समाचार

ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा


१५ असार २०८३, सोमबार ००:००


१५ असार, काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो ।

ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।

त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियान नै सञ्चालन गरिएको बताएको छन् ।

अवैध गतिविधि हुने भन्दै कालो सिसाका लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ ।

निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको प्रहरीको भनाइ छ ।

कतिसम्म भने सुन ओसारपसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाका सवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ ।

सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।

प्रकाशित : १५ असार २०८३, सोमबार ००:००