घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित हिजो (शनिवार) बिहान महेन्द्रनगर आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।
देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्न सकेको छैन । उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे”, थापाले भने, “उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।” प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ । रासस











प्रतिक्रिया