Breaking News Post

राजनीति सही नभएसम्म मुलुक अघि बढ्न सक्दैन : कुलमान घिसिङ


७ भाद्र २०८२, शनिबार ००:००


युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीति सही नभएसम्म मुलुकले अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङ्ले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए ।

उनले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन र छिटो आर्थिक परिवर्तन गर्न नीति र नेतृत्वमा व्यापक सुधार आवश्यक भएको पनि जोड दिए । घिसिङ्ले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन’, उनले थपे, ‘अहिले देशभरि झण्डै हरेक घरमा बत्ती पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन। देशभित्र हरेक क्षेत्र उज्यालो हुनुपर्छ।सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्न उज्यालो नेपाल अभियान सुरु गरिएको हो।’

उनले सबै राजनीतिक दलभित्र र बाहिर, स्वदेश वा विदेशमा रहेका नेपाली मिलेर राम्रो नेतृत्व जन्माउनु पर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालका उपलब्धिहरू साझा गर्दै भने, ‘म प्राधिकरणमा आउँदा कुल विद्युत उत्पादन ८०० मेगावाट थियो, अहिले झन्डै ४ हजार मेगावाट पुगेको छ ।

पाँच गुणा बढी उत्पादन भइसकेको छ र हजारौं मेगावाटका परियोजनाहरू निर्माणाधीन छन्। वार्षिक २५ अर्ब रुपैयाँ महसुल उठाइरहेका छौं। प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौं। आम जनताको सहयोग र देश–विदेशबाट प्राप्त समर्थनका लागि म सधैं आभारी छु।’

चार महिनाअघि मात्र आफूलाई बर्खास्त गरेकोमा उनले सरकारप्रति व्यंग्यसहित धन्यवाद दिएका छन्। ‘नेपाल सरकारले त्यसो नगरेको भए आज तपाईंहरूसँग म भेटघाट गर्न पाउँदिनथेँ।’
उज्यालो अभियानको उद्देश्य पनि उनले स्पष्ट पारे ।

अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छ। त्यसलाई हटाएर आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु हाम्रो लक्ष्य हो। म खाडी मुलुक, अमेरिका, युके, बेल्जियम, नेदरल्याण्ड्स, माल्टा हुँदै स्पेन आएको छु। यस भ्रमणबाट मैले धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएँ।’

घिसिङ्ले प्रवासी नेपालीहरूको भूमिका र चासो पनि उल्लेख गरे। ‘संसारभर ५० लाखभन्दा बढी नेपालीले अनुभव र विज्ञता हासिल गरेका छन्। उनीहरूको सीप र क्षमता नेपालमा लगानी र विकासमा जोडिनु पर्छ । प्रवासमा रहेका साथीहरूले उत्कृष्ट व्यवसाय र काम गर्दै हुनुहुन्छ। यो नेपालको लागि ठूलो एसेट हो।’ उनले उज्यालो नेपाल अभियानमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरे ।

प्रकाशित : ७ भाद्र २०८२, शनिबार ००:००