नेपालमा व्यावसायिक रूपमा तरबुजाको खेती कति हुन्छ ? सरकारसँग यसको कुनै खास तथ्यांक छैन । राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा करिब २५ सय हेक्टरमा मात्र तरबुजा खेती हुन्छ र प्रतिहेक्टर ३० देखि ४० टनसम्म उत्पादन हुन्छ ।
तर, भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ११ महिनामै ‘मेलन सिड’ को नाममा ३ अर्ब रुपैयाँभन्दा बढीको करिब १९ हजार टन खरबुजा–तरबुजाको बीउ आयात भएको छ । जबकि गत वर्ष २०८१/८२ को सोही अवधिमा १४ करोड रुपैयाँ बढीको मात्रै अयात भएको थियो ।
तर, मसलाबाली विकास केन्द्र प्रमुख पदम अधिकारी भने अहिले यस बीउको माग न्यून रहेको बताउँछन् । नेपालमा खरबुजा– तरबुजाको बीउ मुख्यतया विदेशबाटै आयात हुने गरेको छ । ‘नेपालमा करिब ९ मेट्रिक टन बीउ खपत हुँदो रहेछ, हाइब्रिड बीउ लगाउने हो भने ७ मेट्रिक टनले नै पुग्छ,’ केन्द्र प्रमुख अधिकारीले भने, ‘नत्र ९ मेट्रिक टन जति लाग्छ ।’
अर्बौंको तरबुजाको बीउ भित्रिनुको पछाडि भन्सार छलीको ठूलो खेल रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । तारे होटलका भान्सा, बेकरी, मिठाई, तरकारीको ग्रेभी (रस) र पोषिलो खानेकुरा (कर्नफ्लेक्स आदि) मा प्रयोग हुने बोक्रा छोडाएको बीउ (जसलाई बजारमा मगज वा दिउल भनिन्छ) लाई व्यापारीहरूले भन्सारमा ‘कृषि बीउ’ को नाममा जाँचपास गराउने गरेका छन् ।
रोप्नका लागि त परै जाओस्, खानकै लागि पनि नेपालमा यति धेरै तरबुजाको बीउ खपत हुने सम्भावना छैन । त्यसो भए अफ्रिका र मध्यपूर्वका देशबाट यो बीउ किन नेपाल ल्याइँदैछ ?
यसको एउटै र स्पष्ट जवाफ हो– भारततर्फ तस्करी ।
भारत सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न विदेशबाट आउने खरबुजाको बिउमा कडा प्रतिबन्ध लगाएपछि बिचौलियाहरूले नेपालको खुकुलो भन्सार नीति र खुला सिमानाको फाइदा लिएको यस क्षेत्रका जानकार बताउँछन् ।
‘भन्सारको तथ्यांकले देखाएजस्तो खेती गर्नका लागि र खानकै लागि पनि ३ अर्बको बीउ नेपालमा आउँदैन, बोक्रा हटाएको मगजलाई व्यापारीले खेती गर्ने बीउ भनेर ल्याएका हुन्,’ यस विषयमा जानकार एक सरकारी अधिकारीले भने, ‘कृषि बीउ भनेपछि भन्सार महसुल करिब १ प्रतिशत मात्र लाग्छ, लगभग फ्री नै हुन्छ, त्यसैलाई खाद्यपदार्थ भनेर ल्याउँदा भ्याट, कृषि सुधार शुल्क र अन्य कर लाग्छ । करबाट बच्न व्यवसायीले भन्सारमा चिटिङ गरेका हुन्, जसले गर्दा तथ्यांक नै भ्रामक देखिएको छ ।’
कति गुणा बढ्यो आयात ?
