गृह पृष्ठ

मनाङेको उम्मेदवारीप्रति विरोध जनाउँदा पारुलले आफ्नै टिकट गुमाए


१४ श्रावण २०८२, मंगलबार ००:००


मोरङको राजनीतिमा परिचित नाम हो, विराटनगरका पारुल क्षेत्री उनी २०७४ सालमा नेकपा एमालेबाट मोरङ-६ (ख)बाट उम्मेदवार सिफारिस भएका थिए । त्यही चुनावमा पार्टीले दीपक मनाङेलाई मनाङमा उम्मेदवार बनायो ।

मनाङेको उम्मेदवारीप्रति विरोध जनाउँदा पारुलले आफ्नै टिकट भने गुमाउन पुगे । एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी रोजे । त्यसपछिको राजनीतिलाई किनारामा राखेर उनी पछिल्लो डेढ वर्षयता हरित विराटनगर अभियानमा लागेका छन् ।

राजनीति छाडेका पारुलले पहिरन पनि फेरेका छन् । साधु-सन्तले लगाउने गेरु वस्त्र धारण गरेका उनी हरेक दिन विराटनगरका सडकमा भेटिन्छन् । माछा-मासु खान छाडेका पारुल आत्मसन्तुष्टिका लागि गेरु वस्त्र लगाएको बताउँछन् ।

उनले सुरु गरेको वृक्षरोपण अभियानमा विराटनगरका १५० जना जति जोडिएका छन् । हरेक दिन बिरुवा गोडमेलमा भने ८-१० जना पालो गरेर खटिन्छन् । अहिले पारुलको परिचय राजनीतिकर्मीभन्दा पनि ‘हरियाली अभियन्ता’का रूपमा स्थापित भएको छ । पारुल र उनको समूहले वृक्षरोपणलाई अभियान बनाएको डेढ वर्ष कट्यो ।

त्यसअघि उनले सरसफाइ अभियान चलाएका थिए । विराटनगरको सत्यनारायण स्कुलको पछाडि फोहोर फाल्ने क्रम नरोकिएपछि उनको समूह तीन महिनासम्म राति जाग्राम बसेको थियो । अहिले त्यो स्थान सफा छ । डेढ वर्षको अवधिमा उनी र उनको अभियानका सदस्यले ८ हजार बढी बिरुवा रोपेका छन् । अधिकांश बिरुवा हुर्किंदैछन् ।

खण्डहर देखिएका सडक किनार हरियाली देखिन थालेको छ । फलफूलका बिरुवाले केही स्थानमा फल दिन थालेका छन् । यी बिरुवा चराको बच्चा हुर्काउने थलो पनि भएको छ । ‘हिजो सफा गर्दै जाँदा एउटा बिरुवामा जुरेलीको गुँड भेटियो, हामीलाई देखेपछि दुईवटा बच्चा कराए,’ पारुल भन्छन्, ‘हामीले लगाएको बिरुवामा बच्चा हुर्किएको देख्दा साह्रै खुसी लाग्यो ।’

विराटनगरको राजनीतिक वृत्तमा राम्रो छवि बनाएका पारुल जुलुस र सभा छाडेर बिरुवा हुर्काउने अभियानमा लाग्नुको कारण बालबालिका र वृद्धवृद्धा हुन् । सडक पेटीको घाममा स्कुले बालबालिका र बुढाबुढी उभिएको देख्दा बिरुवा रोप्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘पहिलेदेखि नै बिरुवा रोपिरहेको थिए, तर साथीहरूसँग सल्लाह गरेर अभियान चलाएको डेढ वर्ष भयो ।’

हरियाली अभियान’को परिणाम पनि देखिन थालेको छ । ‘विराटनगरमा एउटा श्रमदानको संस्कृति विकास गर्ने हाम्रो प्रयास हो,’ पारुल भन्छन्, ‘हामीले लगाएका बिरुवा ८ हजारभन्दा बढी भइसके, अझै रोप्दैछौं । हाम्रो लक्ष्य लगाएका जति सबै बिरुवा हुर्काउनुपर्छ भन्ने हो । कुनै मरे भने त्यो ठाउँमा तुरुन्तै अर्को रोप्छौं ।’

