सोलुखुम्बु, भारी हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवगमन ३ दिनयता ठप्प बनेको छ । सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार देखि सवारी सञ्चालन बन्द बनेको हो ।
यातयात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रको सडकमा २ देखि ३ फिट सम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसिवीको प्रयोग गरेपनि सम्भव ननभएको यात्रु ङिमा ग्लाल्जेन शेर्पाले बताउँनुभयो ।
उहाँका अनुसार जेसिवीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरेपनि शनिबार सम्म हिमपात नरोकिएकाले खुलाउन नसकेको हो । जसका कारण तीन दिनयता जिल्ला भित्रिने तथा बाहिरीने कुनै पनि सवारी साधन चल्न सकेको छैन भने सोलुखुम्बुका लागि छुटेको सावरी साधनहरु ओखलढुंगाको ठाढे, टोड्के, विप्ल्याटे लगायतका स्थानमा तीन दिन देखि रोकिएको छ ।
सो क्षेत्रमा दर्जनौँ सवारी साधन अलपत्र परेको छ भने सयौँ यात्रुको विचल्ली भएको बताइएको छ । सवारी रोकिएसँगै खान बस्नको समेत समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । विशेष गरी असक्त, बालबालिका,बृद्धबृद्धा यात्रु समस्यामा परेको बताइएको छ ।
माघ महिनामा विवाहको समय भएकाले सोलुखुम्बु आउँने जन्ति समेत ठाडे क्षेत्रमा रोकिएको सल्लेरीका दिपक राजभण्डारीले बताउँनुभयो । आफ्नो आफन्त समेत जन्ति आउँदै गरेको भएपनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमा नै रोकिएको उहाँको भनाई छ ।
काठमाण्डौँ देखि सोलुखुम्बु सम्मको यात्रामा शुक्रबार नै निस्केको भएपनि ओखलढुंगाको टोड्के मै रोकिएर बस्नुपरेको यात्रु दिपक केसीले बताउँनुभयो । हिमपात भएको बेला सामान्य भएपनि त्यसपछिको सडक यात्रा जोखिमपुर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्र्चाज कृष्ण कटवालले बताउँनुभभयो ।
सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक काम बाहेक यात्रामा ननिस्कन उहाँल आग्रह गर्नुभयो । आईतबार दिउँसो सम्ममा सडक खुलाउने सडक डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ ।











प्रतिक्रिया