ताजा घटना

भारतीय आधार कार्ड लिएर क्यासिनोमा जुवा खेल्ने २ जना नेपाली पक्राउ


१६ चैत्र २०७८, बुधबार ००:००


भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने २ जना नेपाली नागरिक पक्राउ परेका छन् । नेपाली नागरिकहरू क्यासिनो प्रवेश गरी अवैद्यरुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको टोलीले काठमाडौँको छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्वारा संचालित वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो ।

क्यासिनो चेक जाँच गर्दा ३० टेवुल मध्ये नं. ११४ टेबुलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेहरूमा सुनसरी बकलौरी गा.वि.स वडा नं २ घर भएका वर्ष ४६ का मदन कार्की र सर्लाही ढुंग्रेखोला गा.वि.स वडा नं २ घर भएका वर्ष ३३ का वबिरमान भोलन छन् ।

उनीहरूको साथबाट पहेँलो रंगको रु ५०,०००।– को क्वाईन थान १, कालो रंगको रु १०,०००।– को क्वाईन ३ थान, निलो रंगको रु ५,०००।– को क्वाईन २ थान, निलो रंगको रु १,०००।– को क्वाईन ९ थान र भारतीय नक्कली आधार कार्ड २ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई तत्काल पक्राउ गरी काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय बबरमहल मार्फत जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौँबाट जुवा ऐनमा ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको छ । उनीहरूको साथबाट मानव शर्मा र विर भुटीया नामको भारतीय आधार कार्ड समेत फेला परेको हुँदा भारतीय आधार कार्ड नक्कली हुन सक्ने भएको हुँदा त्यस सम्बन्धमा समेत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार ००:००