गृह पृष्ठ

गाडीसँगै जुम्ल्याहा दाजु–बहिनी र आमा पहिरोमा पुरिए,पहिरोमा पुरियो बंगलादेश जाने सपना


१३ आश्विन २०८१, आइतबार ००:००


स्याङ्जाको गल्याङ नगरपालिका घर भएकी सीता भट्टराई छोराछोरीलाई पढाउन भनेर बुटवलको गोलपार्कमा बस्दै आएकी थिइन् । सीताका जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा अध्ययन गर्दथे । कक्षा पाँचदेखि कालिका मावि अध्ययन गर्न थालेका उनीहरू दुवै अध्ययनमा उत्कृष्टमात्र थिएनन्, अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए ।

कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका उनीहरू यही बिचमा अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन काठमाडौँ हिँडेका थिए । तर उनीहरूको यात्रा धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पुगेर एकसाथ सदाका लागि टुङ्गियो ।

पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश जाने योजनामा रहेका उनीहरू शुक्रबार बिहान बुटवलबाट लु१ज ४५७८ नम्बरको विङ्गरमा काठमाडौँतर्फ हिँडेका थिए । दुर्भाग्य, उक्त गाडी पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो ।

गाडीसँगै जुम्ल्याहा दाजु–बहिनी दिपेश–दिपिका, उनीहरूकी आमा सीता भट्टराई पनि पहिरोमा पुरिएको खुलेको छ । उक्त गाडीमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका छन् । जुम्ल्याहा दाजुबहिनी नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन गइरहेको अवस्थामा सो दुर्घटनामा परेको खबर आएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

उनले भने, ‘उनीहरू निकै राम्रो अङ्क ल्याउने विद्यार्थी हुन् । त्यस अतिरिक्त अहिले नेसनल एस्ट्रोनोमी ओलम्पियारमा भाग लिन काठमाडौँ पठाएको हो, तर दुखद् घटना घटेछ । बङ्गलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुने बताइएको छ ।

उक्त विङ्गरमा सवार १४ जनाको शव निकालेर शिक्षण अस्पताल काठमाडौँमा पठाइएको जानकारी आएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।
उनले टिकटमा स्पष्ट नाम नलेखिएकाले सो गाडीका सबै यात्रुको पूरा विवरण पाउन कठिन भएको उनको भनाइ रहेकाे छ ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार ००:००