खोटाङ, भदौ ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाईन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । कोभिड–१९ को महामारीका बिचमा रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागीता जनाएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरलाई मोबाईल चार्ज गर्न एक थान व्याकअप, एक थान झोला, एक थान ठूलो अजनता डिक्सनरी, ५ थान कापी र १ थान डायरी प्रदान गरेकी हुन् ।
उपमेयर राईले व्यक्तीगत खर्चमा शैक्षिक सामग्री खरिद गरेर मंगलबार विद्यालयमा पुगेर छात्र मगरलाई हस्तान्तरण गरेकी हुन् । मोबाईलको डाटा कनेक्ट नहुँदा रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष (कांग्रेस नगरसभापतिका उम्मेद्वार) रमेश राउत सहित अर्खौले पुगेका थिए ।
महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगरले घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएको बताए । हाल उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

विद्यालयले साउन २४ गतेदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । तर, अर्खौलेको नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम एप्स चलाउन सम्भव थिएन ।
कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन् । पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रुखलाई भेट्टाएको बताए । पढाईप्रति मगरले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ ।
कक्षामा धनकुमार दोश्रो स्थानमा छन् । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगाव र इच्छाशक्तीले गर्व महसुस गराएको सरस्वती माबि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताए ।











प्रतिक्रिया