केयू प्रवेशगरेपछि नै उनले मास्टर्स र पीएचडी सके । मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले स्नातकोत्तरमा टर्बाइन रनर र विद्यावारिधि हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणले हुने घिसावट (क्षरण) मा गरेका छन् ।
थापाले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट विद्यालय शिक्षा पूरा गरेका हुन् ।
केयूको यात्रा
केयूमा खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकमा नाम निकालेर प्रवेश गरेका थिए, थापा । अध्ययनसँगै केयूमा उनको प्रोमसन हुँदै गयो । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार बने । २०७७ माघमा उनी केयूको उपकुलपतिमा नियुक्त भएका थिए । उनी कोरोना कालमा केयूको उपकुलपति भएका हुन् ।
केयूको उपकुलपति हुँदा उनले आधुनिक ज्ञान विज्ञान बाहेक हाम्रो पराम्परागत पौराणिक ज्ञान र सीपलाई उच्च शिक्षामा जोडेका थिए । ‘पराम्परागत पौराणिक ज्ञान, सीप, कौशल, सम्पदालाई पनि उच्च शिक्षामा ल्याउने योजनालाई प्राथमिकतामा राखेको थिएँ,’ उनले भने ।
विद्यालयमा राम्रो शिक्षक पाउन छोडेपछि उनको कार्यकालमा शिक्षकको तालिमको सुरुवात भएको थियो । ‘प्राविधिक शिक्षक तयार गर्न र शिक्षकलाई सक्षम बनाउन शिक्षक तालिम सुरु गरेको हो,’ थापाले भने ।
उनी केयूको उपकुलपति हुँदा योग विषयलाई स्नातक तहमा समावेश गरेका थिए । इन्जिनियरिङको विकल्पमा ब्याच्लर्स इन क्राफ्ट एन्ड डिजाइन पनि सुरु भएको थियो ।
‘नेपालमा धेरैले मूर्ति बनाउने चलन थियो । त्यो जनशक्ति पलायन भयो । हराएर जाने भएपनि संरक्षण गर्न विश्वविद्यालयले कोर्स सुरु गरेको हो,’ उनले भने, ‘नेपाल सम्पदा, मठ, मन्दिर, दरबार, गुम्बाका धनी छ । यसलाई ब्याच्लर्स इन हेरिटेज भनेर थालनी गर्यौं ।’
विदेशी विद्यार्थी ल्याउन र अन्तर्राष्ट्रिय स्तरमा केयूको कोर्स लैजान उनले पहल गरेका थिए । भारतको तिरूपतीमा यौगिक साइन्स उनको कार्यकालमा सुरु भएको थियो । केयूको उपकुलपति हुँदा आइटी मद्राससँग एक वर्ष यता, अर्को वर्ष उता विद्यार्थी पढ्नेगरी संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेको थापाले सुनाए ।
थापाले तीन दशकभन्दा लामो शैक्षिक क्षेत्रमा काम गरेका छन् । अन्तर्राष्ट्रिय साझेदारीमार्फत उच्च शिक्षाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ ।
केयूको उपकुलपतिका रूपमा कार्यरत रहँदा उनले विश्वविद्यालयको शैक्षिक, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएका थिए । उनको नेतृत्वमा केयूको इन्जिनियरिङ संकायले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) पाएको थियो । नेपाललाई शिक्षाको हब बनाउन सकिने दाबी उनको छ ।
अनुसन्धानमा जोड
जलविद्युत्, हाइड्रोलिक टर्बाइन, नदीजन्य बालुवाबाट हुने क्षरण, ऊर्जा प्रणाली, हरित हाइड्रोजन, ऊर्जा संरक्षण, हाइड्रो–मेकानिकल प्रणालीमा उनले अध्ययन अनुसन्धान गरेका छन् । जलविद्युत् प्रविधि अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन उनले योगदान दिएका छन् ।
केयूमा बनेको टर्बाइन परीक्षण प्रयोगशालाको विकास उनको नेतृत्वमा भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा नीति निर्माण, शिक्षा तथा अनुसन्धानसँग सम्बन्धित जिम्मेवारीमा सक्रिय छन् । उनले मेडिकल शिक्षा आयोगका सदस्य, सुदूरपश्चिम विश्वविद्यालय सिनेट सदस्य, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सदस्य, गुरु काशी विश्वविद्यालय (भारत) को सदस्य, युलेन्स विद्यालय खुमलटारको व्यवस्थापन समितिका अध्यक्षसमेत भएर उनले काम गरेका छन् ।
अन्तर्राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनका तीनवटा पुस्तक, सयभन्दा बढी अन्तर्राष्ट्रिय जर्नल तथा सम्मेलन शोधपत्र र ३० वटा लेख प्रकाशित छन् । उनका अनुसन्धानहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । उपकुलपति थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरेका छन् ।
त्रिविमा चुनौती
हालसम्म प्राप्त गरेको अनुभवलाई त्रिविको विकासमा योगदान गर्ने योजना उनको छ । तर केयूमा जस्तो सहज त्रिविमा छैन, चुनौति पनि उत्तिकै छ । उच्च शिक्षामा देशको जेठो र ठूलो विश्वविद्यालय त्रिविमा ७५ प्रतिश बढी विद्यार्थी अध्ययनरत छन् ।
तालाबन्दीको सिकार भइरहने त्रिविमा विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई साथमा लिएर काम गर्न नवनियुक्त उपकुलपति थापालाई चुनौती छ ।
शैक्षिक क्यालेन्डरको कार्यान्वयन, समयमा परीक्षा, नतिजा सार्वजनिक गर्न थापाका लागि चुनौति छ । सरकारले नवनियुक्त उपकुलपतिको पहिलो प्राथमिकता जग्गा र अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापबाट रकम फिर्ता गराउने भनिसकेको छ ।










प्रतिक्रिया