निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएको थियो । यो समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल तथा मट्टीतेलको १ सय ९५ रुपैयाँ कायम भएको छ ।
तर, निजी पेट्रोल पम्प सञ्चालकहरूले धेरै मूल्य घटाएको भन्दै बिक्री वितरण बन्द गरे । बिहानदेखि काठमाडौं, ललितपुर र भक्तपुरका पेट्रोल पम्प बन्द थिए । यस्तै उपभोक्ताले वीरगञ्ज, पोखरा लगायत अन्य ठाउँमा पनि पम्प बन्द भएको गुनासो गरेका छन् ।
निजी बन्द भएपछि काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पम्पमा उपभोक्ताको लामो लाइन लाग्यो । तर, मूल्य घटेको दिन पम्पहरू बन्द हुनुको कारण व्यवसायीको नाफामुखी प्रवृत्ति र निगम नेतृत्वको चरम व्यवस्थापकीय अक्षमता भएको भन्दै चर्को विरोध भइरहेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य आउने र भाउ घट्ने पक्कापक्की भएपछि घाटाबाट बच्न व्यवसायीले अघिल्लो दिन (मंगलबार) आयल निगमबाट तेल नै उठाएनन् । यसअघि २०८२ चैतमा भने मूल्य बढ्ने सूचना निगमकै कर्मचारीले चुहाएर पम्पहरूलाई ठूलो परिमाणमा तेल बिक्री गरिएको थियो ।
मंगलबार दिनभरि पम्पहरूले तेल नउठाउँदा उनीहरूको ‘अन्डरग्राउन्ड ट्यांक’ हिजै रित्तिएको थियो । तर, यो विषयबारे सम्पूर्ण जानकारी निगम व्यवस्थापनलाई थियो । निगमलाई अघिल्लो दिन बिहान ११ बजे नै कुन–कुन पेट्रोल पम्पले तेल लगेका छैनन् भन्ने तथ्यांक प्राप्त भइसकेको थियो । तर, सम्भावित अभावलाई रोक्न निगमले कुनै पूर्वतयारी गरेन ।
बुधबार बिहान मूल्य घटेपछि मात्र व्यवसायीहरू तेल लिन डिपो पुगे । आयल निगमको दैनिक कार्यतालिका अनुसार बिहानै ट्यांकरहरू डिपो जाने, ११ बजेसम्म डिमान्ड पास गरेर पैसा जम्मा गर्ने र लोड गरेर पम्पसम्म आइपुग्दा दिउँसोको ३ देखि ४ बज्छ । त्यसपछि पम्पको अन्डरग्राउन्ड ट्यांकमा तेल खन्याउन थप आधा घण्टा लाग्छ । यही लामो प्रक्रियाका कारण आज दिउँसोसम्म पम्पहरू बन्द रहे र उपभोक्ताले सास्ती पाए ।
रित्तिएका थिए डिपो
मंगलबार व्यवसायीले तेल नउठाएको पुष्टि निगमका डिपो प्रमुखहरूले दिएको तथ्यांकले नै गर्छ । थानकोट डिपो प्रमुख जगदीश यादवका अनुसार सामान्य अवस्थामा दैनिक ८ सय देखि साढे ८ सय किलोलिटर इन्धन बिक्नेमा हिजो मंगलबार पेट्रोल जम्मा १८१ किलोलिटर (१ लाख ८१ हजार लिटर) र डिजेल जम्मा ६६ हजार लिटर मात्र बिक्री भयो ।
‘हिजो उहाँहरू (व्यवसायी) बाट अनलाइनमार्फत डिमान्ड नै एकदमै कम आयो,’ यादवले अनलाइनखबरसँग भने, ‘भौचर नभई तेल पठाउन मिल्दैन, जति डिमान्ड आयो हामीले त्यति नै दियौँ ।’
यादवका अनुसार आज उपत्यकाका लागि करिब १३ सय किलोलिटर पेट्रोल र साढे १२ सय किलोलिटर डिजेल बजारमा पठाउने तयारी छ । ‘त्यसमध्ये धेरै तेल त डिपोबाट निस्किसकेको छ,’ यादवले भने, ‘आज साँझसम्ममा बजार पूर्णरूपमा सहज भइहाल्छ ।’
यस्तै अमलेखगन्ज डिपोका प्रमुख अशोक शाहका अनुसार दैनिक औसत १७ लाख लिटर बिक्री हुने डिपोबाट मंगलबार जम्मा ६७ हजार लिटर पेट्रोल र १ लाख ८१ हजार लिटर डिजेल मात्र उठ्यो ।
‘हाम्रो एभरेज सेल्स दैनिक ५ लाख लिटर पेट्रोल र १२ देखि १५ लाख लिटर डिजेल हो, कुल १७ लाख लिटरको हाराहारीमा तेल बिक्री हुनुपर्ने हो,’ डिपो प्रमुख शाहले भने, ‘तर हिजो व्यवसायीले तेल नै उठाएनन् ।’