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा नेपालले ५ लाख ९५ हजार २ सय २२ किलो (५९५.२२ टन) खरबुजा–तरबुजाको बीउ ल्याउँदा १४ करोड ३ लाख ४६ हजार रुपैयाँ मात्र बाहिरिएको थियो ।
तर, चालु आर्थिक वर्षको सोही अवधिमा यो आयात अस्वाभाविक रूपमा बढेर १ करोड ८८ लाख १३ हजार ८ सय ४७ किलो (१८ हजार ८ सय १३ टन) पुगेको छ । जसको कुल खरिद मूल्य ३ अर्ब ६ करोड ५३ लाख ३८ हजार रुपैयाँ हुन आउँछ ।
गत वर्षको ५ लाख ९५ हजार किलोबाट बढेर यो वर्ष करिब १ करोड ८८ लाख किलो पुग्नु भनेको परिमाणका आधारमा ३१.६ गुणाको वृद्धि हो । त्यसैगरी, मूल्यका आधारमा हेर्दा गत वर्षको १४ करोड रुपैयाँको आयात एकैपटक बढेर ३ अर्ब ६ करोड रुपैयाँ पुग्नु भनेको २१.८ गुणाको वृद्धि हो ।
आयातको रुट र गन्तव्य पनि फेरियो
यस वर्ष आयातको रुट र गन्तव्य पनि पूर्णरूपमा फेरिएका छन् । गत वर्ष भारत, इरान र पाकिस्तानबाट पनि बीउ आउने गरेकोमा यो वर्ष इरान र पाकिस्तानबाट आयात शून्य छ भने भारतबाट आउने क्रम घटेर ५ हजार ९ सय ३ किलोमा सीमित भएको छ ।
गत वर्ष अफगानिस्तानबाट जम्मा ३ करोड ८४ हजार रुपैयाँ बराबरको २ लाख ४ हजार ४ सय किलो बीउ आएकोमा यो वर्ष १ अर्ब ७ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको ६४ लाख ४९ हजार ४ सय ८२ किलो भित्रिएको छ ।
गत वर्ष युएईबाट जम्मा ७१ हजार ७ सय किलो आयात भएको थियो र त्यसको मूल्य १ करोड २७ लाख ८ हजार रुपैयाँ थियो । चालु आवमा यो परिमाण ह्वात्तै बढेर २५ लाख ५१ हजार ६ सय ४ किलो पुगेको छ । यसको कुल मूल्य ४१ करोड ६२ लाख ७६ हजार रुपैयाँ हुन आउँछ ।
यसरी हेर्दा गत वर्षभन्दा यो वर्ष युएईबाट मात्रै २४ लाख ७९ हजार ९ सय ४ किलो बढी बीउ ल्याइएको छ, जुन ४० करोड ३५ लाख ६८ हजार रुपैयाँ बढीको हो ।
अझ अचम्मलाग्दो तथ्यांक अफ्रिकी देशहरूको छ । गत वर्ष नाइजेरिया र सुडानबाट कत्ति पनि तरबुजाको बीउ नेपाल आएको थिएन । तर, यो वर्ष यी दुई देश यस्तो बीउ आयातको दोस्रो र तेस्रो ठूलो गन्तव्य बनेका छन् ।
चालु आवमा नाइजेरियाबाट ५८ लाख ११ हजार ७ सय २० किलो भित्रिएको छ, जसको मूल्य ९३ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, गत वर्ष शून्य आयात रहेको अर्को देश सुडानबाट यो वर्ष ३४ लाख ७२ हजार ४ सय ५३ किलो बीउ भित्रिएको छ, जसको मूल्य ५२ करोड ४३ लाख २४ हजार रुपैयाँ छ । टर्कीबाट समेत यो वर्ष ६ करोड ५७ लाख ७७ हजार रुपैयाँको ३ लाख १ हजार ७ सय ५० किलो बीउ आयात गरिएको छ ।
चीन र उज्वेकिस्तानमा सामान्य घटबढ
चीन र उज्वेकिस्तानबाट भने आयातमा खासै ठूलो परिवर्तन देखिँदैन । गत वर्ष चीनबाट १ लाख २० हजार १० किलो आएको थियो । जसको मूल्य ५ करोड ५ लाख ३३ हजार रुपैयाँ थियो । चालु आवमा परिमाण अलिकति बढेर १ लाख २४ हजार ९ सय ३५ किलो पुगे पनि आयात मूल्य भने घटेर २ करोड ९३ लाख २८ हजार रुपैयाँ मात्र कायम छ ।
यस्तै उज्वेकिस्तानबाट गत वर्ष १ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको ६९ हजार ३ सय ५० किलो बीउ आएकोमा यो वर्ष केही बढेर १ करोड ६९ लाख २५ हजार रुपैयाँको ९६ हजार किलो आएको छ ।
आयात बढ्नुमा यस्तो छ भारत ‘कनेक्सन’
नेपालमा धेरै खपत नहुने बीउ सुडान, नाइजेरिया र अफगानिस्तानबाट ल्याइनुको मुख्य कारण भारतीय बजार हो । भारतीय बजारमा मिठाई र ड्राइफ्रुट्सको रूपमा खरबुजा–तरबुजाको बीउ (मगज) को अत्यधिक माग छ । भारतमा वार्षिक करिब ६५ हजार टन यस्तो बीउ खपत हुन्छ, तर आन्तरिक उत्पादन ४० हजार टन मात्रै छ ।
