राजनीति

पूर्णबहादुर खड्काले भने- पार्टी विभाजन हाम्रा कारणले हुँदैन, सभापतिले चाहे हुन्छ


२४ असार २०८३, बुधबार ००:००


२४ असार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता गराउनुपर्नेहरू निकै टाढा रहेको बताएका छन् । बुधबार चुनदेवीमा संस्थापन इतर समूहको बैठकलाई सम्बोधन गर्दै खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै यस्तो बताएका हुन् ।

‘जसले एकता गर्नुपर्ने हो, उनीहरू बहुत टाढा–टाढा छन्,’ खड्काले भने, ‘पार्टी विभाजन हाम्रा कारणले हुँदैन । सभापतिले चाह्यो भने पार्टी विभाजन हुन्छ ।’ पहिले पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चाहेर पार्टी विभाजन भएको उनले दाबी गरे । ‘पहिले गिरिजाबाबुले चाहेर नै पहिले पार्टी विभाजन भएको हो ।  अहिले पूर्ण खड्का, विमलेन्द्र निधिले चाहेर पार्टी विभाजन हुँदैन,’ उनले भने ।

पार्टी एकताका लागि सभापति गगन थापाले नै चाहनुपर्ने उनले बताए । उनले भने, ‘गगन जीले चाहनुपर्‍यो । उहाँ जुन बाटोमा हिँड्नुभएको छ, पछि फर्किनुहुन्न ।’

चार महिनाअगाडि २७ जना युवा नेतासँग आफूले तीन घण्टा छलफल गरेको उनले स्मरण गरे । ‘त्यही दिन तपाईं तयार हुनुस् भनेको हुँ । मलाई पदको कुनै लोभ छैन । युवा साथी लाग्नुस्, कुनै समस्या हुँदैन । निर्णय गर्नुस्, हामी पछि लाग्छौं । हामी सबै कुरा पाइसकेकाहरूको धेरै विश्वास नगर्नुस् पनि भनेको हुँ,’ खड्काले भने ।

सदस्यता अद्यावधिक नगर्ने कुरा पनि अर्को समूहका नेता डा. शेखर कोइरालासँग सल्लाह गरेर विज्ञप्ति निकालेको नेता खड्काले बताए ।

‘एआई डेभलप गरेको छ, एआईबाटै फोन जान्छ । तपाईँको अद्यावधिक भएको छैन, अद्यावधिक गरिदिउँ भन्छ । गर्ने–नगर्ने भन्न नपाउँदै फोन काटिन्छ । अद्यावधिक हुन्छ,’ उनले भने । ४ लाखभन्दा बढी सदस्यको त्यसैगरी अद्यावधिक गरिएको उनले दाबी गरे ।

नेता खड्काले मंगलबार मात्रै डा. शेखर कोइरालासँग आफ्नो कुराकानी भएको बैठकमा सुनाए । ‘शेखरजीसँग मेरो हिजो कुरा भएको छ । सिरियस कुरा भएकाले म यहाँ भन्दिनँ, विमलेन्द्रजीलाई शेयर गरेको छु,’ उनले भने ।

अहिले आफूलाई कसैको साथ नभएको र आफूसँग कोही पनि नरहेको उनले बताए । ‘हामीलाई कसैको साथ छैन । हामीसँग कोही छैन । सम्पर्क कार्यालय खोल्न चाहेर ढिलो भएको होइन,’ उनले भने । सम्पर्क कार्यालयका लागि घर खोज्न ब्रोकरसमेत प्रयोग गर्दा ठाउँ नभेटिएको उनले सुनाए ।

‘सम्पर्क कार्यालयका लागि पूर्व पदाधिकारीले २ लाख, कार्यसम्पादन समिति सदस्य र मन्त्री भैसकेकाले एक लाख र केन्द्रीय सदस्य भएकाले ५० हजार रुपैयाँ तोकेका छौँ,’ उनले भने, ‘सबैले रकम रामेछापका सभापति कान्छाराम (पूर्णबहादुर तामाङ) जीलाई बुझाइदिनु होला ।’

सबैले सहयोग गरे कार्यालय चल्ने उनले बताए । ‘सबैको भिक्षाबाट चल्ने हो । पछि पार्टी खुल्यो भने पनि यसैगरि चल्ने हो,’ उनले भने ।

राष्ट्रिय भेलाको मितिबारे थप सल्लाह गरेर निर्णय हुने खड्काले बताए । ‘निर्णय गरिसकेपछि समय पुगेन, मिति सारौँ भन्ने अवस्था आउनुहुन्न । यो सबै कुराबारे छलफल गरेर राष्ट्रिय भेलाको निर्णय गर्छौँ । हामी १/२ दिनमा बस्छौँ,’ उनले भने ।

पार्टीको यो अवस्थामा आउनेमा आफूलाई कहिल्यै विश्वास नभएको पनि खड्काले बताए । ‘मलाई विश्वास कहिले भएन । गगन–विश्वले यो गर्दैनौँ भनेर मसँग कहिले भनेनन्,’ उनले भने ।

खड्काले बोलिसकेपछि तीन दिनदेखि चलिरहेको बैठक समापन भएको छ ।

प्रकाशित : २४ असार २०८३, बुधबार ००:००