन, नअल्मलाईकन सबै सबै किरातले आफनो धर्मको महलमा किरात लेख्नु र लेखाउनु नै सबैभन्दा बुद्धिमता ठहर्दछ । स–सानो झुण्डमा होइन सामुहिक शक्ति आर्जन अभियानमा लाग्नु आजको आवश्यकता हो ।

किरातहरु प्रकृति पुजक भएकाले मन्दिर र मूर्तिहरु बनाउनु आवश्यक छैन भन्ने मान्यताहरु पनि पाइन्छन तथापी छुन सकिने, देख्न सकिने र अनुभूत गर्न सकिने धर्मस्थल र संस्कारहरु चाहाने मानवीय स्वभाव भएकोले मान्छेले आफू जसो त्यसै सोच्छन र खोज्छन । विशेषतः हिन्दु, बुद्धिष्ट र रोमन क्याथोलिकहरुमा मूर्ति पूजन परम्परा भएको र मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा मूर्तिहरु पुज्ने अभ्यासबाट आत्मा सन्तुष्टि लिने बातावरणले पनि किरातहरुले माङहिम, माङखिम, थान, देवस्थल र मूर्तिहरु पुज्नु अस्वभाविक होइन ।
प्रकृति पुजक नै भएपनि प्रकृतिलाई सम्झनकै निम्ति पनि माङहिम चाहिनु स्वभाविकै हो । माङहिम भित्र बसेर आठ तले सांकेतिक जगतलाई पुज्नु सुन्दर पक्ष नै हो । विश्वका सबै धर्म यहि प्रकृतिमा सृष्टि भएका हुन। फरक यति हो कसैले धेरै मूर्ति पुज्छन, कसैले थोरै । परम्परावादी धर्म मान्ने जो बर्षमा एकाध पटक बाहिरी डाँडा, पाखामा पुजा गर्छन तर नियमित र पटक पटक त्यहि पुजा, त्यहि ठाँउमा गर्नुपरेको अवस्थामा पुजा गर्दागर्दै पानी पर्न सक्ने आदिआदि कारणले त्यहा ओथिने घर बनाइन्छ र अन्ततः त्यो माङहिममा परिणत हुन पुग्दछ । त्यसैले माङहिम बुन्नु पनि आवश्यक नै देखिन्छ ।

किन धर्म चाहियो त? माथि नै चर्चा गरे झै धर्म भनेको अनुसासन हो अर्थात कोठेबारीमा बार हो । जहा कुखुरा, बाख्राबाट कोठेबारीको तुलफूल जोगाउदै, बचाउदै सप्रिएको तुलफूल फलाउनु हो । यदि बार नहोस त कोठेबारी, कोठेबारी नभई जुनसुकै चौपाय आएर चर्ने चरन बन्न सक्छ । गाँउमा बेगारी काम अर्थात खेल्ने काममा उल्काएर लैजानु परयो भने सबैभन्दा पहिला बुबाआमालाई नटेर्ने केटाकेटीलाई फकाईन्छ र उ जान्छ पनि । जो बुबाआमाले भनेको मान्दछ र अनुसासनमा बस्छ भने उसलाई उल्काएर लैजान सकिन्दैन र उ जादैन अनि फकाउन पनि गइन्दैन ।
हो ठिक त्यस्तै हो धर्म अर्थात अनुसासन । अर्को उद्धाहरण लिउ– धर्म र कर्ममा विश्वास गर्ने ब्यक्ति जो बिहानै पुजा गर्दा उसले दिनभर गर्ने कामहरु सफलहोस भनी कामना गर्दछ र एकाग्र भएर उ पुग्नुपर्ने ठाँउमा सरासर बाटो लाग्छ र बीच बाटैमा कसैले बसौ, गफगरौ भनेपनि उ नअल्मलिइ बाटो लाग्छ किन भने उसले बिहानै योजना तय गरि पुरा गर्ने प्रतिबद्धता गरेको हुन्छ । तर, धार्मिक कर्म नगर्नेले बिहान पुजा गर्दैन र पुग्न पर्ने ठाँउमा बाटो लाग्दा बीच बाटैमा कसैले बोलायो, बसौ गफगरौ आदि भन्यो भने उ बसेर अल्मलिन थाल्दछ र दिन त्यसै बित्दछ । हो ठ्याक्क यस्तै हुन सक्छ धर्मकर्म गर्ने र नगर्ने बीचको कर्म भिन्नता, तसर्थ धर्म भनेको कर्म गर्ने अनुसासन पनि हो ।

