गृह पृष्ठ

देउवाले महत्त्वपूर्ण निर्णय गर्दा परामर्श नगरेको भन्दै सात नेताले असन्तुष्टि


७ श्रावण २०८२, मंगलबार ००:००


काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महत्त्वपूर्ण निर्णय गर्दा आफूहरूसँग परामर्श नगरेको भन्दै सात नेताले असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसका पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतले मंगलबार बिहान बूढानीलकण्ठमा सभापति देउवालाई भेटेर एक स्वरमा असन्तुष्टि जनाएका हुन् ।

पूर्वउपसभापति श्रेष्ठले देउवासँग पहिला महत्त्वपूर्ण निर्णय गर्दा परामर्श गर्नुहुन्थ्यो,अहिले किन गर्न छोड्नुभयो ? भनेर सोधेको जानकारी दिए । हामीले सभापतिजीलाई पहिला केही निर्णय गर्दा परामर्शका लागि बोलाउनुहुन्थ्यो । हामी आएर परामर्श दिन्थ्यौँ । त्यसले राम्रै गरेको थियो,आफूहरूले देउवालाई भनेको विषयबारे श्रेष्ठले भने,अहिले बोलाउन छोड्नुभयो । किन हो ?बोलाएर छलफल गर्दा राम्रो हुन्छ । उपयुक्त परामर्शअनुसार बढ्दा निर्णय अझ बढी परिपक्व हुन्छ ।

उनीहरूको मुख्य असन्तुष्टि मन्त्रीलगायतका राजनीतिक नियुक्तिमा थियो । कांग्रेस सरकारमा गएपछिका एक वर्षमा भ्रष्टाचार मौलाएको, भ्रष्टाचार गरेका काण्डहरू बाहिर आउँदा पनि कारबाही हुन नसकेको नेताहरूले देउवालाई सम्झाएका थिए ।

नियुक्तिमा परामर्श गर्नुस्,श्रेष्ठले आफूहरूले देउवासँग राखेको भनाइबारे भने,कांग्रेस सरकारमा गएपछि भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारका घटना बाहिरिएका छन्, कारबाही भएको छैन भन्यौँ । भ्रष्टाचार गर्नेलाई आफ्नो र अर्काको नभनी छानबिन गरी दोषी देखिएमा कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने उनीहरूले बताएका थिए । जवाफ देउवाले उपयुक्त समयमा उपयुक्त परामर्श गर्ने बताएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार ००:००