जिन्दगीमा सयौं यात्रा हुन्छन् कुनै यात्रा पलभरमै भुलिन्छन् त कुनै कुनै यात्रा त्यस्तो पनि हुन्छ जीवन्तसम्म दिल र दिमागमा अजर र अमर भएर मात्र बस्दैन कि, हरेक किताबका पानाहरुमा इतिहास भएर छापिन्छन् हो, त्यहि किताबका पानाहरुमा छापिएका एउटा सिंगो इतिहास जस्तो यसपटक हामीले गरेका १० दिने हाम्रो सफल यात्रा । हरेक यात्राको एउटा निश्चित गन्तव्य हुन्छ, हाम्रो यात्राको मुख्य गन्तव्य साल्पा, सिलुछो र पोम्लालुङ ।जुन सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा अवस्थित छ। सिक्किमेली ७ जना पाहुनाहरु सिक्किमबाट दुई दिनको यात्रापछि नेपालको राजधानी काठमाडौ आइपुगे । काठमाडौदेखि आज यात्राको पहिलो दिन एकाबिहानै चार बजे नै जिप गाडी चढेर महाकुलुङ बुङसम्मको यात्रा तय गर्याे । राजधानी काठमाडौ शहरलाई बिदाइ गरेर केहि समय पर खुर्कोटतिर पुग्दा ऐनै ऐनाको शहरले साच्चै नै मनै लोभ्याइदियो । खुर्कोटदेखि करिब २ घन्टाको यात्रापछि उदयपुरको घुर्मीमा खाना खान पुग्यो । खाना खाएर ओखलढुंगा हुँदै उकालो यात्रा गर्यो ओखलढुंगा र सोलुखुम्बुको सिमाना रहेको पत्तालेमा केहि समय गाडी रोक्यो र विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालका थुप्रै दृश्यहरु नियाल्दै निक्कै लोभलाग्दो केहि तस्विरहरु समेत खिच्न भ्यायौं । दिनभरीको करिब १४ घण्टाको यात्रापछि महाकुलुङको बुङ पुग्यो । आजको पहिलो बास महाकुलुङ होटल एण्ड लजमा बस्यो ।
आज यात्राको दोस्रो दिन, मिरमिर उज्यालोसँगै सबैजना उठेर चियानास्ता गर्यो । बुङदेखि महाकुलुङका केहि भू–भागहरु देखिए स्वर्ग झैं लाग्ने कुलुङ बस्तीहरु । यात्रामा रहेका सबैभन्दा पाको बुवा ८४ वर्षका धन बहादुर कुलुङको मुहार निक्कै हँसिलो र उत्साहित देखियो बुवासँग र टीममा रहेका डा.रीना कुलुङ, ममता कुलुङ र कर्णमान कुलुङसँग महाकुलुङ आफ्नो पुर्ख्यौली भूमिमाथि उभिएर हामीले पहिलो अनुभूति यसरी क्यामेरामा कैद गर्यों । त्यसपछि बुङदेखि गुदेलतर्फ अगाडी बढ्यौं । पिल्मो कटेर छेस्कामको नजिक पुग्यों गाडीबाट झरेर केहि समय तस्विर लियौं र ममता कुलुङले महाकुलुङको भुमि टेक्न पाउदा स्वर्ग पुगेको आफ्नो अनुभूति व्यक्त गरिन् । करिब २ घण्टाको यात्रापछि हामी गुदेल पुग्याैं । अबको केहि दिन गुदेल कोपिला गेष्ट हाउसमा हाम्रो बास रहनेछ। कोपिला गेष्ट हाउसमा हामीले दिउसोको खाना खायौं त्यसपछि अलि माथि उक्लिएर साँझपख सम्म गिरनामान मान्थेर्बुले गरेका कुलुङ जातिको एक संस्कृति कुलु नागी हेर्याैं । नागी सकेपछि बेलुकी महाकुलुङमा गरिने र सिक्किममा गरिने कुलु नागीको भिन्नताको विषयमा डा. रीना कुलुङ, ममता कुलुङ र कर्णमान कुलुङले आ-आफ्नो विचार यसरी व्यक्त गरे ।
