मुख्य खवर

मुख्यमन्त्री राई भन्छन्- ‘प्रदेशको नाम किरात नराखे ठूलो लडाइँ हुन्छ’


३ श्रावण २०७९, मंगलबार ००:००


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामको विषयलाई लिएर भड्काउपूर्ण अभिव्यक्ति दिएका छन् ।प्रदेश १ को नाम किरात राख्न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुनः स्मरण गराउन गएको किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले भड्काउपूर्ण अभिव्यक्ति दिएका हुन् । उनले प्रदेशकाे नाम किरात नहुने हो भने लडाइँ झगडा हुने तथा तत्काल विद्रोह सुरु हुने अभिव्यक्ति दिएका हुन् । प्रदेश नामकरणमा आफ्नो बचाउ गर्दै उनले एमाले, कांग्रेस र माओवादीलाई दोष थुपारे । उनले अहिले जति सजिलो मूलधारका नेताले सोचेका छन् याे त्यति सजिलो नभएको समेत बताए ।

‘अहिले तत्कालै कत्रो आन्दोलन उठ्छ, समय पनि लाग्ला, तर यो तुष भूसको आगा सल्किए जस्तो यहाँ एउटा विद्रोहको भावना यहाँका मानिसहरूसँग रहीरहनेछ’, उनले भने, ‘त्यसो हुँदा भोलि कुनै पनि बेला फेरि पनि ठूलाठूला लडाइँ झगडाको अवस्था आउने मात्र हैन भोलि देश नै विखण्डनको अवस्था आउन सक्छ, दिँदा शान्ति हुन्छ भने किन नदिने त ?’

पुरानो इतिहास, पुराना कागज, तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनले बताए । किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको उनको भनाई छ । ‘उहिल्यै वल्लो किरात, पल्लो किरात र माझ किरात भन्ने थियो’, मुख्यमन्त्री राईले भने, सक्ने भए तीनवटै राज्य बनाऊ हैन भने सबैलाई मिलाउँदा किरात हुन्छ, त्यही किरात प्रदेश दिँदा केही बिग्रिन्छ त ?’

‘मधेस प्रदेश राख्दा केही बिग्रिएको छ त ?’ मुख्यमन्त्री राईले प्रश्न गर्दै भनेका छन्, ‘दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?’

आश्वासन दिएर जनतालाई आन्दोलनमा होमेर मर्न, मार्न लगाउने, चुनावमा जनताको मत लिएर मन्त्री, प्रधानमन्त्री, मुख्यमन्त्री हुने अनि पहिचान दिने बेलामा अर्को निर्णय गरेर जाने हो भने त्यो भन्दा ठूलो धोका र बेइमानी अरू हुन नसक्ने उनको भनाई छ । सबै पार्टीका नेताहरूले पहिचानको कुरा कार्यान्वयन गर्ने भन्ने कुरा बोलेकोले यो बोलेको कुरा बाचा सबै दलले पूरा गर्नुपर्ने उनको भनाई छ।

मुख्यमन्त्री राईले प्रदेशको नाम राख्ने विषयमा आफूलाई अप्ठेरो परेको समेत भन्न भ्याए । आफू तर्कसहितको किरात प्रदेशको पक्षमा रहेकोले नेकपा हुँदा पनि कोसी राख्ने तय भइसकेको अवस्थामा त्यो बेलामा पनि आफूहरूकै विद्रोहका कारण त्याे कुरा राेक्न सफल भएको पनि खुलासा गरे ।

पहिचान विपरीतको पक्षमा प्रदेशको नाम आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई फकाउने वा दबाउन तर्फ लाग्नुपर्ने, पार्टीहरू पहिचानको पक्षमा नउभिएको अवस्थामा सांसदहरूलाई भए पनि पहिचानमा उभ्याउने गरी फकाई सम्झाई गर्न आग्रह गरे । ‘स्थिति खराब आयो भने तपाईंहरू सडकमा उत्रिन जरुरी छ’, मुख्यमन्त्री राईले भने, ‘मेरो कार्यकाल मंसिरसम्म हो मंसिरपछि आन्दोलन गर्न तपाईंहरूको साथमा आउने छु ।’

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार ००:००