काठमाडौं, नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो । माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् ।
‘हाम्रो प्रष्ट निर्णय छ– माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन । यो संसदीय दलकै निर्णय हो । यसबाट तलमाथि हुँदैन । सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधि सभाको अवरोध खुल्दैन’, उनले भनिन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक हालसम्म सञ्चालन हुन सकेन । प्रतिनिधि सभा बैठक सञ्चालन नियमावली अनुसार निर्धारित समयभन्दा २ घण्टासम्म बैठक बस्न नसके सूचना टाँस गरेर स्थगन गर्नुपर्ने हुन्छ । १५ मिनेट भनेको २ घण्टा सम्मलाई समय रह्यो ।
अब ५ः१५ मा बैठक बसेपनि हुन्छ । एकछिनका लागि निकास निकालिएको हो‚’ एक सचिवालय सदस्यले भने । भदौ १२ को प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवादको वातावरण सिर्जना भएको हो । यो विषयमा एमाले र माओवादी सांसद आम्नेसाम्ने भइरहेका छन् ।











प्रतिक्रिया