अपुग बीउ अफ्रिका र चीनबाट सस्तोमा आउन थालेपछि भारतीय किसान मारमा परे । त्यसपछि भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यसको आयातलाई ‘प्रतिबन्धित’ सूचीमा राख्यो ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतले जुन २०२३ देखि खरबुजाको बीउ आयातमा परिमाणात्मक प्रतिबन्ध लगाएको थियो । सन् २०२१ अप्रिलमै नीतिगत निर्णय भइसकेको यो प्रतिबन्धअन्तर्गत भारतले सुरुमा (२०२३ जुन–अक्टोबर) उद्योगहरूलाई ३५ हजार टन अप्रशोधित मगज ल्याउन अनुमति दिएको थियो । पछि २०२४ को मेदेखि जुनसम्म दुई महिनाका लागि मात्रै आयात खोलियो । तर, त्यसपछि भने भारत सरकारले उद्योगीलाई पनि मगज भित्र्याउन पूर्ण रूपमा रोक लगाएको छ ।
नयाँ नियमअनुसार ‘भारतीय खाद्य सुरक्षा तथा मानक (गुणस्तर) प्राधिकरण’को उत्पादक लाइसेन्स भएको र आफ्नै प्रशोधन उद्योग भएका उद्योगीले मात्रै सरकारले तोकेको कोटाभित्र रहेर आयात गर्न पाउँछन् ।
भारतका समुद्री बन्दरगाहहरूमा आयातमा कडाइ गरिएपछि तस्करहरूले नेपालको बाटो रोजेको जानकार बताउँछन् । भारतमा यसको तस्करी कुन हदसम्म छ भन्ने कुरा गत २० अप्रिलमा मुम्बईको ‘न्हावा शेवा बन्दरगाह’ मा भएको राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) को अपरेसनले देखाउँछ ।
त्यहाँ अफ्रिकाबाट ‘रहरको दाल’ भनेर गलत घोषणा गरी ल्याइएको १ अर्ब ३९ करोड भारु बराबरको २ हजार ७ सय १० टन तरबुजाको बीउ बरामद गरिएको थियो । भारतमा सिधा लैजान नसकेपछि अहिले नेपालको खुला सिमाना तस्करहरूका लागि सहज बाटो बनेको छ ।
प्रहरीका लगातार ‘अरेस्ट अपरेसन’
नेपाल भित्रिएको तरबुजाको बीउ भारततर्फ तस्करी भइरहेको तथ्यलाई सीमावर्ती जिल्लामा प्रहरीले गरिरहेको बरामदले पनि पुष्टि गर्छ ।
चार दिन अघि ८ असारमा मात्रै जिल्ला प्रहरी कार्यालय कलैया, बाराले सिम्रौनगढ नगरपालिका–६ मा एउटा ट्रकबाट १२ हजार ५ सय ६० किलो (३ सय १४ बोरा) खरबुजाको बीउ नियन्त्रणमा लियो, जसको अनुमानित मूल्य करिब २३ लाख रुपैयाँ थियो । चालकले भन्सार तिरेको बिलबिजक देखाउन नसकेपछि प्रहरीले ट्रक नै नियन्त्रणमा लिएको थियो ।
त्यसअघि २७ जेठमा रुपन्देही प्रहरीले भैरहवास्थित एक व्यापारीको गोदामबाट भन्सार छली गरेर ल्याइएको २३ लाख ३२ हजार रुपैयाँ बराबरको ३५ बोरा तरबुजाको बीउ बरामद गरेको थियो ।
२७ जेठमा नै रौतहटको सीमा क्षेत्रमा तस्करीको एउटा ठूलो खेप नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास नै प्रहार गरेको थियो । उक्त तनावपूर्ण अपरेसनपछि प्रहरीले ९० लाख १६ हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ८ सय ८० किलो फर्सीको बियाँ भनी बरामद गरियो, तर पछि उक्त वस्तु फर्सीको बियाँ नभई तरबुजाकै बोक्रा छोडाएको बियाँ (मगज) भएको तथ्य खुल्यो ।
यस्तै २२ असोज २०८२ मा रुपन्देहीबाटै मिनी ट्रकमार्फत भारततर्फ लैजान लागिएको १ सय २५ बोरा बीउ बरामद भएको थियो ।
देशको आन्तरिक आवश्यकताभन्दा हजारौं गुणा बढी बीउ भित्रिँदा पनि नियमन गर्ने सरकारी निकायहरू कानुनी छिद्र देखाउँदै पन्छिने गरेका छन् ।
नेपालमा खरबुजाको बीउ दर्ता नै छैन
नेपालमा खरबुजाको कुनै पनि बीउको जात दर्ता नभएको पाइएको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले खरबुजाको बीउ बल्ल अहिले परीक्षणका क्रममा नै रहेको बताए ।
उनका अनुसार तरबुजाको भने दुई–तीन वटा भेराइटी दर्ता भएको र ती बीउ बाहिरबाट ल्याउने गरिएको छ । उनका अनुसार भन्सार विभागमा आयात हुने एचएस कोड बीउको र खाने फलको एउटै छ । त्यही भएर ठ्याक्कै बीउ कुन हो र फल कुन हो भनेर छुट्याउनै गाह्रो भएको उनको भनाइ छ ।
