मुख्य खवर

भिजिट भिसामा जाँदा ६ प्रकारका कागजात बुझाउनुपर्छ,यस्तो छ ६ बुँदे मापदण्ड


६ श्रावण २०८२, सोमबार ००:००


काठमाडौँ, भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यस्ता कागजातहरू जुटाउन पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि धौधौ पर्छ । तर, बिचौलियाहरूले त्यस्ता कागजात सहज रूपमा तयार गर्न सक्छन् ।

गृहमन्त्रीस्तरीय निर्णय अनुसार २०८० माघ १० देखि लागु हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारे ‘मापदण्ड’ लागु गरिएको थियो । मापदण्ड अनुसार पर्यटक भिसा तथा भिजिट भिसामा जाँदा दुईतर्फी हवाई टिकट, ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभरका लागि होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्छ ।

त्यस्ता कागजात सर्वसाधारणले सहज रूपमा बनाउन सक्दैनन् । यही अवस्थाको फाइदा उठाएर बिचौलिया र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा उक्त मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाएका छन् ।

काठमाडौँ उपत्यकाका केही ट्राभल एजेन्सी र मेनपावर एजेन्टहरूले ५ सय अमेरिकी डलर साटेको छाप लगाएर यात्रुलाई पासपोर्ट दिन्छन् । एउटै रकम घुमाएर उनीहरूले बैंकमार्फत छाप लगाउने गरेको अध्यागमन विभागका एक जना उच्च अधिकृतले बताए । उनले भने, ‘डलर साटेको छाप देखाएपछि रकम देखाउनु पर्दैन । बिचौलियाहरूले एउटै रकम धेरै जनाका लागि घुमाइरहन्छन् ।’

कतिपयले फर्जी छाप लगाएर पठाउने गरेको पनि आरोप छ । यात्रा अनुमति पाउनुअघि दुईतर्फी हवाई टिकट र होटल बुकिङ भएको कागजात पेस गर्नुपर्छ । बिचौलियाहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर फर्किने टिक बुकिङ गर्ने र काठमाडौँबाट यात्रु उड्नासाथ रद्द गर्ने गरेको गृह मन्त्रालयका एक जना अधिकृत बताउँछन् ।

ती अधिकृतले भने, ‘त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको यात्रु उड्नासाथ टिकट क्यान्सिल गर्न मिल्छ, त्यसमा एयरलाइन्सका कर्मचारीको पनि मिलेमतो हुन्छ । होटल बुकिङ पनि क्यान्सिल गर्न मिल्छ ।

बिचौलियाहरू गन्तव्य मुलुकको होटलबारे जानकार हुन्छन् र त्यस्तो कागजात तयार गरेर क्यान्सिल गरिदिन्छन् । मापदण्ड यात्रु अनुकूल नभएको गुनासो आएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले बताए । रिजालले भने, ‘मापदण्ड नै नबनाएको भए बरु वास्तविक यात्रुले कम दुःख पाउने थिए भनेर कुराचाहिँ उठेको छ ।’

बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले मापदण्डमा टेकेरै यात्रा अनुमति दिने गरेका छन् । अख्तियारले छानबिन थालेपछि पनि मापदण्ड पुगेको भन्दै खाडीमा घरेलु काम गर्न जाने महिलाहरूसँग ६० हजारसम्म असुल्न थालेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरू बताउँछन् ।

एक जना अधिकृतले भने, ‘पहिलेजस्तो खुला रूपमा चाहिँ छैन तर, एकादुई माहिलालाई ६० हजारसम्म लिएर पठाउने गरेको पाइन्छ । विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थ भट्टराईमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

भट्टराईमाथि छानविन सुरु भएपछि विमानस्थल अध्यागमन कार्यालयमा विष्णु कोइरालालाई प्रमुखका रूपमा पठाइएको थियो । दुई महिना पूरा नहुँदै असार ३१ मा कोइरालाई गृह मन्त्रालयले हटाएर त्यहाँ सहसचिव नरहरी घिमिरेलाई पठाएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई पनि सरुवा गरिएको छ । महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयस्थित शान्ति सुरक्षा महाशाखाको प्रमुखबाट अध्यागमनमा विभागमा सरुवा भएका हुन् ।

यस्तो छ ६ बुँदे मापदण्ड :
–कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।

–सम्बन्धित देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भएर प्रवेषाज्ञा नचाहिने ।

–दुईतर्फी हवाई टिकट

–भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

–५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण ।

–युएई, बहराइन, कुवेत, कतार ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषण गर्नुपर्ने । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने छ ।
अझै उड्दै महिला
भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दैछ ।

भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला अनुसन्धानको दायरामा छन् । छानबिन समितिले काम गरिरहँदा लिला परियार, सुन माया तामाङ र निकिता तामाङ साउन २ मा विमानस्थलबाट भिजिट भिसामै उडेको स्रोत बताउँछ ।

जुलाई १९ अर्थात साउन ३ मा उनीहरू कतारको दोहाबाट कुवेत उडेका छन् । त्यसरी सेटिङमा पठाउने क्रम अझै रोकिएको छैन । स्रोतका अनुसार उनीहरूलाई अध्यागमनका कर्मचारीले ६ बुँदे मापदण्डमा टेकेर यात्रा अनुमति दिएका हुन् ।

बैरागी नेतृत्वको समितिले मापदण्डबारे पनि छानबिन र अध्ययन गर्नुपर्ने गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् । मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘समितिले ६ बुँदे मापदण्डबारे पनि छानबिन गर्न जरुरी छ ।’

यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो, तर विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा अहिले ब्युरोका प्रहरी फिर्ता भएका छन् ।

प्रकाशित : ६ श्रावण २०८२, सोमबार ००:००