काठमाडौं, नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे अहिले छलफल आवश्यक नभएको बताएका छन् ।
सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर मात्र छलफल गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘पूर्णपाठ आओस् अनि थप कुरा गरौंला अहिले मेरो भन्नु केही छैन ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुको जिज्ञासामा पनि सापकोटाले त्यही धारणा दोहोर्याए । आजको बैठकमा सर्वोच्चको आदेशबारे के छलफल भयो भन्ने जिज्ञासामा सापकोटाले भने, ‘कुनै पनि कुराको टिप्पणी गर्दाखेरि त्यसको पूरै अध्ययन गर्नुपर्छ । अहिले त लिखित पनि आएको छैन ।’
उनले अहिले आ–आफ्नै ढंगले प्रचार भइरहेको र ती प्रचारमा धेरै सत्यता पनि नभएको उनले प्रतिक्रिया दिए । त्यो प्रचारमा पनि त्यति धेरै सत्यता छैन । आफ्नै हिसाबले प्रचार गरेका छन्,’ उनले भने, ‘पूर्णपाठ आइसकेपछि त्यसलाई राम्रोसित अध्ययन गरिसकेपछि राम्रोसित धारणा व्यक्त गर्ने कुरा नै ठिक हुन्छ ।
किनभने यो अदालती कुरा हो । अधुरो, अंशमा, अपूर्ण कुरामा टिप्पणी गर्नु त्यति परिपक्वता देखिँदैन । त्यसकारण पूर्णपाठ आइसकेपछि हामी छलफल गरौंला । द्वन्द्वकालीन मुद्दामा छानबिन गर्ने गरी ऐन र आयोगहरु बनिसकेको भन्दै उनले अदालत त्यसबारे जानकार भएको बताए । उनले भने, ‘यी सबै कुरामा मलाई लाग्छ अदालत पनि जानकार नै छ । यसमा थप टिप्पणी आवश्यक छैन ।’











प्रतिक्रिया