धर्म भौतिक रुपमा देखिनु पनि आवश्यक हुन्छ । धर्म भित्रका संस्कारहरु समय सापेक्ष र स्थान सापेक्ष बन्नुपर्दछ । हिजोको इतिहास सम्झेर सधै त्यहि हुनुपर्छ भनेर अडकिनु हुदैन । सुधार र परिष्किृत गर्दै लैजानु पर्दछ । आवश्यकता अनुसार समाजमा के कुराको खाँचो छ उक्त कुरा औल्याई राम्रो समाज निर्माणको निम्ति आवश्यक थप चाडपर्वको समेत विकास गर्नु जरुरी हुन्छ । जसले समाजलाई सन्तुलित र सुसभ्य बनाउदछ र सिंगो जाति, समुदाय तथा धर्मावलम्बिमा अभिमुखिकरण गर्दै शक्तिशाली बनाउदछ अर्थात बन्न मद्दत गर्दछ । त्यसैले भन्ने गरिन्छ धर्म शक्ति र राज्यसत्ता प्राप्तिको मुख्य स्रोत हो । हरब्याक्ति र सिंगो समुदायलाई शक्ति दिने धर्मलाई हामी कसैले वेवास्त गर्न मिल्छ ?

को हुन किरात र कसरी स्थापित भयो किरात? ‘किरात कालिन विजयपुरको ईतिहास’ (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । याक्थुङ भाषाको केरेक र ओतिबाट किरात भएको, किरात शब्द कैलाश शब्दबाट अप्रभ्रङ्स हुदै किरात भएको एकथरी मान्यता राख्दछन भने खम्बु मुन्दुम अनुसार किरावाचीबाट किराँती, किरात भएको हो भन्ने अर्को मत पनि पाइन्छ ।
सुब्बा प्रेमबहादुर माबोहाङको अनुसार स्वयम्भु मनुका मंगोल नामका एक पुत्र थिए । उनका (१) मुना इङवा, (२) थोबोइङबा र (३) योबोइङबा गरी ३ जना छोराहरु थिए । मुना इङवाका पुत्र किरात इङवा थिए । किरात इङवाका दश जना छोराहरु थिए उनिहरु नै आधुनिक किरातीहरुका पूर्खा हुन भनी लिम्बुवानको ऐतिहासिक अध्ययन नामक पुस्तकको पेज ९ मा लेखक शिवकुमार श्रेष्ठले उल्लेख गरेका छन् । सोहि पुस्तकको पेज १० मा ब्रायन हड्सनका अनुसार, ‘राष्ट्रको रुपमा किरातीहरुको प्राचिनता प्रष्टरुपमा पत्ता लगाउन सकिने भएकोले र भाषाको विचित्र बनावटले गर्दा सायद सबै हिमाली जातीहरु मध्ये उनीहरु चाखलाग्दा छन’ भनिएको छ ।

