Breaking News Post

गृहमन्त्रीकै उपस्थितिमा होटलमा छापा


१ श्रावण २०८३, शुक्रबार ००:००


१ साउन, काठमाडौं ।  आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले शुक्रबार नौ बुँदे सहमति गरेको छ । जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको आन्दोलन नवौं दिनमा आएर सकिएको हो ।

सरकारले वार्ताको प्रयास भने पाँचौँ दिनदेखि गरेको थियो । तराई–मधेशका मिटरब्याज पीडितहरूले विभिन्न ६ सुत्रीय माग राखेर २५ असारमा तिरहुतियागाछीबाट काठमाडौंका लागि पैदल मार्चपास सुरु गरेका थिए ।

दैनिक करिब २५ किलोमिटरसम्मको यात्रा तय गर्दै काठमाडौंतर्फ अघि बढेको पाँच दिनपछि ३० असारमा गृहमन्त्री सुधन गुरुङ मिटरब्याज पीडितलाई भेट्न भन्दै काठमाडौंबाट हवाईमार्ग हुँदै बाराको सिमरा विमानस्थल ओर्लिए । तीन दिनसम्म सिमरा नै बसेर मिटरब्याज पीडितसँग छलफल गरे पनि गृहमन्त्रीको आश्वासनमा उनीहरू विश्वस्त भएनन् ।

‘हिंडेर काठमाडौं गए पनि अन्त्यमा भेट्ने मलाइ नै हो । तपाईंहरूलाई दुःख नदिन म आफैं यहाँ भेट्न आइरहेको छु । पहिलाको सरकार भएको भए यसरी कोही आउँथ्यो ?,’ गुरुङ मिटरब्याज पीडितलाई भावनात्मक रूपमा पनि मनाउने प्रयास गरेका थिए ।

लिखित प्रतिबद्धता चाहिने भन्दै उनीहरू आफ्नो अडानमा कायम रहे । छलफल निष्कर्षविहीन भएपछि काठमाडौं जाने निष्कर्षमा मिटरब्याज पीडित रहे । मिटरब्याज पीडितका अगुवाहरू सिमराबाट हेलिकप्टरमा काठमाडौं आउने भए ।

छलफल निष्कर्षविहीन भएपछि मन्त्री गुरुङ भने जहाजबाट सोझै काठमाडौं आएनन् । उनी त बरू छड्के र अनुगमनमा व्यस्त रहे । यतिसम्म कि गृहमन्त्री गुरुङ आफैंले सुरक्षाको दलबलसहित होटल पुगेर छापा मारेका थिए ।

पर्साबाट चितवनतर्फ जाने क्रममा पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजारमा उनको केही स्थानीयहरूसँग भेट भयो । तिनै स्थानीयले सूचना दिएपछि मन्त्री गुरुङ सुरक्षाकर्मी लिएर राति ७ः४० बजे दुई होटलमा पुगेर छापा मारेको जानकारहरू बताउँछन् ।

स्रोतका अनुसार, उनले ठोरी बजारमा रहेको ‘ठोरी दोहोरी साँझ’ र ‘रिर्सोट ठोरी क्याम्प फायर होटल’ मा छापा मारेका थिए । होटल सञ्चालक, होटल स्टाफ र गेस्टसहित ९ जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय ठोरीमा लगिएको थियो । यसरी पक्राउ गरिएकामध्ये ७ युवती र दुई होटल सञ्चालक रहेको बताइएको छ ।

छापा मारेर व्यक्ति नियन्त्रणमा लिनुको पछाडि ती होटल तथा दोहोरी साँझमा ‘अनैतिक क्रियाकलाप हुने गरेको’ दाबी छ । छापा मार्न सशस्त्र प्रहरीको नं. १३ गणका गणपति एसपी, बोर्डर आउट पोस्ट (बीओपी)का ठोरीका इन्सपेक्टर र नेपाल प्रहरीको टोली समेत पुगेको थियो ।

मन्त्रीसहितको उपस्थितीमा छापा मारेर व्यक्ति पक्राउ गरिएको उच्च स्रोतले पनि पुष्टि गरेको छ । ‘मन्त्रीज्यूको उपस्थितीमा दुई होटलमा छापा मारेर मान्छे पक्राउ गरिएको हो । स्थानीयले सूचना दिएपछि मन्त्रीज्यूकै निर्देशनमा उहाँकै उपस्थितिमा छापा मारेर पक्राउ गरिएको हो,’ उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

अनलाइनखबरलाई प्राप्त एक भिडियोमा ठोरीकी एक महिलाले ती होटलबारे गुनासो गरेको सुनिन्छ । ‘पुलिस साइरन बजाएर आउँछ, तलबाट केटी भाग्छ सर’ एक महिलाले भन्छिन् ।

‘कुन ठाउँमा हो त्यो’ गृहमन्त्री गुरुङले भनेको सुनिन्छ । महिला र पुरुष बोलेको सुनिन्छ–‘यहीँ हो, यहीँ । सँगै दुईवटा होटल छन् ।’

लगत्तै गृहमन्त्री गुरुङकै सक्रियतामा प्रहरीसहित आफैं ती होटलमा गएर छापा मारेका थिए । त्यतिबेलासम्म जिल्लाका एसपी सुदीप पाठक तथा सीडीओ भोला दाहाललाई यो छापाबारे जानकारी नै थिएन ।

स्थानीय प्रहरी भने सँगै थियो । छापा मारिसकेपछि मात्रै गृहमन्त्री गुरुङले सीडीओ र एसपीलाई घटनास्थल बोलाएका थिए । उनीहरु दुबै जना ठोरी पुगेका थिए ।

