समितिले उपकुलपतिका लागि आवेदन दिएका ३५ जनाको दरखास्त स्वीकृत गरेको छ । अब ३५ जनामध्येबाट १० जनाको सूचि सार्वजनिक गर्नेछ । ‘नियुक्तिमा केही ढिलाइ भएको छ । मन्त्रीज्यू केही समय बाहिर जानु परेकाले पनि हो,’ समितिका सदस्यसमेत रहेका पूर्वउपकुलपति सुरेशराज शर्माले भने, ‘१० जनाको नाम केही दिनमा सार्वजनिक हुन्छ ।’ शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सोमबारसम्म १० जनाको सूचि सार्वजनिक हुनेछ । त्यसपछि तीन जनाको नाम समितिले कुलपतिलाई सिफारिस गरेपछि एक जनालाई उपकुलपतिमा नियुक्त गरिने छ ।
नियुक्तिको ढिलाइले काम प्रभावित
उपकुलपति नहुँदा विश्वविद्यालयले महत्त्वपूर्ण निर्णय लिन सकेको छैन । तत्कालीन उपकुलपति अच्युत वाग्ले अध्यादेशबाट पदमुक्त भएपछि परीक्षा नियन्त्रक रहेका ऋषिकेश वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
नयाँ उपकुलपति आएपछि नयाँ कामको योजना बनाउन महत्त्वपूर्ण निर्णय केयूले नगरेको हो । ‘काम गर्न नमिल्ने भन्ने होइन । तर चार वर्षको लागि नयाँ उपकुलपति आउने भएकाले अन्य योजना नबनाएको हो । दैनिक काम गरिरहेका छौँ,’ निमित्त उपकुलपति वाग्लेले भने, ‘काम रोकिएको छैन । नयाँ काम पनि गरेको छैन ।’
अब आउने उपकुलपतिले आफ्नो योजनाअनुसार गर्ने भएकाले अहिले नयाँ योजनामा काम नगरिएको वाग्लेले बताए । ‘चार वर्षको भएको भए योजना बनाएर काम गर्न हुन्थ्यो । तर नयाँ नेतृत्व आएपछि काममा असर नपरोस्, उहाँको योजनाअनुसार काम होस् भनेर हो,’ उनले भने ।
हाल केयूका डिनहरू पनि निमित्त छन् । नयाँ नियुक्ति भएको छैन । नयाँ उपकुलपति आएपछि नै नियुक्ति गर्ने तयारी छ । ‘डिनहरूको नियुक्ति गरेको छैन,’ वाग्लेले भने ।
शिक्षक र कर्मचारीको आन्तरिक र बाह्य बढुवा रोकिएको छ । करिब १५ जना शिक्षक र ८० जना कर्मचारीको बढुवा रोकिएको छ । लिखित र अन्तर्वार्ता सकिएर पनि उपकुलपति नभएका कारण निर्णय नभएको हो ।
‘नयाँ उपकुलपति नआएसम्म दीर्घकालमा असर पर्ने निर्णय नगर्ने भन्ने छ,’ स्कुल अफ आर्ट्सका डिन उद्धव प्याकुरेले भने ।
केयूले अघिल्लो वर्ष १८ प्रतिशत विद्यार्थी वृद्धि गरेको थियो । यो वर्ष ३० प्रतिशत वृद्धि गर्ने योजना थियो तर उपकुलपति नहुँदा प्रभावित भएको छ । ‘संरचना तयारी गर्नुपर्ने थियो । तयारी नभएका कारण विद्यार्थी वृद्धि गर्ने लक्ष्य प्रभावित भएको छ,’ प्याकुरेलले भने ।
केयूमा हाल भर्नाको प्रक्रिया चलेको छ । प्रत्येक वर्ष १० प्रतिशत शुल्क बढाउने भन्ने छ । तर पदाधिकारी नभएका कारण निर्णय नै हुन नसकेको प्राध्यापकहरू बताउँछन् ।
विज्ञान र इन्जिनियरिङमा २० वटा कक्षा र ल्याब अपुग छ । नयाँ उपकुलपति आएपछि ठेक्कामा दिने भनिएकाले प्रक्रिया अगाडि बढेको छैन । कक्षा कोठाको व्यवस्थापन नभएका कारण विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने अन्योल केयूमा छ ।
शिक्षक र कर्मचारीले बढेको तलब पाएका छैनन् । सरकारले विद्यार्थीको नतिजा ४५ दिनमा सार्वजनिक गर्न भनेको छ । तर सरकारले ९० दिनभन्दा बढी समय हुँदा पनि एउटा उपकुलपति दिन नसकेको टिप्पणी शिक्षक कर्मचारीको छ ।
‘विद्यार्थीको नतिजा ४५ दिनमा सार्वजनिक गर्नु राम्रो हो । तर ९० दिन बढी भयो केयूले नेतृत्व पाएको छैन,’ केयू प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारीले भने, ‘सरकारले ९० दिनसम्म पनि किन उपकुलपति दिन नसकेको हो ? नेतृत्व नहुँदा केयूमा असर परेको छ । छिटो नियुक्ति गर्न अनुरोध गर्दछौं ।’
एक साताभित्र उपकुलपतिको नियुक्ति
शिक्षा मन्त्रालयका अधिकारीका अनुसार अबको एक साताभित्र केयूले नयाँ उपकुलपति पाउने छ । गत शुक्रबार नै १० जनाको सूचि सार्वजनिक गर्ने तयारी भए पनि सुनसरी र मधेश प्रदेशमा भएको घटनाले रोकिएको थियो ।
सोमबार सूचि सार्वजनिक गरेपछि एक साताभित्र नै उपकुलपति नियुक्ति गर्ने तयारी समितिको छ । ‘कुलपतिलाई छिट्टै नाम सिफारिस गर्छौं । त्यसपछि नियुक्ति हुन्छ,’ समितिका सदस्य शर्माले भने ।











प्रतिक्रिया