Breaking News Post

गुदेल माविको स्थापना र माविको शैक्षिक सफलता ।।


१४ असार २०८२, शनिबार ००:००


✍ अजय अलङकार

शिक्षाको उज्यालो ज्योति छर्ने सुन्दर परिकल्पनाका साथ् करिब आजभन्दा ६ दशक अगाडी तत्कालीन प्रधानपञ्च किताबसिं होदिबु कुलुङको अगुवाइमा गुदेल गाउँ पञ्चायत भित्रका सारा बुद्धिजीवीहरुले सर–सल्लाह गरी गुदेल गाउँको सिरान सामहुस्को भन्ने ठाउँमा ऐलानी जग्गामा सम्पूर्ण गाउँलेहरुबाट चित्रा र भकारी संकलन गरी अस्थायी टहरो बनाई वि.स.२०१७ सालबाटै अनौपचारिक रुपमा सामान्य क ख पढाउने कार्य सुरुवात् गरिएतापनि औपचारिक रुपमा भने वि.स.२०१९ सालबाट श्री गुदेल माध्यमिक विद्यालय, तत्कालीन गुदेल पाठशालाको रुपमा स्थापना भएको हो । विगत ६० वर्षदेखि समाजमा शिक्षाको प्रकाश छर्दै अनवरत रुपले चम्किरहने यस गुदेल माध्यमिक विद्यालय प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको सुदूरपूर्व महाकुलुङ गाउँपालिका ४ नम्बर वडाको २७ डिग्री २९ मिनेट ५५ सेकेन्ड उत्तरी अक्षांस र ८६ डिग्री ४८ मिनेट २५ सेकेन्ड पूर्वी देशान्तरमा अवस्थित छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको तल्लो फेदीमा अवस्थित किरात मुन्दुमको केन्द्रविन्दु मानिने सिलिछोको न्यानो काखमा समुन्द्र सतहदेखि १९०० मिटरको उचाइ तथा उच्च पहाडी भूगोलको स्वच्छ र सुन्दर वातावरणमा स्थापित यस विद्यालयले ECD का लागि साविक गुदेल गा. वि. स. ४ र ५ नम्बर वडा, आधारभूत तहका लागि महाकुलुङ गाउँपालिकाको ४ र ५ वडा र मावि तहका लागि महाकुलुङ गाउँपालिकाको ४ र ५ नम्बर वडा पूरै र, ३ नम्बर वडाको केहि क्षेत्रहरु लगायत सोताङ गाउँपालिकाको ४ नम्बर वडालाई समेत आफ्नो सेवा क्षेत्रभित्र समेट्न सफल रहेको छ ।

२०१९ सालमा स्थापना भएको यस गुदेल माध्यमिक विद्यालयलाई एकचोटी पछाडी फर्केर हर्ने हो भने शैक्षिक क्षेत्रमा अथाह गर्व गर्न लायक छलाङ मारेको पाइन्छ । विद्यालयको स्थापना कालदेखि वि.स. २०३६ सालसम्म तत्कालीन शिक्षा संरचना अनुसार कक्षा १ देखि ३ सम्म संचालनमा रह्यो । कक्षा ३ सम्मको पढाइपछि घरको गुन्द्रुक र पिठो बोकेर ३/४ दिनको बाटो हिडेर टाढा अन्यत्र गएर शिक्षा आर्जन गर्नुपर्ने वाध्यात्मक परिस्थिति थियो । जुन बाध्यतालाई मध्यनजर गर्दै तत्कालीन प्रधानपञ्च मोतिनन्द छेन्हो कुलुङको पहलमा वि.स. २०३७ सालमा यस विद्यालयलाई निम्न माध्यमिक विद्यालय तहसम्म सन्चालन गर्न सफल रह्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि जनचेतनाको वृद्धि र समयको परिवर्तनसँगै तत्कालीन प्रथम गुदेल गा.वि.स. अध्यक्ष तथा बि.व्य.स अध्यक्ष ज्ञान बहादुर आयबु कुलुङको पहलमा वि.स. २०५३ सालमा कक्षा १ देखि १० सम्म माध्यमिक विद्यालय सन्चालन गर्दै दोस्रो गा.वि.स. अध्यक्ष तथा वि.व्य.स. अध्यक्ष नरेन्द्र बहादुर होदिबू कुलुङको पहलकदमी तथा नेतृत्वमा वि.स. २०७१ सालदेखि कक्षा १ देखि १२ सम्म संचालन गर्न सफल भएको छ ।

