Breaking News Post

राजालाई गद्धी छोड्न लगाउने निडर अनि प्रखर नेता डा.गोपाल गुरुङ


६ श्रावण २०८२, सोमबार ००:००


राजनीतिक क्षेत्रका एक शिखर व्यक्तित्व/निडर अनि प्रखर नेता हुन् डा.गोपाल गुरुङ । उनको जन्म विं स. १९९६ साल मङ्सिर २२ गते बुवा वेज बहादुर गुरुङ र आमा कुमारी गुरुङको कोखबाट जेठो सन्तानको रुपमा दार्जिलिङको महानदी भन्ने ठाउँमा भएको हो । उनले २०३६ सालमा त्रिभुवन विश्व विद्यालय किर्तिप्रबाट राजनीतिमा एम ए सम्मको अध्ययन पुरा गरेका थिए। डा. गोपाल गुरुङको न्वारानको नाम गोपाल नै रहेतापनि उनले विभिन्न साहित्यिक लेख रचनाहरुमा यात्री भनेर उपनाम राखेका थिए तर उनि गोपाल नामले नै चिरपरिचित भए । निम्न मध्यम वर्गीय परिवारमा जन्मेका डा.गोपाल गुरुङ सानै उमेरदेखि अति नै छुकछुके र चकचके स्वाभावका थिए । उनका दुई जना बहिनी र तीन जना भाइहरु रहेका छन् । उनले लमजुङको देवीका गुरुङसँग विवाह गरि ललितपुरको बागडोलमा आफ्नै घरमा बसेका थिए । उनका एक छोरा होनी तमु रहेका छन् । हाल उनका छाेरा, बुहारी र एक नाति अस्ट्रेलियामा बसोबास गरिरहेका छन् । डा.गोपाल गुरुङको घरको आर्थिक अवस्था उनको पिता सैनिक सेवामा रहुन्जेल राम्रै थियो तर, सैनिक सेवा छोडेर राजनीतिमा लागेपछि ज्यादै नाजुक र संकट अवस्था बनेको थियो । डा. गोपाल गुरुङले आफ्नो बाल्यावस्था गाउँले पारामा दुख,कष्ट र अभावपूर्ण तरिकाले बिताएका थिए। गाउँकै स्कुलमा पढ्ने, फुटबल खेल्ने, डण्डीबियो र लाप्पा खेल्ने एक प्रकारले चकचके स्वाभावका थिए । उनले दार्जिलिङको गाउँले पाठशाला महानदीबाट प्राथमिक शिक्षाको शुभारम्भ गरि खर्साङको पुष्परानी हाइस्कुलबाट माध्यमिक तहको अध्ययन पुरा गरेका थिए । अनेको संघर्षका बावजुद वि.सं. २०१६ सालमा बोर्ड अफ सेकेण्डरी एजुकेशन वेस्ट बेङ्गालबाट प्राइभेटमा म्याट्रिक पास गरेका गुरूङले वि.सं. २०२४ सालमा त्रिभुवन विश्व विद्यालयबाट आइ ए उतिर्ण गरेका थिए । उनले सरस्वती क्याम्पस ठमेलबाट नाइट कलेज पढेर बी ए उतिर्ण गरेका थिए। यसरी शिक्षा क्षेत्रमा अघि बढ्‌दै गढ़ कयौं बाधा व्यवधानको सामना गर्दै बी ए सम्मको अध्ययन सकेपछि ठुल्ठुला चुनौतीक सामना गर्दै विं स. २०२४ सालदेखि न्युलाइट नेपाली साप्ताहिक पत्रिकाको सम्पादन तथ प्रकाशन गर्न शुरु गरेका थिए । डा.गुरुङले वि.सं. २०२६ सालदेखि अर्को अंग्रेजी साप्ताहिक पत्रिका थण्डरबोल्टको पनि सम्पादन तथा प्रकाशन गरेका थिए। त्यसबाट आफ्नो आर्थिक अवस्था केहि सुध्रिएपछि वि.सं २०३६ सालमा त्रिभुवन विश्व विद्यालय किर्तिपुरबाट राजनीतिमा प्राइभेट परिक्षा दिई एम ए सम्मको अध्ययन पुरा गरेका थिए।

