ताजा घटना

लिफ्ट दिएका ब्यक्तिले बाइक अन्तै लाने प्रयासपछि भयो यस्तो सम्म….


११ भाद्र २०७८, शुक्रबार ००:००


काठमाडौ, मुलुकभरी भएका महिला सम्बन्धी घटना मध्य अधिकांशमा कि चिनेजानेका कि आफन्तवाट नै भएका देखिन्छन् । बैतडीमा पनि एक किशोरी आफुलाई जोगाउन खोज्दा ठूलो दुर्घटनामा परेकी छन् । उनको जीवनमा एउटा दुर्घटना हुनवाट आफुलाई जोगाउन सफल भएपनि उनी अस्पतालको आइसियुमा छन् ।

बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भइन् । उनी अहिले उपचारार्थ छन् । बैतडीको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्टलाई उनकै चिनेजानेका एक जनाले मोटरसाइकलमा लिफ्ट दिएका थिए । सोमबार बिहान गौराका लागि लुगा कपडा र श्रृंगारका सामाना किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेकी हुन् ।

बहिनीलाई अस्पतालमा स्वास्थ्यलाभको प्रतिक्षा गरिरहेका उनका दाजु जनकराज भट्टले गाउँकै चिनेजानेका हरिशले लिफ्ट दिन्छु भनेपछि बहिनी उनको मोटरसाइकलमा बसेको बताए । आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य बैनीहरुसंग खोड्पे पुगेकी थिइन् उनी ।

तर बुवा अघिल्लो पाइला निस्किए । उनी बुवलाई बाटोमा भेटिने आशमा ति ब्यक्तिको मोटरसाइकलमा बसिन् । बीच बाटोमा बुवालाई देखेपछि उनले मोटरसाइकल रोक्न भनिन् । तर उनले विजयपुर सम्म पुर्याइ दिन्छु भन्दै विजयपुरबाट पनि बझाङ तर्फ जाने रोडमा लान थालेपछि किशोरीले मोटरसाइकलवाट हाम फालिन् ।

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लाने प्रयासपछि गोदावरीले हाम फालेको पारिवारका सदस्यको भनाई छ । घाइते गोदावरीको अहिले धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भईरहेको छ । हरिशलाई प्रहरीले पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार ००:००