आज यात्राको तेस्रो दिन, आजको हाम्रो गन्तव्य पोम्लालुङ पुगेर गुदेल बास आइपुग्नु रहेको छ। पोम्लालुङ विश्वभरि छरिएर रहेका सारा कुलुङ जातिको मृत आत्मालाई पठाउने एक पवित्र स्थल हो । जसलाई कुलुङहरुको आस्थाको केन्द्र अर्थात एक स्वर्गद्वारको रुपमा पनि चिन्न सकिन्छ। गुदेल कोपिला गेष्ट हाउसबाट लगभग डेढ घन्टाको उकालोपछि हामी गोयेलुङमा पुग्याैं । गोयेलुङबाट महाकुलुङका सबै भूभाग देखिने भएकाले हामी निक्कै रमायौं र केहि समय तस्विरहरु कैद गर्यो । त्यसपछि ठाडै उकालोको यात्रा हस्याङपस्याङ गर्दै निरन्तर अघि बढ्यौं । केहि माथि पुगेपछि झोलामा बोकेका खाजापानी र चकलेटहरु खायौं । १ वर्ष अगाडी मात्र ट्रयाक ओपन भएको रोडैरोड कुराकानी गर्दै अघि बढ्यौं । नयाँ रोडको कारण पुराना गोरेटो बाटाहरुको अस्तित्व हराइरहेको पायौं । केहि समय पुरानो गोरेटो बाटो भुलेर जंगलभित्र अल्मलियौं केहि घन्टाको हिडाईपछि बल्ल पुरानो बाटो निस्क्यौं । र पोम्लालुङ नजिक पुग्यौं । हामी पुरै भोकाइसकेका थियौं । केहि खाजानास्ता पकाई खाएर पोम्लालुङको शिरमा जाने निधो गर्यो । त्यहि अनुरुप दाउरा बटुलेर खाजा पकाउन सुरु गर्यो ।
खाजापछि करिब ४० मिनेट ठाडै उकालो चढेपछि हामी पोम्लालुङको शिरमा पुग्यौँ । पोम्लालुङको शिरमा पुग्न पाउँदा संसारकै सबैभन्दा ठुलो सफलता प्राप्त भएको अनुभूति गर्दै केहि समय मज्जाले रमायौं र, एक आपसमा खुसि साटासाट गर्यौं । पोम्लालुङलाइ पुरै एक फन्को गर्ने हाम्रो योजना अनुरुप हामी दायाँ तर्फबाट ओरालो झर्न सुरु गर्यौं । बाटोले साथ छोडिसकेको थियो तर हामीले पोम्लालुङ पुरै परिक्रमा गर्नुछ। त्यो सँगसँगै यात्रामा रहेको ८४ वर्षको पाको बुवालाई अप्ठ्याराहरुमा जोगाउनुछ । हाम्रो ग्रुपका ट्रेकिङ लिडर समिप मान्थेर्बुले बुवालाई हातमा समाएर बिस्तारै दोहोर्याउदै ओरालो झर्यौं । जब पोम्लालुङको शिरमाथि हाम्रा पाइलाहरु बिसायौं तब यात्राका सबैजनाले यसरी पोम्लालुङलाई ढोगेर आफ्ना पुर्खाहरुलाई एकचोटी मज्जाले आँखा चिम्लेर स्मरण गर्यौं । त्यसपछि निरन्तर ओरालो झर्यौं पोम्लालुङको बिचमा बसेर पोम्लालुङप्रतिको आ–आफ्नो मनोभावना यसरी सार्वजनिक गर्यो । ठाउँ ठाउँमा बाटो निक्कै अप्ठ्यारो भएतापनि पोम्लालुङ पहिलोचोटी दर्शन गर्न पाएकोमा निक्कै खुसि देखिए पाको बुवा धन बहादुर कुलुङ । पोम्लालुङ एक फन्को गर्दा पुरै घोधुली साँझ परिसकेको थियो । पोम्लालुङ सम्बन्धी स्थानीय सरकारलाई केहि सुझाव सहितको आफ्नो धारणा समिप कुलुङ, मन्जिता कुलुङ र गणेश कुलुङले राखे र अजय अलङकारले पोम्लालुङबारे केहि ऐतिहासिक जानकारी राखेर अँधेरी साँझसँगै गुदेलतर्फ फर्क्यौं । गुदेल करिब रातीको १० बजेतिर आइपुग्यौं ।