डा. गोपाल गुरुङको जागिरे जीवनले कुनै सरकारी वा संघ सस्थामा स्थायित्व लिन सकेको थिएन। उनको पारिवारिक आर्थिक समस्या तथा आत्मा निर्भरताको बाध्यात्मक परिस्थितिले गर्दा जस्तो अवस्थाको पनि जागिर खान बाध्य हुनु परेको थियो । त्यसैले उनि लामो समय शिक्षण पेशामा संलग्न रहेका थिए । डा.गुरुङ नेपाल आउने बित्तिकै इलाम जिल्लाको कोल्बुङ भन्ने ठाउँमा स्कुल स्थापना गरि पढाउने कार्य गरेका थिए । उनले वि.स २०१७ सालदेखि गौरीगञ्ज हाइस्कुलमा सहायक प्रधानाध्यापकको रुपमा एक वर्षसम्म काम गरेका थिए । त्यसपछि वि. सं २०१८ सालदेखि २०१९ सालसम्म,अनारमनी, बिर्ता जुनियर हाइस्कुलमा प्रध्यानाध्यापक भई काम गरेका गुरुङले वि.सं २०२० सालदेखि वि.स. २०२१ सालसम्म धरान डिपो हाइस्कुलमा शिक्षक भई काम गरेका थिए । त्यसैगरी काठमाडौको क्षेत्र पार्टी स्थित ब्राइट इङ्लिस् स्कुलमा समेत अध्यापन गरेका थिए भने म्याग्दी जिल्लाको राखु भन्ने ठाउँमा समेत अध्यापन गराएका थिए । डा. गोपाल गुरूङ यसरी जागिरे जीवनमा राजनीति कैयौं पटक हेपिनु परेकाले शिक्षक जीवन र साहित्यिक जीवनलाई पाखा लगाउदै नेपाली राजनीतिमा सक्रिय भएका थिए । उनले आफुले देखेको र भोगेको सत्य कुरा बोल्दा दुई पटकसम्म आफ्नो जागिरबाट निकालिएका थिए । उनले हेपिएका र पेलिएका ती शोषित र पिडित सम्पूर्ण मंगोलहरुको उद्वारको निम्ति मंगोल नेशनल अर्गनाइजेशन (MNO) संगठन स्थापना गरि संस्थापक प्रेसिडेण्टको रुपमा रहेर कार्य गरेका थिए । डा.गोपाल गुरुङले थुप्रै फुटकर कथा,कविता,निबन्ध,नाटक लेखेको थियो । उनको प्रकाशित पुस्तकका रुपमा भने शेष कविता-संग्रह-२०१८,शेष यात्रा-उपन्यास-२०२१ शेष प्रश्न-कथा संग्रह-२०२१, शेष प्राण कथा संग्रह-२०२१ लगायत नेपाली राजनीतिमा अदेखा सच्चाई-२०४२ नेपाल र सिक्कीमको राजनीतिमा नौलो अछुत जनजाति समुदाय सृजना सन् १९९८, अस्तित्वको खोज मंगोलको र (MNO) मा पीएचडी-२०५८ र नेपाली राजनीतिमा मंगोलवाद-बाहुनवाद माओवाद-२०६१ प्रकाशित छन् । यसरी डा. गुरुङद्वारा लेखिएका राजनैतिक पुस्तकले निक्कै चर्चा पाएको थियो नेपाली राजनीतिमा अदेखा सच्चाई पुस्तक प्रकाशन गरेकै कारण कहिले भूमिगत जीवन विताउनु पर्यो भने वि.सं २०४४ सालमा उनलाई पक्रिएर जेलमा राखेका थिए । जेल पठाउन अघि एक महिनासम्म प्रहरी हिरासत‌मा राखेका थिए । उनी जेलबाट वि.सं २०४६ मा निस्कदा आफ्नो जीवनभरलाई पुग्ने डाइबिटिज जस्तो रोगको उपहार लिएर निस्किएका थिए ।

राजालाई गरिब जनताको दुख थाहा हुँदैन भनेर डा.गोपाल गुरुङले राजा महेन्द्रलाई दुई पटक भेटेर देश र गरिब जनताको वास्तविकता छर्लङ्ग पारेका थिए । उनले राजासँग पहिलो भेट गौरिगञ्ज नजिक क्याम्पमा र दोस्रो भेट विराटनगर‌को विश्वव्यापी राष्ट्रिय साहित्यिक गोष्ठीमा कुराकानी गरेका थिए । उनले राजा महेन्द्रसमक्ष देश र जनताको दुख र पीडाको वास्तविकता पोखेका थिए । राजा महेन्द्रको देहावसानपछि राजा विरेन्द्रले उनलाई वि.सं २०२९ सालमा दरबारमा बोलाएर राष्ट्रिय-अन्तराष्ट्रिय विषयमा १ घण्टा लामो कुराकानी गरेको थियो । वि.सं २०३६ सालदेखि डा.गोपाल गुरुङले राजा र हिन्दु राष्ट्रको खुलेरै विरोध गर्न सुरु गरेका थिए । भैरहवा, बुटवल, हेटौडा, दमौली, लमजुङ, पोखरा काठमाण्डौ लगाएतका थुप्रै ठाउँहरुमा दरबार र हिन्दु राष्ट्रको विरोधमा उनले बोल्न र लेख्न थालेका थिए । डा.गोपाल गुरुङको राजनीतिक पुस्तक वि.सं २०४२ सालमा प्रकाशन भएको नेपाली राजनीतिमा अदेखा सच्चाई, वि.सं २०४४ सालमा दोस्रो संस्करण निस्केपछि उनि पक्राउ परेका थिए ।त्यसपछि उनलाई राजगद्दी तोक्यो र साम्प्रदायिकता फैलायो भनि दुई वटा राजद्रोही मुद्दा एकैपटकमा सरकारले लगाएको थियो । यी दुई मुद्दाको अभियोग लागेर जेलमा रहेकै बेला डा. गुरुङले मंगोल नेशनल अर्गनाइजेशन (MNO) को घोषणापत्र र झण्डा तयार पारी जेलभित्र नै संगठनको स्थापना गरेका थिए। अर्को पुस्तक प्रकाशित भएपछि वि.सं २०५८ सालबाट करिब पाँच वर्ष भूमिगत भई बस्नु परेको थियाे । उनले वि. सं २०५२ मङ्सिर २९ गते स्व. राजा विरेद्रलाई र वि. सं २०५८ श्रावण १२ पुर्व राजा ज्ञानेन्द्रलाई पत्र लेखि तपाई आजीवन राष्ट्रपति भएर बस्नुहोस् तर, नेपाल धर्म निरेपेक्ष प्रान्तीय सरकार घोषणा गरियोस् भनि पत्र मार्फत अनुरोध गरेका थिए । डा.गुरूङ यसरी देशमा भएको शोषण, दमन तथा हिन्दु साम्राज्यवादी प्रवृतिवाट सम्पूर्ण मंगोलहरुलाई मुक्त राख्दै निरन्तर राजनीतिमा सक्रिय रहेका थिए ।