अहिले ECD देखि कक्षा १२ सम्म छात्रा २५६ र छात्र २४१ गरी जम्मा ४९७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको यस गुदेल माध्यमिक विद्यालय सोलुखुम्बु जिल्लाकै “सर्वसुलभ गुणस्तरीय शिक्षा, गुदेल माविको प्रतिबद्धता” भन्ने मुल नाराका साथ शिक्षा प्रदान गर्ने एक नमुना विद्यालयको रुपमा स्थापित रहेको छ । शैक्षिक सत्र २०७८ सालसम्म ७४० जना विद्यार्थीले यस विद्यालयबाट SLE अर्थात SEE उतिर्ण गरिसकेको छ । साथै, शिक्षा र व्यवस्थापन संकायमा १८२ जना विद्यार्थीहरुले कक्षा १२ उतिर्ण गरी राज्यको विभिन्न तह र ओहदामा पुगिसकेको रेकर्ड छ । कक्षा ११ मा ५६ जना र कक्षा १२ मा ४२ जना गरी +२ मा मात्र अहिले ९८ जना विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा २% विश्वकर्मा, ५% शेर्पा, केहि खालिङ, केहि नाछिरिङ भने बहुसंख्यक लगभग ९३% आदिवासी किरात कुलुङ विद्यार्थीहरु रहेका छन् । दक्ष तथा अनुभवी शिक्षकहरुको कुशल शिक्षण एवं विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ, लगायत थुप्रै कालखण्डका गुदेलाबासी चन्दादाता, बुद्धिजीवी, जग्गादाता एवं सम्पूर्ण सरोकारवाला व्यक्तिहरुको ज्यादै महत्वपूर्ण सहयोग र सद्भावको उपजस्वरुप विद्यालयले अहिले साच्चै नै गुणस्तरीय शिक्षा प्रदान गरी सयौँको संख्यामा दक्ष जनशक्ति निर्माण गर्दै विद्यालयलाई यो उचाइमा पुर्‍याउन सफल भएको छ । यस गुदेल माध्यमिक विद्यालयले वि.स. २०५५ सालदेखि SLC परिक्षामा सहभागिता जनाउदै आइरहेको छ । अंकगणितीय हिसाबले विद्यार्थीहरुको SLC उतिर्ण नतिजालाई सफलताको आधार मान्ने हो भने यस विद्यालयले अपार सफलता हात पारिसकेको मान्न सकिन्छ । र, शैक्षिक क्षेत्रमा राज्यलाई ठुलै टेवा पुर्‍याउन सकेको अर्थ्याउन सकिन्छ ।  हाल यस विद्यालयमा शिक्षक कर्मचारीहरु मावि दरबन्दी १ जना, मावि राहत दरबन्दी ३ जना, निमावि दरबन्दी ३ जना, निमावी राहत दरबन्दी १ जना, प्रावि दरबन्दी ६ जना, ECD २ जना, लेखापाल १ जना, कार्यालय सहयोगी १ जना र कक्षा ११/१२ संचालनार्थ गा.पा. अनुदान निजि श्रोत शिक्षक ३ जना साथै प्रदेश मावि स्वयंसेवक १ जना, विद्यालय नर्स १ जना सहित जम्मा २३ जना कार्यरत रहेका छन् ।

वि.स. २०७१–२०७५ सालसम्म शिक्षा संकाय र २०७६ सालदेखि शिक्षा तथा व्यवस्थापन संकायमा कक्षा ११ र १२ संचालन हुँदै आईरहेको छ । यस विद्यालयको कक्षा ११ र १२ को नतिजा समेत निक्कै सन्तोषजनक रहेको छ । विद्यार्थीहरुको उत्कृष्ट नतिजा, व्यक्तित्व विकास, खेलकुद सम्बन्धी विकास, सामाजिक र व्यावहारिक ज्ञानको हिसाबले हेर्दा छोराछोरी महँगो तथा निजि विद्यालयमा पढाए मात्र उज्वल भविष्य बन्छ र अविभावकहरुको सामाजिक मान, प्रतिष्ठा बढ्छ भन्ने आम मानवीय मनोविज्ञानलाई यस गुदेल माध्यमिक विद्यालयले राम्रैसँग चिर्न सफल रहेको छ । विद्यार्थीहरुको प्रयोगात्मकको लागि कम्प्युटर, विज्ञान प्रयोगशाला तथा अन्य बौद्धिक ज्ञानका लागि आकर्षक पुस्तकालयको व्यवस्था गरिएको छ । प्रयोगात्मक तथा सैद्धान्तिक दुवै तरिकाबाट विद्यालयको शान्त अनि सुन्दर वातावरणमा तालिम प्राप्त तथा दक्ष अनुभवी शिक्षकहरुबाट पठनपाठन हुने भएकोले महाकुलुङ गाउँपालिका भित्रका साथै छिमेकी गाउँपालिका सोताङ गाउँपालिकाबाट समेत विद्यार्थीहरु पढ्न आउने विद्यालयको अर्को सकारात्मक सुन्दर पक्ष रहेको मान्न सकिन्छ । गाउँको बीचैमा अवस्थित यस गुदेल माध्यमिक विद्यालयको २ वटा ठुल्ठुला भूकम्प प्रतिरोधी RCC पक्कि भवन रहेका छन् । सोहि भवनमा कक्षा ११/१२, कक्षा ९ र १० का विद्यार्थीहरुको ऐच्छिक विषय साथै कम्प्युटर कक्षा स्वच्छ र शान्त वातावरणमा संचालन हुँदै आइरहेको छ ।  विद्यालयको जम्मा २७ वटा कक्षाकोठाहरु मध्ये २४ वटा भूकम्प प्रतिरोधी रहेका छन् । छात्रा/छात्र तथा बालकक्षाका लागि बेग्लाबेग्लै शौचालयको व्यवस्था रहेको छ भने २ वटा खेलमैदान रहेका छन् । हाल विद्यालयसँग लगभग १० रोपनी जग्गा रहेको छ । सर्वशुलभ र गुणस्तरीय शिक्षाको साथसाथै अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अब्बल रहेको यस गुदेल माध्यमिक विद्यालय अनुशासित तथा सुन्दर शैक्षिक वातावरण निर्माण गर्नमा एक कदम अगाडी रहेको छ । विभिन्न तहका विद्यार्थीहरुको शैक्षिक नतिजा, अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थी प्रतियोगीहरुको नतिजालाई मात्र मध्यनजर गर्ने हो भने जिल्ला भित्रकै एक नमुना एवं सर्वोत्कृष्ट विद्यालयको रुपमा लिन सकिन्छ ।