यात्राको आज चौथो दिन, आजको यात्रा गुदेलबाट तुमाउसम्म बिहानको समयमा जाने र दिउँसोको समय कुलुङ संस्कृति देदाम अवलोकन गर्नु रहेको छ । तुमाउ, टिममा रहेका ट्रेकिङ लिडर गणेश कुलुङ र अजय अलङकार कुलुङको जन्मभूमि पनि हो । करिब गुदेलदेखि आधा घण्टा तेर्सैतेर्सो हिडेपछि पुगिन्छ तुमाउ । हामीले तुमाउतर्फ यात्रा सुरु गरेको करिब २५ मिनेटपछि लुच्चाम डाँडामा पुग्यौं । त्यहि उभिएर डा. रीना कुलुङ, कर्णमान कुलुङ र मन्जिता कुलुङले आफ्नो विचार यसरी व्यक्त गरे त्यसपछि हामी गणेश कुलुङको घरमा पुग्यौं त्यहाँ सुनिता कुलुङ चेलीले आफ्नै हातले बुनेका सुता लगाइदिएर स्वागत र सम्मान गरिन् । भेटघाट भएकोमा खुसि व्यक्त गर्दै गणेश कुलुङको बुवाले आभार प्रकट गरे केहि समय चियानास्ता खाएर अजय अलङकारको घर हुँदै गुदेल फर्क्यौं । हामीले दिउँसोे गुदेलमा गिरनामान मान्थेर्बुले गरेको कुलुङ संस्कृति देदाम अवलोकन गरेर पुरै समय बितायौं । आज यात्राको पाँचौ दिन, हाम्रो मुख्य गन्तव्य साल्पा र सिलुछोको यात्रा तय गर्दैछौं । गुदेलबाट साल्पा र सिलुछो जान अब पैदल यात्रा गर्नुपर्नेछ । त्यसैले दुई जना भाइहरु बेडिङ बोक्ने सहयोगी तयार गर्यो । आजको हाम्रो यात्रा गुदेलदेखि सानामसम्मको रहने छ । गुदेलबाट यात्रा तय गर्दैगर्दा पाको बुवा धन बहादुर कुलुङ, डा. रीना कुलुङ र ममता कुलुङ नानाहरु यसरी उत्साहित देखिए । हामी केहि समय उकालो चढेर गुदेलको शिरानतिर पुगेपछि पहाड बोके झैं घाँसदाउरा र पत्करको भारी बोकेर आउँदै गरेको गाउँले कुलुङ चेलीहरुसँग भेट्यौं । लगभग तीन घन्टाको हिडाईपछि हामी निम्चोला खाना खान पुग्यौं‘ । निम्चोलामा हामीले नुन, घ्यु र पीठो हालेको सु–चिया खायौं । महाकुलुङमा सु–चिया खाने प्रचलन निक्कै अगाडी देखिको हो । हामीले मज्जाले खाना खायौं । निम्चोलामा खाना खाएपछि केहि पर पुग्दा निर्मल झरना भेट्यौं । झरनासँगै केहि समय सामुहिक तस्विर खिच्यौं त्यसपछि ठाउँ ठाउँमा बिसाउदै बाटोहरुमा गीत गाउदै, रमाउदै यात्रा निरन्तर अगाडी सार्यौं । निम्चोलादेखि करिब २ घन्टाको हिडाईपछि हामी सानाम पुग्यौं । सानाम हामीले सोचेभन्दा छिट्टै उज्यालोमै पुगिएकाले होला हाम्रो टोलीमा रहेका पाको बुवा धन बहादुर कुलुङले समेत थकित महसुस गरेनन् ।
