१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । महानगरपालिकाले पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ ।
जसमा वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गरिनेछ । बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड र पुराना दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सामाजिक विकासतर्फ महानगरले २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ छुट्याएको छ ।
आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको छ । कृषि विकासमा ४६ लाख र पशु स्वास्थ्यतर्फ १ करोड ४२ लाख रुपैयाँ छुट्याइएको छ ।
महानगरले सुशासन र संस्थागत विकासका लागि २ करोड ९३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि १ करोड २८ लाख रुपैयाँ छुट्याएको छ । प्रशासनिक खर्च र कार्यालय सञ्चालनका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आन्तरिक स्रोतको अनुमान अत्यधिक
महानगरले कुल बजेटको स्रोत मध्ये १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य लिएको छ । बाँकी स्रोतका रूपमा सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्वा बाँडफाडका छन् ।
महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँको आन्तरिक आयको अनुमान गरेको थियो । तर, जेठ अन्तिमसम्म ४४ करोड ८५ लाख ९२ हजार १७ रुपैयाँ मात्रै आम्दानी भएको छ । आर्थिक वर्षको असार मसान्तसम्म लक्ष्य भेट्न सक्ने अवस्था छैन । नयाँ आर्थिक वर्षको लक्ष्य पनि भेट्न कठिन रहेको महानगरका कर्मचारी बताउँछन् ।
महानगरले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ३३ करोड ४३ लाख, सशर्त अनुदान ७३ करोड २९ लाख, सशर्त अनुदान पुजीगत ५६ लाख गरी सङ्घीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरेको छ ।
प्रदेश सरकार समानीकरण अनुदान ३ करोड ६२ लाख ५० हजार, सशर्त अनुदान प्रदेश सरकार सशर्त चालु ४ करोड १ लाख २४ चौबिस हजार, सशर्त अनुदान पुँजीगत तर्फ रु ६ करोड ६३ लाख गरी प्रदेश सरकारबाट जम्मा १४ करोड २६ लाख ७४ हजार आय हुने अनुमान छ ।
बाँडफाँडबाट प्राप्त हुने राजस्व मध्ये सवारी साधन कर बापत ३ करोड ८ लाख, मनोरञ्जन करबाट ४० लाख विज्ञापन करबाट ६० लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुर बापत ६७ करोड ९५ लाख ७९ हजार ३ सय ८५, मुल्य अभिवृद्धि करबाट १५ करोड ३९ लाख २८ हजार ९ सय ६१, अन्त:शुल्क बापत ५ करोड १३ लाख ९ हजार ६ सय ५४ गरी ९२ करोड ५६ लाख १८ हजार राजस्व बाँडफाँडबाट आय हुने अनुमान गरेको छ । बजेट स्रोतको अनुमानमा बैंक मौज्जात बापतको १४ करोड गरी कुल ३ अर्ब ५६ करोड ४७ लाख आय अनुमान छ ।










प्रतिक्रिया