ठोरी पर्यटकीय स्थल भएको र विशेषगरी भारतीय नागरिकहरु मदिरा सेवन गर्न उक्त ठाउँमा आउने गर्छन् । यसरी पक्राउ गरिएका मध्ये सात युवती छन् । तर उनीहरूलाई कुनै ‘अनैतिक क्रियाकलाप’ गरेको आरोपमा रंगेहात भने पक्राउ गरेको थिएन ।

गृहमन्त्री आफैंले होटलमा पुगेर छापा हानेपछि गृहमन्त्रीको भूमिका तथा काम कारबाहीमा पनि प्रश्न उठेको छ । गृहमन्त्री आफैंले अपरेशन गर्ने भए प्रहरी किन चाहियो ? र अर्कोतर्फ होटलमा बसेकै आधारमा कुन कसुरमा यसरी पक्राउ गरियो ? भन्ने प्रश्न उब्जिएको छ ।

यो खालको प्रवृतिले सुरक्षा निकायको मनोबल गिर्नेदेखि गृहमन्त्रीको भूमिका तथा जिम्मेवारीमा समेत प्रश्न उठ्ने सुरक्षा मामलाका जनाकारहरू बताउँछन् । होटलमा गएर आफैं छापा हान्ने गृहमन्त्रीको यो शैली हवल्दारी पाराको भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

‘हवल्दारले गर्ने काम गृहमन्त्रीले गर्न सुहाउँदैन । त्यहाँको प्रहरीले गल्ती गरेको छ भनेर बुझेर छानबिन गरेर कारबाही गर्ने एउटा विषय होला । तर आफैं फिल्डमा गएर छापा हान्ने काम गृहमन्त्रीको होइन । फिल्डमा गएर पुलिसिङ गर्ने काम प्रहरीको हो,’ मल्ल भन्छन् ।

प्रहरी ऐन निर्माणको विषय, अन्य नीतिगत विषयहरू, प्रहरी स्रोतसाधनका विषयहरू, जेनजी आन्दोलनमा जलेका प्रहरीका भवन निर्माणको विषयहरू, जनशक्तिका कुराहरूमा ध्यान दिएर गृहमन्त्रीले काम गर्नुपर्नेमा आफ्नो जिम्मेवारी बिर्सेर अर्कैतिर अलमलिएको बुझाइ गृह प्रशासनका जानकारहरूको छ ।

‘वास्तवमा भन्ने हो भने प्रहरीमा पनि काठमाडौं र ललितपुर बाहेकका जिल्लामा एसपीमात्रै फिल्ड अफिसर हुन् । त्यो भन्दा माथिल्लो दर्जाका प्रहरी फिल्डमा नगई नीतिगत तहमा कार्यसम्पादन गर्छन् । एउटा एसएसपी समेत फिल्ड अफिसर नहुने ठाउँमा विभागीय मन्त्री नै अपरेशन गर्नु शोभनीय होइन,’ एक पूर्वआईजीपी भन्छन् ।

यसरी आफैं फिल्डमा उत्रिएर छापा हान्दा त्यहाँ कार्यरत प्रहरीको मनोबल समेत खस्ने सुरक्षाका जानकाहरूको बुझाइ छ । यदी त्यस्तो गल्ती केही भएको छ भने त्यो भन्दा माथिल्लो निकायको प्रहरीलाई भनेर एक्सन लिन सकिन्छ । तर यसतर्फ भने गृहमन्त्रीले कुनै ध्यान दिएको देखिँदैन ।

अर्कोतर्फ पक्राउ परेका युवतीहरू कसैले पनि ‘अनैतिक गतिविधि’ भनी परिभाषित क्रियाकलाप भने गरिरहेका थिएनन् । जसले यो पक्राउको कानुनी आधारमा पनि प्रश्न उठ्ने जानकारहरू बताउँछन् ।

दुई होटलमा छापा मारेपछि राति १०ः५५ बजे गृहमन्त्री गुरुङ पर्साबाट चितवनतर्फ लागेका थिए । उनी मध्यराति १२ बजेतिर निकुञ्जको बाटो हुँदै अघि बढेको देखिन्छ । नेपाली सेनाको एस्कर्टिङमा उनी निकुञ्ज पार गरेका थिए ।

यसको भिडियो समेत गृहमन्त्री गुरुङ आफैंले फेसबुक स्टोरीमा समेत राखेका छन् । ‘हेल्लो वे टु माडी । यहाँबाट चाहिँ धेरै ड्रग्सहरू सप्लाई हुन्छ भन्ने धेरै इन्फरमेशन आएको थियो । प्लान चाहिँ के हो भन्दाखेरी यो ठाउँहरूमा सीसीटीभी राख्ने भन्ने हो । हामी अहिले इन्डियाको बोर्डरहरू, हाम्रो नाका सबै हेर्दै हिंडिरहेका छौं । यहाँ चाहिँ तस्करी हुन्छ । यहाँबाट धेरै ड्रग्सहरु भित्रिन्छ भन्ने सुनिएको छ,’ गृहमन्त्री गुरुङको आवाज सुनिन्छ ।

भिडियोमा गृहमन्त्री गुरुङले निकुञ्जको बारेमा पनि जानकारी गराउँछन् । ‘यो निकुन्जभित्रै यसरी आर्मीले एस्कर्टिङ गर्दो रहेछ । यहाँ जंगली हात्ती बाघ आउँदो रहेछ । खोलै खोला जानु पर्ने रहेछ । ओपन बोर्डर भएर धेरै गाह्रो परेको छ, तस्कर कन्ट्रोल गर्नलाई,’ गृहमन्त्रीले बोलेको भिडियोमा सुनिन्छ ।

प्रकाशित : १ श्रावण २०८३, शुक्रबार ००:००