वि.सं २०१२ सालदेखि साहित्य साधनामा लागेका डा.गुरुङ विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भएका थिए । वि.स २०१७ साल वैशाख ८ गते शिव कुमार राईको सभाअध्यक्षतामा खर्साङ दार्जिलिङमा भएको कविता गोष्ठीमा उनि पुरस्कृत भएका थिए । त्यस्तै वि.सं २०२० सालमा विराटनगरमा भएको साहित्यिक गोष्ठीमा समेत पुरस्कृत भएका थिए । उनकै सम्मानमा वि.सं २०२२ चैत २ गते गोरखपुरमा कवि गोष्ठी सम्पन्न भएको थियो । त्यस्तै जापानको मित्सुस्विसीद्वारा स्थापित् पुरस्कारको निम्ती वि.सं. २०४३ मा छनौट भएका थिए भने जापानकै ओपन रिलेशन हुँइभ अदर एसियन कन्ट्रीज शिर्षकको लेखमा डा. गुरुङ छनौट भएका थिए । सन् १९९८ मा भारतकै नागपुरको बल्लारपुरमा नागरिक अभिनन्दन र पुरस्कार पाएका थिए भने नागपुर मुम्बई र चन्द्रपुरमा पनि सम्मानित भएका थिए । मंगोल नेशनल अर्गनाइजेशन (MNO) ले १८ वर्ष लामो समयसम्म निर्वाचन आयोगबाट दर्ता पाएको थिएन । तरपनि,डा. ग्रुङ निरन्तर लडिरहेका थिए । नेपालको राजनितिक परिवर्तनसँगै वि.सं २०६४ सालको संविधाने सभाको पहलो निर्वाचनमा इलाम जिल्लाबाट उहाँ उम्मेदवार उठ्नुभएको थियो । तर, जित हात पार्न सकेको थिएन । संगठनको स्थापना कालदेखि हालसम्म हेर्ने हो भने (MNO) ले अथाह परिवर्तनको छलाङ मारेको देखिन्छ । अहिले मगोल नेशनल अर्गनाइजेशनको संगठन ७७ वटै जिल्लामा विस्तार भईसकेको छ भने लाखौंको संख्यामा नेता तथा कार्यकर्ता संगठित रहेका छन् । डा. गोपाल गुरुङ भातृत्व,समानता,स्वतन्त्रता, धर्म निरपेक्ष, संघियता र विशेषगरि मंगोल दर्शनलाई राजनीतिक एजेन्डा बनाएर अघि बढ्दा बढ्दै क्यान्सर रोगको कारण वि.सं.२०७३ साल जेष्ठ २८ गते ललितपुरको अल्का अस्पतालमा उनको असामयिक निधन भएको थियो । डा.गुरुङले नेपाली उत्पीडित समाजप्रति अझ भनौ मंगोल समुदायप्रति गरेका योगदान अतुलनिय रहेको छ। उनको देहावसानपछि मंगोल दर्शनलाई आत्मसात गर्दै लाखौ सचेत नेपाली युवाहरु लामबद्ध भएका छन्। उनको पार्थिव शरीर यस धरतीमा नरहेपनि उनले समाजलाई दिएको महत्वपूर्ण दर्शन तथा उनका अमुल्य किर्तिद्वारा अनवरत रूपले बाँचिरहेका छन सदा अमर बनेका छन् डा.छन डा. गोपाल गुरुङ ।

प्रकाशित : ६ श्रावण २०८२, सोमबार ००:००