प्रकृतिप्रेमी पारुल त्यसअघि पनि बिरुवा रोप्ने र हुर्काउने अभियानमा थिए । छोटो अवधिमै विराटनगरका सडक किनारमा हुर्कंदै गरेका बिरुवाले अभियन्तालाई उत्साहित बनाइरहेको उनले बताए ।

विराटनगरको उत्तरी ढाटदेखि भारतीय सीमा क्षेत्र रानीसम्मको करिब ८ किलोमिटर क्षेत्रमा उनले बिरुवा रोपेका छन् । भित्री सडकमा पनि रोपेका छन् । बिरुवा हुर्काउन हरेक दिन पारुलको टोली अभियानमा खटिन्छ । बिरुवा संरक्षणका लागि रोपिएको क्षेत्रका स्थानीयलाई सहभागी गराइरहेका छन् ।

अभियानमा जोडिएकाहरूले बिरुवा खरिद गरेर ल्याउँछन् । पारुलको टिमले रोप्छ र सुरक्षित राख्न घेराबेरा गर्छ । व्यक्तिले जन्मदिन र विवाह उत्सवमा पनि बिरुवा दिन्छन् । ‘हाम्रो अभियान दिनहुँ हुन्छ । जाडोमा साँझ ४ बजेपछि र गर्मीमा ५ बजेपछि काममा निस्कन्छौं, किनभने त्यो बेला बिरुवालाई राम्रो हुन्छ,’ उनले भने ।

यो अभियान केवल बिरुवा रोप्नमा मात्र सीमित छैन, यसले एउटा संस्कारको विकास गरिरहेको उनी बताउँछन् । जन्मदिन, विवाह वर्षगाँठलगायत अवसरमा बिरुवा रोपेर उत्सव मनाउने चलन बढेको छ ।

अभियानका सदस्यहरू कसैको मृत्युमा श्रद्धाञ्जली दिन जाँदा समवेदना पत्र होइन, बिरुवा लिएर पुग्छन् र मृतकको नाममा लगाउँछन् । ‘यसरी रोपेको बिरुवामा परिवारको भावना जोडिन्छ र संरक्षण पनि हुन्छ,’ पारुलले भने ।

पूर्व क्षेत्रमा मृत्यु शोक र जन्मदिनमा वृक्षरोपण गर्ने अभियानको सुरुवात भने जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको थियो । जीवन विकासले सदस्यको परिवारमा जन्मदिन र मृत्यु शोकमा दुईवटा फलफूलको बिरुवा रोप्दै आएको छ ।

हरित अभियानका अभियन्ता पारुलका अनुसार वृक्षरोपण अभियानको सबै पक्ष सकारात्मक मात्रै छैनन् । बाटो किनारमा हुर्कंदै गरेका बिरुवा कहिलेकाहीँ उच्छृंखल व्यक्तिले भाँचिदिन्छन् । ‘जहाँ बिरुवा मरेको वा उखेलिएको छ, हामी त्यहाँ फेरि अर्को बिरुवा रोप्छौं,’ पारुलले भने, ‘हुर्काउन सबैको सहयोग चाहिन्छ ।’

अभियानको मुख्य चुनौती फराकिलो क्षेत्रमा रहेका बिरुवामा पानी पुर्याउनु हो । बर्खामा त समस्या छैन तर हिउँदा गाह्रो हुन्छ । पछिल्लो समय अभियानले एउटा विद्युतीय डेलिभरी भ्यान किनेको छ । यो भ्यानमार्फत बिरुवा रोप्न र पानी हाल्न सजिलो भएको छ । पारुलका अनुसार यो भ्यान चन्दा उठाएर खरिद गरिएको हो । भ्यान पारुलले नै चलाउँछन् । हाम्रो लक्ष्य विराटनगरका कुनाकाप्चासम्म बिरुवा रोपेर हरियाली बनाउनु हो,’ उनले भने ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार ००:००