गृह पृष्ठ

सालिनको मृत्यु प्रकरणमा तीन जनालाई सफाइ,मुद्दाको पूर्णपाठ सार्वजनिक


२० असार २०८२, शुक्रबार ००:००


काठमाडौँ, चितवन जिल्ला अदालतले रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा सालिन पोखरेलको मृत्यु प्रकरणमा तीन जनालाई सफाइ दिनुको कानुनी आधार खुलाएर उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

२०८० फागुन १२ गते सालिन स्कुलकै होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनापछि आत्महत्या दुरुत्साहनको आरोपमा स्कुलका तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो ।
जुन मुद्दामा जिल्ला अदालतले २०८१ चैत ४ गते प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मालाई सफाइ दिएकोमा त्यसको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

अदालतले उनीहरूको धरौटी रकम पनि पुनरावेदनको मुद्दा नाघेपछि वा अन्तिम फैसला भएपछि फिर्ता गर्न फैसला गरेको छ । सालिनको परिवारले प्रहरीमा बलात्कारपछि हत्या गरेको जाहेरी दिएका आधारमा प्रहरीले तीन शिक्षकलाई फागुन १४ गते पक्राउ गरेको थियो ।

अदालतले सोही वर्ष चैत ६ गते अधिकारी र शर्मालाई ५ लाख तथा देवकोटालाई ३ लाख धरौटीमा पुर्पक्षका लागि छाड्न आदेश गरेको थियो । पूर्णपाठमा अदालतले प्रतिवादीहरूले उपयुक्त मापदण्ड र वातावरणमा होस्टेल सञ्चालन नगरेको भन्ने जस्ता क्रियाकलापले मृतकलाई आत्महत्या गर्न उक्साएको नदेखिएको भन्दै अभियोग दाबी पुष्टि हुने वस्तुनिष्ठ प्रमाणको अभावका कारण कसुरदार कायम गर्न न्यायोचित नहुने बताएको छ ।

केवल शंका र अनुमानका आधारमा प्रतिवादीलाई अभियोग बमोजिम कसुर गरेको भन्न नसकिने भन्दै सफाइ पाउने ठहर अदालतले गरेको छ । वारदात स्थल होस्टेलमा रहने घटना विवरण कागज गर्ने सबैले प्रतिवादी र मृतकबिच कुनै झै–झगडा वादविवादको नराम्रो व्यवहार भएको भन्ने उल्लेख नगरेकाले आत्महत्याका लागि उक्साएको वा दुरुत्साहन दिएको भन्न सकिने अवस्था नदेखिएको पूर्णपाठमा उल्लेख छ ।

मृतक सालिनका बुबाआमाको सम्बन्धविच्छेद भई बुबा विदेशमा बस्ने गरेको, महिनारडेढ महिनामा एकपटक हजुरआमाले रेखदेख गर्ने गरेकोजस्ता कुराले सालिन पारिवारिक परिस्थितिबाट विचलित भएको हुनसक्ने प्रश्न उठ्ने अदालतको ठहर छ ।

सालिनको नोटबुकको पेज १८ मा अङ्ग्रेजी अक्षरमा मेरो दुर्भाग्य समिर, जस्मिन, स्मृति, प्रशन्न, प्रश्ना, बाउ शुभम र जसलाई म मार्न चाहन्छु (हुम आई वान्ट टु किल) समिर, बाउ, शुभम, प्रश्ना जस्ता शब्दहरू लेखिएको भेटिनुलाई पनि आत्महत्या दुरुत्साहनका लागि शिक्षकलाई दोषी ठहर नगर्न अदालतले आधार लिएको छ ।

सालिनले गरेको पेन्टिङमा पारिवारिक दृश्य उल्लेख गर्न खोजेकाले कतै मृतक पारिवारिक परिस्थितिबाट विचलित थिइन् कि भन्ने प्रश्न पनि उठ्ने अदालतको पूर्णपाठमा भनिएको छ । आरोप लगाइएका सरहरूले छोराछोरीजस्तो व्यवहार गर्ने गरेको र कुनै दोष नभएको पनि बताएकाले सो आधारमा पनि प्रतिवादीहरूले आत्महत्या दुरुत्साहन गरेको भन्न नमिल्ने अदालतको ठहर छ ।
सँगै बस्ने साथीले गरेको बकपत्रका आधारमा प्रतिवादीले आत्महत्या गर्ने परिस्थिति खडा गरेको नदेखिने पूर्णपाठमा भनिएको छ । साथीहरूबिच भएको झगडा र सामान्य वादविवादका आधारमा सालिनले आत्महत्याको विकल्प रोज्नुपर्ने अवस्था नदेखिएको र त्यसको निराकरणका लागि विभिन्न व्यावहारिक र कानुनी उपायको विकल्प रहेको अवस्थामा त्यो विकल्प अवलम्बन नगरेको पनि अदालतले सफाइ दिने आधार मानेको छ ।

प्रतिवादीमाथि कसुर तथ्यपरक र वस्तुनिष्ठ रूपमा प्रमाणित हुन सकेको नदेखिँदा केवल जाहेरवालाको कथनलाई मात्र आधार मानी ठहराउन नमिल्ने फैसलामा भनिएको छ । जाहेरी दरखास्तका साथै अन्य स्वतन्त्र प्रमाणबाट समेत प्रतिवादी उपरको आरोप तथ्य परक ढंगले पुष्टि भएको हुनुपर्नेमा बादी पक्षबाट प्रतिवादी उपरको आरोपित कसुर तथ्यपरक र वस्तुनिष्ठ रूपमा प्रमाणित हुन सकेको नदेखिँदा केवल जाहेरवालाको कथनलाई मात्र आधार मानि प्रतिवादीहरूलाई कसुरदार ठहर्‍याइ न्यायोचित हुने देखिएन,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

के थियो घटना ?

२०८० फागुन १२ गते बिहान १०ः१५ बजे रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा सालिन पोखरेल होस्टेलमा मृत फेला परेकी थिइन् । एकता शिशु निकेतनको दक्षिणतर्फको ३ तले भवनको तेस्रो तलामा रहेको कोठामा उनको शव भेटिएको थियो । तर, दुवै खुट्टा खुम्ची घुँडाले जमिन छोएको अवस्थामा उक्त शव भेटिएको थियो । नजिकै खाटमा ‘माई पर्सनल डायरी’ लेखिएको नोटबुक फेला परेको थियो ।

सालिन आत्महत्यापछि उनका बुवा दिपेन्द्र पोखरेलले वार्डेन कमल शर्मा पौडेलले कुटपिट गरेको, घटनाको बिहान सोही होस्टेलमा रहेका अन्य विद्यार्थीहरूले कुटपिट गरेको, छोरीको लासको अनुहारमा चोटपटक देखिएको, लासको दुवै घुँडाले जमिनमा टेकेको अवस्थामा रहेको समेतबाट बालहरि देवकोटा, किरणबहादुर अधिकारी र कमल शर्मा पौडेल समेतले जबरजस्ती करणी गरी कर्तव्य गरी मारी पासो लगाइ झुण्ड्याएको दाबीसहित नखुलेका अन्य मानिस समेतलाई पत्ता लगाइ कानुनबमोजिम कारबाही गरिपाउँ भनी किटानी जाहेरी दिएका थिए ।

प्रकाशित : २० असार २०८२, शुक्रबार ००:००