नेपालमा बीउ आयात गर्नका लागि निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । राष्ट्रिय बीउ बिजन समितिले सूचीकृत गरी राजपत्रमा सूचना प्रकाशन भइसकेपछि मात्र नेपालमा व्यावसायिक खेती गर्न मिल्छ ।
आयातकर्ताले कागजातसहित आयात अनुमतिपत्रका लागि केन्द्रमा सिफारिस माग्नुपर्ने र केन्द्रको सिफारिसपछि मात्र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले फाइटो–स्यानिटरी आवश्यकता हेरेर प्रवेश अनुमति दिने प्रावधान छ ।
औपचारिक रूपमा आयात अनुमतिको सिफारिस नै नलिई ठूलो रकमको बीउ आयात हुनै नसक्ने आचार्यको तर्क छ ।
यसका साथै, नेपालबाट बीउ निर्यातका लागि पनि अहिलेसम्म कसैले सिफारिस नलिएको उनले बताए ।
‘आातमात्रै होइन बीउ निर्यात गर्न पनि हामीसँग सिफारिस लिनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म एक जनाले पनि लानुभएको छैन ।’ भन्सार विभागले खरबुजा र तरबुजालाई नछुट्याई एउटै ‘मेलन सिड’ शीर्षकमा राख्ने गरेका कारण पनि तथ्यांकमा थप समस्या देखिएको हुन सक्ने केन्द्रले जनाएको छ ।
आयातित बीउ भन्सार बिन्दुमै रोक्नुपर्ने आवाज उठिरहँदा कृषि मन्त्रालयका अधिकारीहरूले भने बजार र तस्करी नियन्त्रण गर्ने काम आफ्नो अधिकार क्षेत्रमा नपर्ने बताएका छन् ।
कृषि मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टिनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयात हुने वस्तुमा रोगकिरा र त्यसले निम्त्याउन सक्ने जैविक जोखिमको मात्र परीक्षण गर्छ ।
‘हाम्रो काम ल्याइएको चिज सुरक्षित छ कि छैन, त्यसमा कुनै बाहिरी रोगकिरा छ कि छैन भनेर मात्र हेर्ने हो,’ ती अधिकारीले भने, ‘रोप्नका लागि ल्याइने बीउ माटोमा जाने भएकाले जैविक जोखिम धेरै हुन्छ, त्यसमा हामीले कडाइ गर्छौं, तर व्यापारीले भन्सारमा हामी यो बीउ रोप्न होइन, औद्योगिक प्रयोजन र उपभोगका लागि ल्याएका हौं भनेर स्वघोषणा गरेपछि हामीले रोक्न मिल्दैन ।’
ल्याइसकेपछि व्यापारीले त्यो बीउ के गर्छ, कहाँ भण्डारण गर्छ, कसलाई बेच्छ वा सिमाना कटाएर तस्करी गर्छ भन्ने कुरा हेर्ने र नियन्त्रण गर्ने अधिकार पूर्णरूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र बजार अनुगमन गर्ने निकायहरूको जिम्मेवारी हो ।
यति ठूलो परिमाणमा अस्वाभाविक आयात भइरहँदा ‘मार्केट इन्टेलिजेन्स’ संयन्त्र र वाणिज्य प्रशासन मौन बस्न नहुने जानकार बताउँछन् । जसरी विगतमा सुपारी, छोकडा र केराउको अस्वाभाविक आयात हुँदा वाणिज्य मन्त्रालयले हस्तक्षेप गरेर कोटा तोकेको थियो, अहिले खरबुजा–तरबुजाको बिउमा पनि त्यही नीति अपनाउनुपर्ने हुन सक्छ ।
यस्तो छ ४ वर्षको खरबुजा बीउ आयात तथ्यांक
पछिल्लो चार वर्षको तथ्यांक विश्लेषण गर्दा खरबुजा–तरबुजाको आयात परिमाण र यसका लागि बाहिरिने रकम दुवैमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जम्मा ९९ टन आयात भएको थियो, जसका लागि नेपालबाट २ करोड ३ लाख रुपैयाँ बाहिरिएको थियो ।
त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा यसको आयात बढेर १ सय २७ टन पुग्यो र त्यसका लागि २ करोड १४ लाख रुपैयाँ खर्च भयो ।
तर, त्यसपछिका वर्षहरूमा भने आयात बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ९ करोड १३ लाख रुपैयाँ बराबरको ५ सय २ टन बीउ स्वदेश भित्रियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा आयात बढेर १ हजार २ सय ८६ टन पुग्यो । गत वर्ष खरबुजा–तरबुजा खरिदका लागि २५ करोड ७० लाख रुपैयाँ विदेशिएको छ ।











प्रतिक्रिया