आज हाम्रो यात्राको छैठौ दिन, आजको हाम्रो गन्तव्य कुलुपोङखो पुग्नु हो । कुलुपोङखो समुन्द्री सतहदेखि ३,३५८ मिटरको उचाइमा रहेको छ । सानामदेखि कुलुपोङखोसम्म बिचमा खाना खाने ठाउँहरु नभएकाले हामीले बिहान उठ्ने बित्तिकै खाजानास्ता खायौं । खाजा खाएपछि डा. रीना कुलुङ, मोहन कुमारी कुलुङ र बुवा धन बहादुर कुलुङको बाइट लिएर हामी कुलुपोङखोतर्फ प्रस्थान भयौं । करिब १ घन्टाको यात्रापछि हामी वाक्खा पुग्यौं । वाक्खादेखी सिधै उकालो बाटो सुरु भयो । अलिमाथि बुदुम खोलाको छेउको चौतारामा केहि समय बिसायाैं । त्यसपछि बुदुम खोला कटेर गन्तव्यतर्फ अघि बढ्यौं । चेप्लेटी उकालोमा बाटाभरी हिउँ मुसुक्क मुस्कुराइरहेको भेट्यौं । हामीले हिउँसँग साइनो गास्दै उकालो यात्रालाई निरन्तर अघि बढायौं । हिवैहिउँले सेताम्मे बनाइसकेका बाटोहरुले कहिले लडाउन खोज्छन् त कहिले चिप्ल्याउन । तर, जीवनमै पहिलोपटक हिउँमाथि यात्रा गर्दाको पहिलो अनुभूतिले डा. रीना कुलुङ र ममता कुलुङ नानालाई उत्साह र उमंगले मनभरी हर्ष उल्लास थपिदिए । र उनीहरु हिउँमाथि आफ्ना उल्लासमय अनुभूतिहरु यसरी पोखाउदै पोखाउदै अघि बढें । यत्तिकैमा हामी कुलुपोङखो पुग्यौं ।
आज यात्राको सातौ दिन, हाम्रो यात्राको मुख्य गन्तव्य चुम्ने दिन आँखाभारी सुन्दर सपना र मुटुभरी अटुट विश्वास लिएर ४,१५३ मिटरको उचाइमा रहेको सिलुछोको टुप्पोमा पाइला राख्ने दिन जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत सयौं हिमालहरु देखिन्छन् । मनमा केहि उत्साह छन् त केहि डर पनि । ८४ वर्षका बुवा धन बहादुर कुलुङ लगायत यात्राका केहि व्यक्तिहरु सिलुछो पिक नजाने भयो । हामी सिलुछो चढ्ने टिममा पर्यौं । हामी रातीको १ बजे उठ्दा यात्राका सहयोगी कुम्भराज कुलुङ भेनाले सम्पूर्ण खाजानास्ता तयारी गरिसकेका थिए । हामीले मज्जाले तातो सुपहरु खाजा खायौं त्यसपछि रातीको ठ्याक्कै २ बजे कुलुपोङखोबाट सिलुछोतर्फ यात्रा अघि बढायौं । सबैसँग लाइटको व्यवस्था थिएन । एकले अर्कोलाई लाइट देखाउदै बिस्तारै अघि बढ्यौं । करिब आधा घन्टाको हिडाइपछि साल्पा पोखरी पुग्यौं । अँधेरी रात भएकोले साल्पामा फर्किदा दर्शन गर्ने सल्लाह गर्यों । साल्पादेखी ठाडै उकालो कुनै कुनै ठाउँ खुट्टा राख्न ठाउँ पनि नभएजस्तो धेरै अप्ठ्यारा बाटाहरु । लेकको यात्रा रातीको हावाहुरी सँगै निक्कै भीरपाखाहरु छिचोल्दै अघि बढ्यौं कुलुपोङखोदेखि ४ घण्टा २५ मिनेटको साहसपूर्ण यात्रापछि हामी मिरमिर उज्यालोसँगै सिलुछो पिकको शिखर चुम्न सफल भयौं । हाम्रो टिमका ममता कुलुङ नाना अगाडी पुगिन् । र, हामी उनको पछि पछि पुग्यौं । सिलुछोबाट देखिएका हिमालका सुन्दर दृश्यहरुले हामीलाई पुरै स्वर्गको अनुभूति गराइरहेको थियो । उकालो चढ्दाको सारा थकाइहरु मेटाईरहेको थियो ।