अमलेखगन्ज डिपोले काठमाडौं (थानकोट), पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोलाई ‘स्टक ट्रान्सफर’ (एसटी) गर्ने गर्छ । शाहका अनुसार आज काठमाडौंका लागि ४५, विराटनगरका लागि ३५, भैरहवाका लागि १५, जनकपुरका लागि ९ र वीरगञ्जका लागि ३९ गाडी बराबरको परिमाणमा डिजेल तथा पेट्रोलको चलान भएको थियो ।
‘हाम्रो क्षेत्रका पम्पहरू खुला छन्, म आफैं अनुगमनमा गएँ’ शाहले भने । काठमाडौंमा इन्धन अभाव देखिए पनि अमलेखगन्ज डिपोको कार्यक्षेत्रभित्र भने पम्पहरू बन्द नभएको उनले दाबी गरे । अमलेखगन्ज डिपोले मकवानपुर, चितवन, नवलपरासी, गोरखा, तनहुँ, सिन्धुली लगायत २० वटा जिल्लाको आपूर्ति व्यवस्थापन हेर्ने गर्छ ।
बजारमा अभाव हुन नदिन डिपोले अनुगमन टोली खटाएको शाहले बताए । ‘हाम्रो क्षेत्रतिर तेल बेचिरहेकै अवस्था पाइयो, म आफैं पनि हेटौंडासम्म अनुगमनमा गएको थिएँ, अर्को टोली रौतहट गएको थियो,’ शाहले भने, ‘यहाँ सबै पम्पहरू चालु नै थिए, असारको बेला खेतीपातीको सिजन पनि सुरु भएकाले पम्पहरूले स्टक राखेरै भए पनि बेचिरहेका छन् ।’
‘आयल निगमले नै मूल्य घट्ने सूचना चुहाएर कृत्रिम अभाव गरायो’
पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचना आयल निगमको नेतृत्व र कर्मचारीले नै व्यवसायीलाई चुहाएका कारण बजारमा इन्धनको कृत्रिम हाहाकार मच्चिएको उपभोक्ता अधिकारकर्मीले आरोप लगाएका छन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले आयल निगम व्यवस्थापनको चरम अक्षमता, लाचारी र व्यवसायीसँगको मिलेमतोका कारण उपभोक्ताले सडकमा सास्ती खेप्नुपरेको बताए । उनले निगमले मूल्य समायोजनको सूचना चुहाएर बजारमा आपूर्ति रोकेर ‘उपभोक्तामाथि अपराध’ गरेको आरोप लगाए ।
तिमल्सिनाका अनुसार विगतमा आयल निगमले मध्यरातमा कसैलाई थाहा नदिई सुटुक्क मूल्य घटबढ गर्ने गथ्र्यो । तर, यसपटक निगमका अधिकारीहरूले नै व्यवसायीलाई सूचना दिएर बजारमा अराजकता निम्त्याएको उनको आरोप छ ।
‘जसले पेट्रोल र डिजेलको मूल्य हिजो दिनभरि २०–३० रुपैयाँ घट्छ भनेर हल्ला गराए, त्यो निगम सञ्चालक समिति, निगम व्यवस्थापन र निगमका कर्मचारीले गराएका हुन्,’ तिमल्सिनाले भने, ‘कर्मचारीहरूले पम्प सञ्चालकलाई फोन गरेर, ह्वाट्सएप गरेर सूचना लिक गराए, यो कार्य उपभोक्तामाथिको ठूलो अपराध हो, यसमा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको स्मरण गराउँदै तिमल्सिनाले पम्प बन्द गरेर इन्धन नबाँड्नु गैरकानुनी भएको बताए ।
‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गराएर बन्द हड्ताल गर्न नपाउने र कुनै पनि किसिमको आपूर्ति असहज गर्न नपाउने भनेर तोकेको अत्यावश्यक वस्तु हो पेट्रोलियम पदार्थ,’ तिमल्सिनाले भने, ‘हिजो तेल नउठाउने पम्पहरूलाई निगमको बिक्री विनियमावली अनुसार कारबाही हुनुपर्छ ।’
पेट्रोलियम व्यवसायीको दाबी : मूल्य घटेकाले तेल नबेचेको हल्लामा सत्यता छैन
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भने बजारमा मूल्य घटेका कारण इन्धन अभाव भएको र पम्प बन्द भएको हल्ला असत्य भएको दाबी गरेको छ ।
एसोसिएसनका अध्यक्ष विश्व अर्यालले बजारमा कुनै अभाव नरहेको र प्राविधिक कारणले केही समय मात्र आपूर्तिमा ग्याप देखिएको दाबी गरे ।