नेपालको प्राप्त इतिहासमा गोपालवंशी, महिषपालवंशी पछि किरात वंशीको शासन रहेको र त्यसपछि लिच्छिवीवंशी, मल्लवंशी र शाहवंशी युग हुदै अहिलेको युगमा आईपुगेको भेटिन्छ । नेपालमा शासन गर्ने चौथो पुरानो जाति किरात जाति हुन । नेपालमा भेटिएको सबैभन्दा पुरानो ईतिहास गोपालराजवंशावली अनुसार ३२ पुस्ता किरातहरुले नेपालमा शासन गरेका थिए । किरातहरुको पहिलो राजा यलम्बरले ३७९९ (सन् २०२०) अघि शासन शुरु गरेका थिए । किरातहरु नेपालको पूर्वी भाग हुदै भारतको उत्तरपूर्वी ईलाकामा बसोवास गर्ने गर्दछन् । किरात भित्र झण्डै एक दर्जन जाति र झण्डै ३६ भाषाहरु बोल्ने गर्दछन । भाषा बेग्लाबेग्लै भएपनि सबै भाषीहरुको लिपी किरात लिपी हो । ल्याटिन अल्फावेट (अंग्रेजी) लिपीलाई विश्वका १३० भाषाले, मायान लिपीलाई विश्वका ३२ भाषाले प्रयोग गरे झै तिन दर्जन किराती भाषाले किरात लिपी प्रयोग गर्दछन । पछिल्लो समयमा दुई लिपी बनाएका छन तर ती लिपी मौलिक होइनन ।

निरंकुश पंचायती ब्यवस्थाकै बेलामा वि.स. २०३६ सालमा आत्मानन्द लिङदेनको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघको औपचारिक दर्ता भएको हो । र, प्राप्त डकुमेन्ट अनुसार वि.स. २०२० सालमा छापिएको ‘मेची अंचलको भूगोल’ नामक पुस्तकमा पूर्वी नेपालका राई, लिम्बुहरुले प्राचीन किरात धर्म मान्दछन भनी लेखक बलवीर सिंह नेगीले लेखेको पाइन्छ । जुन पुस्तक त्यो बेला कक्षा ५ सम्म पढाई हुन्थ्यो । इतिहासको विशाल विरासत बोकेको किरातहरुले त्यो भन्दा अगाडि नै धर्मको रुपमा तथा संस्कारको रुपमा किरात भन्ने गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । धेरै इतिहासको पुस्तकहरुमा करिब ५ हजार बर्ष अगाडी किरात शासन थियो र किरात सभ्यता थियो भनिएको छ । धर्म नभई सभ्यता प्रायः असम्भव हुने भएकोले प्राचीन कालमै किरात धर्म थियो भन्न सकिन्छ । त्यसैले किरात धर्म प्राचीन धर्म मध्ये कै एक मान्न सकिन्छ ।

अन्तमा, प्राप्त जानकारी अनुसार यसअघि राष्ट्रिय जनगणनाको प्रशोधन पछि तथ्याङ सार्वजानिक गर्ने बेलामा पशुपति सेनाको नामबाट हिन्दु धर्मको प्रतिशत घटेको अर्थात पहिला भन्दा कम प्रतिशत सार्वजानिक भएको खण्डमा भौतिक कार्वाही गर्ने धम्कि समेत आउने गर्दछ । यसले के दर्शाउदछ भने कान्छो शासक बर्गलाई पनि धर्मको प्रतिशत बढि चाहिन्छ भने किरातहरुलाई चाहिने की नचाहिने? धर्मकै कारण गोरुगाई काटेको निहूमा जेल बस्नु परिरहेको किरातहरुलाई सामुहिक शक्ति आर्जनको स्रोत धर्ममा एकता हुन आवश्यक छ की छैन? धर्म, सत्ता र शक्ति आपसमा अन्तरसम्बन्धित भएको प्रष्ट देखिन्छ ।
किरातहरुमा सामुहिक दायित्व त छदैछ धर्मलाई हामीले आफ्नो अधिकार उपभोगकै निमित्त पनि सहि र प्रष्ट उल्लेख गर्न जरुरी देखिन्छ । त्यसैले प्रत्येक नेपालीले आआफ्नो पहिचानको धर्म उल्लेख गरौ । किरात धर्म भित्रका संस्कारहरुको सुधारको निम्ति बुलन्द आवाज उठाउदै र राष्ट्रिय जनगणना २०७८ को धर्मको महलमा सम्पूर्ण किरातहरुले किरात धर्म लेखौं र लेखाऔं।

साभार: विश्वास दीप तिगेला को पेजबाट
१० सेप्टेम्बर २०२०, आसफोर्ड

प्रकाशित : ४ श्रावण २०७८, सोमबार ००:००