स–साना बालबालिकाको मनोबिज्ञानलाई ख्याल गर्दै सिकाइ पद्धतिलाई बालमैत्री बनाउदै आइरहेको यस विद्यालयले किताबी ज्ञान सँगसँगै विशेष अतिरिक्त क्रियाकलापको माध्यमबाट समेत विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा जोड दिदै आइरहेको छ । यस विद्यालयले आफ्नो ६० वर्षे यात्राको इतिहासलाई संग्रहित गर्दै विद्यालयको हीरक स्मारिका २०७९ प्रकाशन गरिसकेको छ । साथै, प्रतिनिधिसभा सदस्य माननीय मानवीर राईको प्रमुख आतिथ्यता र ख्यातीप्राप्त लोकप्रिय कलाकारहरु वरिष्ठ गायक शम्भू राई, गायिका सुनिता थेगिम, गायक राजेन्द्र केरुङ, गायिका लिला राई, गायक अजय अलङकार कुलुङ, मोडल मनिता बुख्खो कुलुङ र नृत्यांगना विनिता बुख्खो कुलुङको विशेष उपस्थितिमा हजारौं दर्शकहरुमाँझ विद्यालयले एक ऐतिहासिक हीरक महोत्सव २०७९ लाई सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ।

यस विद्यालयको पढाइ समाप्तिपछि माथिल्लो तहको उच्च शिक्षा हासिल गरी विभिन्न तह र ओहदामा पूर्व विद्यार्थीहरु पुगिसकेको तथ्याङ्क धेरै लामो रहेको छ । यहि कुरालाई गुदेल माध्यमिक विद्यालयले स–गौरव महसुस गरेको छ । प्रशासन, स्वास्थ्यशिक्षा र प्राविधिक तहबाट लोकसेवा आयोग पास गरी दर्जनाैं पूर्व विद्यार्थीहरु सरकारी सेवामा रहेका छन् भने सयौंको संख्यामा स्थायी तथा अस्थायी शिक्षण सेवामा रहेका छन् । त्यस्तै बैंक तथा वित्तीय क्षेत्रमा दर्जनभन्दा बढीले काम गरिसकेका छन् भने सेना/प्रहरी सेवामा पनि कार्यरत रहेका छन् । थुप्रै पूर्व विद्यार्थीहरु पर्यटन, होटल, व्यापार, यातायात व्यवसायमा सफल उद्धमी बनिसकेका छन् भने कोहि राजनीतिज्ञ, पत्रकार, कलाकार, साहित्यकार समेत बन्न सफल भईसकेका छन् । वैदेशिक रोजगारको शिलशिलामा कोहि अमेरिका, कोहि जापान, अस्ट्रेलिया, बेलायत र कोरिया लगायतका देशहरु पुगिसकेका छन् भने दर्जनभन्दा बढीले विभिन्न विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरिसकेका छन् । यिनै पूर्व विद्यारर्थीहरुको सफलतालाई विद्यालयले आफ्नो सफलताको अर्को खुड्किलो सम्झने गरेको छ ।  नेपालका हजारौं सरकारी तथा निजि विद्यालयहरुको भीडमा यस गुदेल माध्यमिक विद्यालयले आफ्नो छुट्टै विद्यालय गान २०७९ निर्माण गरी विद्यालयलाई संगीतमय विद्यालय, आफ्नो छुट्टै गान सहितको एउटा नमुना लोकप्रिय विद्यालयको रुपमा स्थापित बनाउन सफल बनेकोे छ । अत्यन्तै लगनशील एवं अनुशासित विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिको उचित अनुगमन र व्यवस्थापन अनि अनुभवी तथा दक्ष शिक्षकहरुको अध्यापनकै कारण विद्यालयले शिखर चुम्न सफल भईरहेको आम गुदेलवासी अभिभावकहरुले महशुस गरिरहनु भएको छ ।

 

प्रकाशित : १४ असार २०८२, शनिबार ००:००