सिलुछोको मनमोहक दृश्यले जीवनका हरेक दुःख कष्टहरु एकैछिन भएपनि भुलाइदिएको महसुस गरिरहेका थियौं समिप मान्थेर्बुले हामीलाई केहि हिमालहरु चिनाउने प्रयास गरे । हावाहुरीले उत्तिकै चुनौती दिईरह्यो हामीलाई । सफलतापुर्वक सिलुछो आरोहण गरिएकोमा एक आपसमा खुसि साटासाट गर्यौं र सिक्किमबाट पहिलोपटक सिलुछोको चुचुरामा पाइला टेक्न सफल ममता कुलुङ, डा. रीना कुलुङ र मन्जिता कुलुङलाई यसरी बधाई दियौं त्यसपछि सिलुछोको शिखरमा उभिएर आफ्नो अनुभूति तीनैजना नानाहरुसँग सियर गर्यो । सिलुछो चुचुरोमा करिब १ घण्टाको बसाईंपछि हामी साल्पातर्फ ओरालो झर्यौं । साल्पामा अघि छुटेका हाम्रो टोलीसँग भेट्नुछ र साल्पाको दर्शन गर्नुछ । हामीलाई लाग्दैछ सायद संसारमा स्वर्ग भनेकै यहि हो, जुन सफलतापुर्वक हामीले आरोहण गर्यो । मनमा यस्तै यस्तै भावहरु खेलाउदै ओरालो झर्न सुरु गर्यों तर हावाहुरीले कहिल्यै साथ छोडेन हामीलाई पछ्याइरह्यो केहि अलि तल भकारी छिर्वामा आइपुगेपछि बाटोको दायाँबायाँ हेर्यौं र हामीलाई लाग्यो कि राती यस्तो अप्ठ्यारो बाटो कसरी हिड्यो होला भकारी छेर्वा कटेर तल सेपिलो ठाउँमा आएर झोलामा बोकेका केहि खाजानास्ता खायौं ।

करिब २ घण्टा ओराली झरेपछि हामी साल्पा पोखरी आइपुग्याैं । त्यहाँ अघि छुटिएका टोलीसँग पुन: भेट भयो । हामीले सामुहिक रुपमा साल्पाको दर्शन गर्यो । सिक्किमबाट ८४ वर्षको उमेरमा साल्पा आइपुग्ने पहिलो व्यक्ति पाको बुवा धन बहादुर कुलुङ, मोहन कुमारी कुलुङ र कर्णमान कुलुङले आफ्ना मनोभावनाहरू साल्पा पोखरीमाथि यसरी पोखाइराख्यो । त्यसपछि हामी हतारै हतारमा कुलुपोङखोतर्फ फर्क्यौं । किनकि कुलुपोङखोमा खाना खाएर आज सानामसम्म झर्नुछ । हामीले हिड्नुपर्ने बाटोहरु निक्कै लामो छ । कुलुपोङखोमा खाना खाएपछि ओरालो बाटो सुरु गर्यो हिजो उकालो चढ्दा भेटिएका हिउँहरुले हामीलाई नै बाटाभरी कुरिरहेको जस्तो महसुस गर्यो । उकालोमा भन्दा ओराली झर्दा धेरै चिप्लिने डर । हामी केहि तल चेप्लेटी ओरालो आइपुग्यों सेताम्य हिउँ बाटोभरी उस्तै छन् । साथमा ८४ वर्षको बुवालाई सम्हालेर ओराली झर्नुछ । कुलुपोङखोदेखि करिब ३ घण्टाको यात्रापछि पुरै थकित शरीरलाई सानाममा बिसाउन ल्याईपुर्यायौं ।

आज हाम्रो यात्राको आठौ दिन, यस पटकको सारा गन्तव्यहरु पोम्लालुङ, कुलुपोङखो, साल्पा र सिलुछो आरोहण गरेर फर्किदै गरेका हाम्रा टोली, आज गुदेल पुगेर कोपिला गेष्ट हाउसमा बस्नेछौं । भोलिको यात्रा नवौं दिन महाकुलुङको बुङसम्म पुगेर महाकुलुङ होटेल एण्ड लजमा बस्नेछौं भने पर्सीको यात्रा दशौँ दिन बुङदेखि हामी काठमाडौ पुग्नेछौं । समग्रमा यसपटकको दशौं दिनको यात्रा साच्चै नै जीवनको एक अविष्मरणिय बन्यो । धार्मिक, साँस्कृतिक र सामाजिक हिसाबले एक ऐतिहासिक यात्रा बन्यो । खोज अनुसन्धान र अध्ययनको हिसाबले जीवनकै एक महत्वपूर्ण ज्ञानवर्द्धक र उपलब्धिमुलक सफल यात्रा रह्यो ।












प्रतिक्रिया