‘मूल्य घट्ने थाहा पाएर व्यवसायीले तेल नउठाएको पनि होइन र बजारमा अभाव पनि छैन,’ उनले दाबी गरे, ‘दिउँसो एक–डेढ घण्टा जति केही पम्पहरूमा ग्याप देखिएको थियो, त्यो डिपोबाट इन्धन लोड भएर पम्पसम्म आइपुग्न ढिलो भएकाले मात्र हो ।’
उनले हाल काठमाडौंका सबै पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण सुचारु भइसकेको दाबी गरे । ‘अहिले अवस्था एकदमै सामान्य छ, १०० प्रतिशत पेट्रोल पम्पमा तेल बिक्री भइरहेको छ,’ उनले भने ।
निगम भन्छ– माग आएजति मात्रै बेच्ने हो
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै व्यवसायीले तेल नउठाएर बजारमा कृत्रिम अभाव सिर्जना गराइरहँदा निगमले भने लाचारी प्रकट गरेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले व्यवसायीले पैसा तिरेर तेल किन्ने भएकाले जति माग आउँछ, त्यति मात्रै आपूर्ति गर्न सकिने बताए ।
‘निगमले के एक्सन गर्ने ? पैसा तिरेर तेल खरिद गर्छन् व्यवसायीले’ प्रवक्ता ठाकुरले भने, ‘जति उनीहरूले डिमान्ड गर्छन्, सो बराबरको पैसा जम्मा गर्छन्, त्यो अनुसार हामीले बजारमा सप्लाई गर्ने हो ।’ बजारमा इन्धन नपाएर उपभोक्ता लाइनमा बस्न बाध्य भएपछि र चारैतिरबाट दबाब सिर्जना भएपछि मात्रै निगमले ३ वटा टोली बनाएर अनुगमनमा पठाएको थियो ।
अनुगमनका क्रममा पम्पहरूको अवस्था भद्रगोल पाइएको उनले बताए । ‘अनुगमनको क्रममा कतिपय पम्पमा तेल थिएन, कोहीमा बिक्री गर्दागर्दै सकिएको थियो,’ उनले भने, ‘कोहीमा पेट्रोल थियो डिजेल थिएन ।’
निगमको विनियमावली अनुसार तेल नबेच्ने पम्पलाई कारबाही गर्ने व्यवस्था भए पनि वर्तमान अवस्थामा निगमले कारबाही गर्न नसक्ने प्रवक्ता ठाकुरको भनाइबाट प्रष्ट हुन्छ । ‘तेल भएर पनि नबेचेको पाइए कारबाही हुने व्यवस्था छ,’ प्रवक्ता ठाकुरले भने, ‘तर, तेल नै नभएपछि, के बेच्ने त ?’ पम्पमा तेल लुकाएको अवस्थामा मात्रै यो कानुन आकर्षित हुने उनको भनाइले स्पष्ट हुन्छ । तर व्यवसायीले डिपोबाट तेल नै नउठाएर बजारमा अभाव गराउँदा भने रमिते बन्नुको विकल्प नरहेको उनको भनाइले संकेत गर्छ ।
‘निगमको अनुगमन केवल नाटक मञ्चन हो’
बजारमा इन्धन नपाएर उपभोक्ता घाम र पानीमा रुझ्दै लाइन बस्न बाध्य भएपछि र सामाजिक सञ्जालमा चर्को विरोध भएपछि मात्रै आयल निगमले बजार अनुगमन टोली खटाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।
उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले निगमले गरेको अनुगमनलाई ‘नाटक’ र ‘देखावटी’ मात्र भएको बताएका छन् । ‘निगमलाई हिजै बिहान ११ बजे थाहा थियो कुन पम्पले तेल लगेका छन् र कुनले छैनन् भनेर, हिजो दिनभरि निगमका कर्मचारीले अनुगमन गर्नुपथ्र्यो,’ तिमल्सिनाले भने, ‘तर, जब आज बजारमा हाहाकार भयो, मिडिया र सामाजिक सञ्जालमा चर्को दबाब सिर्जना भयो, त्यसपछि मात्रै यिनीहरूको नाटक सुरु भयो ।’
उनले निगमले अहिले खटाएको तीन वटा अनुगमन टोलीले उपभोक्ताको आँखामा छारो हाल्ने काम मात्र गरेको आरोप लगाए । ‘यो देखावटी काम मात्र हो, निगमले अनुगमन गरेर कुन पम्पलाई के कारबाही गर्यो त ?,’ तिमल्सिनाले भने, ‘निगम व्यवस्थापनको लाचारी र अक्षमताले गर्दा मूल्य घट्दा होस् वा बढ्दा, जहिले पनि उपभोक्ता मात्रै मारमा परेका छन् ।’











प्रतिक्रिया